थाइल्यान्ड र इटालीमा उच्च शिक्षा हासिल गरेका प्रकाश सुवेदी अहिले बीएमडब्ल्यूका गाडीलाई विश्वका १५० भन्दा बढी देशमा सञ्चार सञ्जालसँग जोड्ने प्रविधिको नेतृत्व गरिरहेका छन् ।
काठमाडौँ — पर्वतको पाखामा रहेको एउटा विद्यालय । घरबाट त्यहाँ पुग्न दुई घण्टा हिँड्नुपर्थ्यो । तीन कक्षासम्म त्यही बाटो हिँडेर पढेका प्रकाश सुवेदी आज जर्मनीको म्युनिखमा बसेर संसारभरका लाखौं गाडीलाई इन्टरनेट र भूउपग्रहसँग जोड्ने प्रविधि–प्रमाणीकरणको नेतृत्व गरिरहेका छन् ।
उच्च शिक्षाका लागि परिवार नै भरतपुर सर्यो । बुबाआमाको त्यही निर्णयले आफ्नो जीवनको दिशा बदलिदियो । उनले भरतपुरमै एसएलसी पास गरे र ए लेभलका लागि काठमाडौंको रातो बंगला स्कुल पुगे ।
अरू घरमा जस्तै उनको घरमा पनि छोरो डाक्टर बनोस् भन्ने चाहना थियो । तर पढ्दै जाँदा उनले आफ्नो मन भौतिकशास्त्र र गणितमा अडिएको पाए । ‘चिजहरू भित्रभित्र कसरी चल्छन् भन्ने कुराले मलाई सधैं तान्थ्यो । तथ्य घोक्नुभन्दा तर्क लगाएर समस्या सुल्झाउँदा मज्जा आउँथ्यो । त्यसैले इन्जिनियरिङ रोजेँ,’ कान्तिपुरसँग भिडियोकलमार्फत कुरा गर्दै उनले भने ।
थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट उनले टेलिकम्युनिकेसन्स इन्जिनियरिङमा स्नातक गरे । ‘हरेक ब्याचमा म पहिलो हुन्थेँ । त्यसैको फल हो, इटालीको पोलिटेक्निक डि मिलानोमा इरास्मस मुन्डस र प्लाटिनम छात्रवृत्ति पाएँ,’ उनले भने ।
उनलाई प्रविधिले मानिसको काम लाग्नुपर्छ भन्ने सोच विद्यार्थीकालदेखि नै थियो । नेपालमै हाई स्कुल पढ्दा ‘लायन्स क्लब अफ काठमाडौं यङ माइन्ड्स’ को अध्यक्ष हुँदा एउटा कुरा सिके, ‘नेतृत्व भनेको पद वा प्रतिष्ठा मात्र होइन रहेछ । त्यो जिम्मेवारी र दायित्व पनि हो ।’
हाल उनी पेन्सिलभेनिया स्टेट युनिभर्सिटीबाट ‘डाक्टर अफ इन्जिनियरिङ’ गर्दै छन् । फाइभजी–एडभान्स र भविष्यका सिक्सजी अटोमोटिभ प्रणालीमा भूउपग्रह सञ्चारको प्रयोगबारे उनको अनुसन्धान बीएमडब्ल्यूमै हुने भएकाले विद्यावारिधि र दैनिक काम एकअर्कासँग जोडिएका छन् । खाली समयमा उनी क्याम्ब्रिज विश्वविद्यालयको सेमिकन्डक्टर कोर्समा अनलाइन ट्युटरका रूपमा पढाउँछन् ।
विदेश बस्दैमा जन्मभूमिसँगको नाता टुट्दैन भन्ने उनको विश्वास छ । ‘नेपाल मेरो घर हो, मेरो पहिचानको आधार हो । विदेश बस्दा आफ्नो देशका लागि अझ सार्थक योगदान गर्ने मञ्च र साधन पाइन्छ,’ उनले भने ।
उनी जीआईजेडजस्ता जर्मन संस्थासँग मिलेर शिक्षा, डिजिटलाइजेसन र सामाजिक समावेशीकरणका काममा लागेका छन् । उनको भित्री चाहना भने नेपालका सुस्तश्रवण विद्यार्थीका लागि सहज पहुँचयोग्य डिजिटल सिकाइ मोडल बनाउने हो ।
सन् २०१७ देखि २०१९ सम्म उनले इटालीको भूउपग्रह नेटवर्क कम्पनी ‘मिलानो टेलिपोर्ट’ मा काम गरेका थिए । त्यसपछिका दुई वर्ष स्विस कम्पनी ‘यु–ब्लक्स’ मा इन्टरनेट अफ थिङ्स (आईओटी) सम्बन्धी विकासमा खर्चिए । आईओटीले मानिसको दैनिक जीवन फेर्छ भन्ने लागेपछि उनले त्यो क्षेत्र रोजेका थिए । यहाँ सिकेको अनुभव कुनै दिन नेपालमा लगाउने योजना पनि उनले मनमा राखेका छन् ।
