Trending
Prev Story
Next Story

कोप-३१ को तयारी तीव्र, नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) नजिकिँदै गर्दा नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्रलाई अन्तिम रूप दिनुका साथै सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको जनाएको …

कोप-३१ को तयारी तीव्र, नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा

५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) नजिकिँदै गर्दा नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्रलाई अन्तिम रूप दिनुका साथै सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको जनाएको छ।

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने सम्मेलनमा जलवायु न्याय र जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहललाई बलियो बनाउने गरी छलफल भइरहेको मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालले बताए।

“दसैँको समयमा पनि हामी खाली नबसी नेपालको स्थितिपत्रको मस्यौदा तयार गरी सरोकारवालाको सुझाव संकलन गरिरहेका छौँ। कसरी नेपालको स्थितिपत्रलाई कसिलो बनाउन सकिन्छ भनेर लागिरहेका छौँ,” उनले भने, “हामीले अहिले आन्तरिक तयारीमा कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेका छौँ। नेपालको स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी छ।”

ढकालका अनुसार अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न आवश्यक तयारी र प्रक्रियाबारे सरोकारवाला निकायबाट सुझाव आइरहेका छन्।

कोप–३१ मा नेपालको प्राथमिकता प्रभावकारी रूपमा प्रस्तुत गर्न उच्चस्तरीय राजनीतिक प्रतिनिधित्व आवश्यक रहेको सहसचिव ढकालले बताए। प्राविधिक वार्तासँगै मन्त्रीस्तरीय सहभागिताले नेपालको आवाजलाई थप बलियो बनाउन सक्ने उनको भनाइ छ। ‘सम्मेलनको पहिलो साता प्राविधिक तथा विषयगत वार्ता हुन्छ भने दोस्रो साता प्रायः मन्त्रीस्तरीय बैठकमार्फत प्राविधिक टोलीले तयार पारेका दस्तावेजलाई अनुमोदन गर्ने प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘दोस्रो सातामा जलवायु वित्त, अनुकूलनलगायत विभिन्न विषयमा मन्त्रीस्तरीय बैठक हुने भएकाले ती बैठकमा नेपालको राजनीतिक नेतृत्वको सहभागिता महत्त्वपूर्ण हुन्छ। कर्मचारी र प्राविधिकहरू जति नै विज्ञ भए पनि राजनीतिक तहबाट विषय उठाउँदा त्यसको सुनुवाइ बलियो र फराकिलो हुन्छ भन्ने कुरा हामीले महसुस गर्नुपर्छ।’

कोप–३१ मा सङ्घ, प्रदेश र स्थानीय तहका साथै सङ्घीय संसद्का प्रतिनिधिको सहभागिताबारे स्पष्ट खाका आवश्यक रहेको उनले बताए। स्रोतसाधनको अभाव र सम्मेलनमा सहभागी हुन इच्छुक प्रतिनिधिको सङ्ख्या धेरै हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

सहसचिव ढकालले भोटेकोशी क्षेत्रमा भएको विपद्पछि नेपालका जलवायुजन्य जोखिम र प्राथमिकताले अन्तर्राष्ट्रियस्तरमा थप ध्यान पाएको बताए। उक्त विपद्बाट उत्पन्न अन्तर्राष्ट्रिय चासोलाई कोप–३१ मा नेपालको पक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न उपयोग गरिने उनले बताए।

पर्वतीय मुद्दा र जलवायु वित्तलाई प्राथमिकता दिन सुझाव

राष्ट्रिय प्रकृति संरक्षण कोषको जलवायु परिवर्तन विभागका प्रमुख निर्देशक डा. मनिषराज पाण्डेले कोप–३१ मा नेपालले पर्वतीय मुद्दा, जलवायुजन्य क्षति तथा नोक्सानी र अनुकूलनका लागि वित्तीय सहयोगलाई प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव दिए। सम्मेलनमा नेपालको कूटनीतिक पहललाई अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ। ‘पर्वतीय क्षेत्रका विशिष्ट जलवायु जोखिमलाई अनुकूलन तथा जलवायु वित्तसम्बन्धी निर्णयमा स्पष्ट रूपमा समेट्नुपर्छ’, उनले भने, ‘हिमतालको निगरानी, हिमाली क्षेत्रमा उत्पन्न विपद्बाट प्रभावित तल्लो तटीय समुदायको सुरक्षा तथा जोखिम न्यूनीकरणका विषयलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्छ।’

जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधन गर्न पर्याप्त वित्तीय स्रोत जुटाउनुपर्ने, प्रभावित समुदायसम्म सहयोग छिटो पुर्‍याउने व्यवस्था गर्नुपर्ने र आर्थिकबाहेक सामाजिक, सांस्कृतिक तथा अन्य गैरआर्थिक क्षतिको मान्यता सुनिश्चित गर्नुपर्ने उनले बताए। यस्तो सहयोग ऋणमा नभई अनुदानमा आधारित हुनुपर्नेमा उनले जोड दिए।

अनुकूलन कोषबाट प्राप्त रकमको सदुपयोग गर्न स्थानीय तह तथा समुदायलाई सक्षम बनाउनुपर्ने डा. पाण्डेले बताए। कम विकसित तथा पर्वतीय मुलुकका राष्ट्रिय निकायले जलवायु वित्तमा पहुँच प्राप्त गर्दा अपनाउनुपर्ने प्रक्रिया सरल, छिटो र आवश्यकताअनुसारको बनाउनुपर्नेमा पनि उनले जोड दिए।

जलवायुमा लगानी बढाउन दबाब दिनुपर्ने

जलवायुविज्ञ राजु पण्डित क्षेत्रीले विश्व समुदायको लगानी युद्ध तथा व्यापारतर्फ केन्द्रित भइरहँदा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि आवश्यक लगानी हुन नसकेको बताए। आगामी कोपमा धनी मुलुकलाई जलवायु क्षेत्रमा लगानी बढाउन दबाब दिनुपर्ने उनको सुझाव छ। ‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढिरहेको छ। जलवायुको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समन्वय पर्याप्त छैन। जलवायुजन्य घटनाको स्वरूप परिवर्तन भइरहेको छ, तर अन्तर्राष्ट्रिय समुदाय यसप्रति पर्याप्त जवाफदेही हुन सकेको छैन’,  उनले भने।

कोप–३१ मा नेपालले भोटेकोशी बाढीलगायत पछिल्ला जलवायुजन्य विपद्बाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने क्षेत्रीले बताए। ‘कोप–३१ मा नेपालले भोगेका जलवायुजन्य घटना र त्यसबाट परेको समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्छ। क्षतिका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन दबाब सिर्जना गर्नुपर्छ’, उनले भने।

नेपालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसँगै जलवायुजन्य विपद्बाट भएको हानि तथा नोक्सानीको मूल्याङ्कन, अभिलेखीकरण र अन्तर्राष्ट्रियस्तरमा त्यसको दाबी प्रस्तुत गर्ने प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ। जलवायु परिवर्तनका कारण भएको क्षतिको विषयलाई आगामी कोपमा सशक्त रूपमा उठाउनुपर्ने उनले बताए।

जलवायुजन्य जोखिमको विषय अन्तर्राष्ट्रियकरण गर्ने अवसर

जलवायुविद् मञ्जित ढकालले यसपटकको कोप सम्मेलनमा सहभागितालाई भोटेकोशी बाढी र जलवायुजन्य जोखिमका विषय अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त भइरहेको सहयोग, सद्भाव र सकारात्मक दृष्टिकोणलाई कायम राख्दै सबै पक्षसँग सहकार्य गरेर विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढ्नुपर्ने उनको सुझाव छ। ‘नेपालले आफूले पनि कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता कार्यान्वयन गर्दै विकसित मुलुकलाई उत्सर्जन घटाउन तथा जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्नुपर्छ’, उनले भने, ‘जलवायु परिवर्तन अब वातावरणीय विषयमा मात्र सीमित नभई हिमाली क्षेत्रको अर्थतन्त्र, पूर्वाधार, जनजीविका र विकाससँग प्रत्यक्ष जोडिएको विषय बनेकाले नेपालले वैज्ञानिक प्रमाण, कूटनीतिक पहल र अन्तर्राष्ट्रिय सहकार्यलाई एकीकृत गर्दै अघि बढ्नुपर्छ।’

कोप–३१ मा नेपालले आफ्ना पर्वतीय क्षेत्रका जोखिम, जलवायु अनुकूलनका आवश्यकता तथा जलवायुजन्य क्षतिको सम्बोधनका विषयलाई प्रभावकारी रूपमा उठाउने तयारी गरिरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनि...

#तयारी #तीव्र
Compare →
Nagarik News
7h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #कोप
Compare →
Ekantipur
9h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#जलवायु #कोप
Compare →
Bizshala
11h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

National (Nepal)
Build #2611