समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारलाई नियन्त्रणमा लिने कार्यले शाहीकालीन निरंकुशताको झल्को दिएको भन्दै कांग्रेसले कानुनविपरीत पक्राउ र धरपकड तत्काल रोक्न माग गरेको हो ।
काठमाडौँ — नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति बन्द गर्न सरकारसँग माग गरेको छ । समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारलाई नियन्त्रणमा लिने कार्यले शाहीकालीन निरंकुशताको झल्को दिएको भन्दै कांग्रेसले कानुनविपरीत पक्राउ र धरपकड तत्काल रोक्न माग गरेको हो ।
कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जनदबाबपछि रिहा गर्नुभन्दा कानुनविपरीत पक्राउ गर्ने र पत्रकारलाई दुःख दिने प्रवृत्ति नै बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाहीकालको निरंकुशताको झल्को दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आज पुनः तिनै विगतका निरंकुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो ।’
कांग्रेसले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ भन्दै कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको जनाएको छ । ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याउने प्रवृत्ति भएको कांग्रेसको ठहर छ ।
‘सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ,’ थापाले विज्ञप्तिमा भनेका छन् ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन पनि सरकारसँग माग गरेको छ ।
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।