नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूजका सम्पादक शोभराज बराल प्रहरी नियन्त्रणमा, नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा सादा पोशाकका प्रहरी पुगे ।
काठमाडौं — प्रकाशित समाचारलाई लिएर सोधपुछ गर्ने भन्दै सादा पोसाकमा रहेका प्रहरीले शुक्रबार नयाँ पत्रिका दैनिक, नेपाल प्रेस, दियो पोष्ट र मोटिभेट न्यूजको कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ र आतंकित पारेका छन् । उनीहरूले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएका छन् । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार समाचार कक्षमा काम गरिरहेका बेला सादा पोसाकमा आएका दुई प्रहरीले छलफलका लागि जानु पर्यो भनेर लिएर गएका छन् ।साइबर ब्युरोका एसपी दिपक अवस्थीले पनि सुवेदीसहित अरु केहीसँग सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्यूरो ल्याइएको पुष्टी गरेका छन् ।
यस्तै बानेश्वरस्थित मोटिभेटन्यूज डटकमको कार्यालयबाट प्रहरीले सम्पादक शोभराज बराललाई पनि पक्राउ गरेको छ । मोटिभेट न्यूजले समेत आईजीपी दानबहादुर कार्की र फिक्सर इनम सापकोटासँग सम्बन्धित भिडियो सामग्रीहरू प्रकाशित गरेको थियो ।
पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकमा प्रहरीहरू पुगेका थिए । उनीहरूले मैनालीलाई साइबर ब्यूरोमा लैजान आएको बताएका थिए । नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका ४-५ जना प्रहरी आएका छन् ।
अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको थियो । सादा पोसाकमा खटिएका प्रहरीले अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न आएको बताएको दियो पोष्टका एक पत्रकारले बताएका छन् । कार्यालयमा प्रधानसम्पादक र समाचार संयोजक दुवैलाई फेला नपारेपछि उपत्यका अपराध महाशाखाबाट खटिएका प्रहरी फर्किएका थिए ।
पत्रकार धरपकड बारे नेपाल प्रहरीले जावाफ दिनुपर्छ : खरेल
समाचार कक्षबाट पत्रकार धरपकड र सञ्चारमाध्यममा सादा पोसाकका प्रहरी खटिएको विषयमा सत्ताधारी दल रास्वपाका प्रवक्ता जगदीश खरेलले यसको जवाफ नेपाल प्रहरीले दिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट रहेको र यो घटनालाई पार्टीले कसरी लिने भन्ने विषयमा छलफल गर्ने बताएका छन् । खरेलले भने, ‘सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको बारे सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएका छौं । स्वतन्त्र पत्रकारिताको सम्मान गर्नैपर्छ, हाम्रो पार्टी स्वतन्त्र पत्रकारिताको पक्षमा छ । किन भयो ? के भयो ? भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ ।’ संविधानले ग्यारेन्टी गरेको स्वतन्त्र पत्रकारिता र वाक् स्वतन्त्रताको पक्षमा रास्वपा रहेको खरेलले बताए । संविधानले नै सुनिश्चित गरेको पत्रकारिताको सम्मान सबैले गर्नुपर्ने उनको धारणा छ ।
समाचार कक्षबाटै पत्रकार पक्राउ र सादा पोशाकमा सञ्चार माध्यममा प्रहरी पुगेको विरोध गर्दै विभिन्न सञ्चारसम्बन्धी गैरसरकारी संस्था तथा अभियन्ताहरूले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्यले समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकडप्रति आपत्ति जनाएका छन् । समाचारको विषयलाई लिएर सरकारले पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पठाउने र पत्रकारको खोजी गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने उनले बताएका छन् । 'समाचार लेखेकै आधारमा सरकारले यसरी अनावश्यक खालको धरपकड गर्ने, आतंक सिर्जना गर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने एवं संकुचन गर्ने कार्य गरेको छ,' आचार्यले भने, 'भयरहित वातावरणमा काम गर्न नदिने यो कदम घोर निन्दनीय र आपत्तिजनक छ ।'
प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको गतिविधिप्रति आपत्ति जनाएको छ । काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ । शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा सादा पोशाकका प्रहरीले प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरी समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको हो भने त्यो संविधानमाथिकै प्रहार हुने बताएका छन् । पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरीको प्रवेशलाई सामान्य पत्रकारिता वा समाचार लेखनको विषयका रूपमा मात्र लिन नहुने उनको भनाइ छ । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकको पोस्टमा उनले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'
यस्तै फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी भएको बताएका छन् । पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै उनले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए । 'पत्रकारले सूचना पाएपछि उसले समाचार लेख्छ । पत्रकारलाई पक्राउ गरेर कसले सूचना दियो भनेर सोध्नु गैरकानुनी कुरा हो,' दाहालले कान्तिपुरसँग भने ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का प्रतिनिधिसमेत रहेका पत्रकार विनोद ढुंगेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य गैरसंवैधानिक र प्रेस स्वतन्त्रताको सिद्धान्तविपरीत भएको बताएका छन् । सरकारको पछिल्लो गतिविधि शंकास्पद देखिएको भन्दै उनले समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको हो भने त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । 'सरकारको गतिविधि शंकास्पद भयो । समाचार लेखेकै कारणले पक्राउ गरिएको हो भने त्यो गर्न पाइँदैन,' ढुंगेलले भने ।
यसैबीच सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक बन्द गर्न माग गरेका छन् ।
नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणप सुवेदीलाई नियन्त्रणमा लिइएको छ भने नयाँ पत्रिका लगायतका सञ्चारगृहमा शुक्रबार साँझ सादा पोसाकका प्रहरी प्रवेश गरेका थिए ।