तर, कोरोना महामारी आयो र योजनाले बाटो बदल्यो । ‘एकातिर इटालीलाई महामारीले गाँजेको थियो, अर्कातिर जर्मनीका ठूला अटोमोटिभ कम्पनीबाट प्रस्ताव आउन थालेका थिए,’ उनले भने । सन् २०२१ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनी ‘भालियो’ को प्रस्ताव स्वीकार गरेर उनी जर्मनीतिर लागे ।
फ्राङ्कफर्टमा उनी भालियोको फोरजी टेलिम्याटिक कन्ट्रोल युनिट (टीसीयू) विकास टोलीमा टेक्निकल प्रडक्ट म्यानेजर बने । टीसीयू कारभित्र रहने इलेक्ट्रोनिक उपकरण हो । यसले गाडीलाई बाहिरी संसारसँग जोड्छ । उनको टोलीले फ्रान्सेली र जापानी कार कम्पनीका लागि त्यो उपकरण बनाएको थियो । उनले त्यसको विश्वव्यापी प्रमाणीकरणको नेतृत्व गरे र टोलीले कम्पनीभित्र ‘बेस्ट टिम अवार्ड’ जित्यो ।
इटाली र थाइल्यान्डमा बसिसकेको हुनाले उनलाई जर्मनीमा नयाँ सुरुवात त्यति गाह्रो भएन । सुरुमा तीनजना जर्मनसँग घर साझा गरेर बस्दा संस्कृति बुझ्न र साथी बनाउन सजिलो भयो । कठिनाइ भने अर्कै ठाउँमा आयो । ‘जर्मनी काम र जीवनको सन्तुलनका लागि चर्चित छ । तर काम साँच्चै मन पर्यो भने त्यो सन्तुलन आफैँ हराउँदो रहेछ,’ उनले भने, ‘धेरै ओभरटाइम गर्थेँ । बिस्तारै स्वास्थ्यमा असर पर्न थाल्यो । बर्नआउट भएँ, बिरामी नै परेँ ।’
कम्पनीले मेहनतको कदर गरे पनि मानसिक स्वास्थ्यको ख्याल आफैँले राख्नुपर्छ, नत्र थाहै नपाई बर्नआउट (थकान) ले गाँज्छ भन्ने ठूलो पाठ उनले यहीँ सिके । ‘काम गर्ने मात्रै होइन, आफूलाई पनि समय दिनुपर्छ भन्ने बुझेँ,’ उनले भने ।
उनकी श्रीमती सृष्टिको जागिर म्युनिखमा थियो । प्रकाशले पनि त्यहीँ काम खोज्न थाले । बीएमडब्ल्यूको वेबसाइटभित्र करिअर पेजमा रिक्त पद देखेर आवेदन दिए । ‘केही चरणको अन्तर्वार्तापछि जागिर पाएँ,’ उनले भने, ‘हाँसोलाग्दो कुरा के हो भने, जर्मन प्रिमियम कारप्रति सम्मान थियो, तर टेलिकम इन्जिनियर भएकाले कार कम्पनीमा काम गर्छु भन्ने सोचेकै थिइनँ । आफू टेलिकम कम्पनीमै सीमित रहन्छु जस्तो लाग्थ्यो ।’
अहिले गाडी लगभग सबै कुरासँग जोडिएकाले उनीजस्ता इन्जिनियर अटोमोटिभ क्षेत्रका कनेक्टिभिटी उत्पादन बनाउने मुख्य आधार बनेका छन् भन्ने उनको दाबी छ ।
म्युनिख आउँदा बीएमडब्ल्यूले तीन महिनाका लागि अस्थायी आवास पनि मिलाइदिएको थियो । बीएमडब्ल्यू ग्रुप रिसर्च एन्ड इन्नोभेसन सेन्टर (एफआईजेड) को पहिलो दिनले नै उनको मन जित्यो । ‘मेरो वर्कस्टेसन, ल्यापटप र फोन सबै सेटअप भइसकेका थिए । पासवर्ड हालेर काम सुरु गर्ने मात्र बाँकी थियो,’ उनले सुनाए ।
अहिले उनी बीएमडब्ल्यू ग्रुपमा ‘सर्टिफिकेसन एन्ड मोडेम स्ट्रिम’ का प्रमुख छन् । ‘कम्पनीका विश्वव्यापी फाइभजी मोडेम आपूर्तिकर्ताको रेखदेख गर्छु । बीएमडब्ल्यू, मिनी र रोल्स रोयस गाडीमा जोडिने टेलिम्याटिक्स युनिटको अन्तर्राष्ट्रिय प्रमाणीकरणको नेतृत्व पनि मेरै जिम्मा छ,’ उनले भने ।
