एनपीएलमा लगातार सात खेल जितेको लुम्बिनीले चितवनसँग खेल्दै, सुदूरपश्चिम र विराटनगर तथा जनकपुर र पोखराबीच पनि प्रतिस्पर्धा हुने
हिमेश — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले पहिलो विश्राम लिएयता फेरि खेल सुरु हुँदा प्रत्येक टिमसामु फरक–फरक चुनौती हुनेछन् । संयोगले अबका चार खेलमा सबै आठै टिम संलग्न हुनेछन् र त्यसले अंकतालिकालाई एउटा आकार दिनेछ ।
शनिबार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन् । दुवै टोलीसामु दोस्रो जित हात पार्ने अवसर छ । चितवनले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । त्यस्तै, डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिम रोयल्समाथि जित हात पारेको थियो । लुम्बिनीको त्यो खेल धेरै अर्थमा पछिल्लो सिजनको फाइनलको पुनरावृत्तिजस्तै थियो, नतिजा पनि उस्तै रह्यो । एकातिर कम स्कोरको खेल, अर्कोतिर लुम्बिनीकै प्रभुत्वशाली जित । यही खेलका क्रममा लुम्बिनीले बनाएको एउटा कीर्तिमान भने धेरैले छुटाए ।
लुम्बिनीको यो प्रतियोगितामा लगातार सातौं जित थियो । टोलीले यस्तै प्रदर्शनमा उछिनेको भनेकै सुदूरपश्चिमलाई नै थियो । गत सिजन उपाधि जित्ने क्रममा सुरु भएको लुम्बिनीको जित यात्रा अहिले सानदार लयमा परिणत भएको छ । त्यसमा लिग चरणका तीन जित समावेश छन् । त्यसपछि लुम्बिनीले अविश्वसनीय ढंगले इलिमिनेटर, क्वालिफायर–२ र फाइनल जितेको थियो ।
यसपल्टको पहिलो खेलको जितमात्र जोड्ने हो भने लुम्बिनीको लिग चरणमा लगातार जितको संख्या चार पुगेको छ । लिग चरणमा लगातार जितको कीर्तिमान भने सुदूरपश्चिमकै नाममा छ, जसलाई तोड्न गाह्रै हुनेछ । पहिलो र दोस्रो सिजनसमेत जोडेर सुदूरपश्चिमले लिग चरणमा लगातार नौ खेल जितेको थियो । खासमा लिग चरणमा सबैभन्दा बलियो प्रदर्शन कसैको छ भने त्यो सुदूरपश्चिमकै छ ।
सुदूरपश्चिम पहिलो र दोस्रो सिजनको लिग चरणमा एक–एक खेलमा मात्र पराजित भएको थियो । यता लुम्बिनीसँगको सामना गर्दा चितवनका लागि एउटा तगारो हुनेछ । टोलीका लागि लुम्बिनी त्यस्तो प्रतिद्वन्द्वी हो, जसलाई उसले अहिलेसम्म हराउन सकेको छैन । अघिल्ला दुवै सिजनमा लुम्बिनीले चितवनलाई क्रमशः ३३ रन र ६ विकेटले हराएको थियो ।
शनिबार अर्को खेलमा सुदूरपश्चिमले फ्लडलाइटमा विराटनगर किंग्सको सामना गर्नेछ । यतिबेला कुनै एक खास टिम सबैभन्दा बढी निराश छ भने त्यो विराटनगर नै हो । यसपालि हातैमा आइसकेका दुई जित पनि विराटनगरले गुमाएको छ । त्यसमा पहिलो हार चितवन राइनोजसँग थियो भने अर्को कर्णाली याक्सविरुद्ध । विशेषतः कर्णालीविरुद्ध विराटनगरको हार स्तब्धपूर्ण र पीडादायी रह्यो । अहिलेसम्म यी टिमबीच तीन खेल भएका छन् । त्यसमा सुदूरपश्चिम दुईपल्ट विजयी भएको छ भने एकपल्ट विराटनगर ।
पहिलो सिजन पनि विराटनगर सुरुआती दुई खेलमा पराजित थियो र यसै कारण टोलीको लिग चरण पार गर्ने सम्भावना कमजोर बनेको थियो । आइतबार बेलुका हुने एकमात्र खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
जनकपुरले यसपल्ट एक खेल गुमाएको छ भने अर्को खेलमा जित हात पारेको छ । पोखरा भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग हारेको थियो । जनकपुर र पोखरा एकआपसमा दुईपल्ट भिडेका छन् । त्यसमा दुवै टिमको भागमा एक–एक जित छ । पोखरा नै प्रतियोगितामा एकमात्र त्यस्तो टिम हो, जसले अहिलेसम्म प्लेअफ चरणमा प्रवेश पाएको छैन ।
लिग चरणमै सीमित पोखराको अहिलेसम्मको प्रदर्शन पनि कमजोर नै छ । लिग चरणमा टोलीले खेलेका १५ खेलमध्ये १० मा हार बेहोरेको छ । सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् । काठमाडौंले खेलेको पहिलो खेलमा टोलीको प्रदर्शन धेरै अर्थमा कमजोर रह्यो । त्यसमा जुनुन नै देखिएन । यसको ठीक विपरीत कर्णाली अहिले सबैभन्दा बढी उत्साही टिममध्येमा छ ।
कर्णाली आफ्ना सुरुका दुवै खेल जितेर लयमा छ । गत सिजनको एक लिग जित पनि जोड्ने हो भने यस चरणमा कर्णालीको लगातार जित तीन खेल पुगेको छ । संयोग कस्तो पनि छ भने यही कर्णालीले अहिलेसम्म काठमाडौंलाई हराउन भने सकेको छैन । यी दुई टिमबीच लिग चरणमा दुई खेल भएका छन् । ती दुवैमा काठमाडौं गोर्खाज नै विजयी भएको इतिहास छ । कम्तीमा यो तथ्यले काठमाडौंलाई अब राम्रो खेल्न प्रेरित गर्नेछ ।