उनको टोलीले नेपालसहित १५० भन्दा बढी देशको फ्रिक्वेन्सी नीतिअनुसार अन्तर्राष्ट्रिय रणनीति बनाउँछ । अमेरिका, क्यानडा, जर्मनी, युरोपेली संघ, जापान, कोरिया र चीनका ठूला मोबाइल कम्पनीका आवश्यकता पूरा भए/नभएको उनी जाँच्छन् । क्वालकम र मिडियाटेकजस्ता मोडेम कम्पनीसँग प्राविधिक छलफल पनि उनकै काम हो ।
‘यी सबैको जग प्रमाणीकरण हो । देशअनुसार नियम फरक हुन्छ र प्रमाणीकरणबिना कुनै गाडी कुनै देशको बजारमा बेच्न पाइँदैन । हाम्रो काम नियम पालना गर्दै सही समयमा र किफायती ढंगले प्रविधि गाडीसम्म पुर्याउनु हो,’ उनले भने ।
टेलिम्याटिक्स उपकरणले फाइभजी सञ्चार सम्भव बनाउँछ । यसबाट रियल–टाइम डेटा, नक्सा, सफ्टवेयर अपडेट र इन्फोटेनमेन्ट प्रणाली चल्छन् । भेइकल–टु–एभ्रिथिङ (भीटूएक्स) प्रविधिले गाडीलाई अन्य गाडी, पैदलयात्री र सडक पूर्वाधारसँग कुराकानी गर्न सघाउँछ ।
यी सबैमध्ये उनले सबैभन्दा महत्त्वपूर्ण इमर्जेन्सी कललाई ठान्छन् । ‘दुर्घटना हुनासाथ गाडीले आफैँ उद्धार टोलीलाई ठाउँ र विवरण पठाइदिन्छ । त्यसले उद्धारमा लाग्ने समय निकै घटाउँछ,’ उनले भने, ‘नेपालमा दैनिक भइरहने सडक दुर्घटना हेर्दा यो सुविधा सबै गाडीमा अनिवार्य हुनुपर्छ जस्तो लाग्छ ।’
उनको सबैभन्दा रुचि भूउपग्रह सञ्चारमा छ । भविष्यका टेलिम्याटिक्स युनिटमा भूउपग्रह सञ्चार थप्ने प्राविधिक विकासको नेतृत्व उनी गरिरहेका छन् । ती उपकरण पृथ्वीको तल्लो कक्ष (लो अर्थ अर्बिट) का भूउपग्रहसँग जोडिनेछन् ।
उनले आज बनाइरहेको प्रविधि भोलि बीएमडब्ल्यूका लाखौँ गाडीमा चल्ने सोच्दा आफू साँच्चै उत्साहित हुने उनी बताउँछन् । विद्युतीय गाडीको ब्याट्री वा मोटरसँग उनको टोलीको सीधा सरोकार छैन । तर ईभीलाई फाइभजीसँग जोड्ने काम उनीहरूको हो । त्यसैले चार्जिङ स्टेसन खोज्न, टाढैबाट ब्याट्रीको अवस्था हेर्न र ओभर–द–एयर सफ्टवेयर अपडेट गर्न सकिन्छ ।
प्रकाशका अनुसार बीएमडब्ल्यूको नयाँ ‘नोए क्लासे’ ईभीले एकपटकको चार्जमा ९०० किलोमिटरभन्दा बढी दूरी पार गर्छ । कम्पनी हाइड्रोजन फ्युल सेलजस्ता अन्य ऊर्जाका गाडीमा पनि काम गरिरहेको छ । केही वर्षभित्र सिक्सजी प्रविधितर्फ पनि लाग्ने तयारी छ ।
कम्पनीका अनुसार बीएमडब्ल्यू ग्रुपले सन् २०२५ मा करिब २४ लाख ६० हजार गाडी बेच्यो । यसमध्ये २६ प्रतिशत विद्युतीय थिए । सन् २०३० सम्म विश्वभर बिक्री हुने हरेक दुईमध्ये एक गाडी पूर्ण विद्युतीय बनाउने कम्पनीको लक्ष्य छ ।
प्रकाशका अनुसार जर्मनीमा सन् २०२५ मा ईभी दर्ता संख्या करिब ४३ प्रतिशतले बढेर नयाँ कार बिक्रीको करिब १९ प्रतिशत पुग्यो । २०२६ मा त्यो हिस्सा २५ प्रतिशतको नजिक पुगेको छ । सोही वर्ष युरोपेली संघभर नयाँ दर्ता भएका गाडीमध्ये १७.३ प्रतिशत ईभी थिए । ‘तर मलाई सबैभन्दा चाखलाग्दो के लाग्छ भने, नेपाल यो मामिलामा युरोपका धेरै देशभन्दा अगाडि छ । सन् २०२५ मा नेपालमा बिक्री भएका नयाँ कारमध्ये करिब ७३ प्रतिशत विद्युतीय थिए, जुन नर्वेपछि विश्वमै दोस्रो हो,’ उनले भने, ‘सरकारले ईभीलाई यसरी नै प्राथमिकता दिइरहोस् भन्ने आशा छ ।’
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।