Trending
Prev Story
Next Story

एन–प्याब्सनलाई गृह मन्त्रालयले किन गर्‍यो निलम्बन ?

Ekantipur •
October 30, 2026 • 12:01 PM
1
1 reads 0 reactions

२०७८ सालको महाधिवेशनदेखि दुई समूहमा विभाजित एन–प्याब्सनले सरकारबाट स्वीकृत विधान र निर्देशनविपरीत गतिविधि गरेको भन्दै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

एन–प्याब्सनलाई गृह मन्त्रालयले किन गर्‍यो निलम्बन ?

२०७८ सालको महाधिवेशनदेखि दुई समूहमा विभाजित एन–प्याब्सनले सरकारबाट स्वीकृत विधान र निर्देशनविपरीत गतिविधि गरेको भन्दै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

काठमाडौँ — दुई वटा छुट्टाछुट्टै समिति बनाएर समानान्तर गतिविधि गर्दै आएका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि गृह मन्त्रालयले शुक्रबार निलम्बन गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बारम्बार दिइएको निर्देशन एन–प्याब्सनले पालना नगरेको, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको जनाएको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो । उक्त उपदफामा संगठनले सरकारबाट स्वीकृत विधान विपरीत काम गरेमा जरिवाना, निलम्बन र खारेज गर्न सक्ने व्यवस्था रहेको छ ।

एन–प्याब्सन उक्त ऐनअनुसार  २५ मंसिर २०५४ मा गृह मन्त्रालयमा दर्ता भएको थियो । २०७८ मा नेपालगन्जमा भएको ७ औं महाधिवेशनदेखि विवाद देखिएको थियो । त्यसयता दुई समूह बनाएर एन–प्याब्सनका नाममा छुट्टाछुट्टै गतिविधि सञ्चालन हुँदै आएका थिए । कम्पनीमा दर्ता भएका निजी विद्यालय सञ्चालकहरूको मात्रै संलग्नतामा एन–प्याब्सनको स्थापना भएको थियो । यस्तै प्रकृतिको निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनमा पनि छ ।

एन–प्याब्सन एक समूहका अध्यक्ष सुबास न्यौपानेले गृह मन्त्रालयमा उजुरी परेपछि निलम्बनमा परेको जनाए । अर्को समूहको नेतृत्व अध्यक्ष गीता राणाले गर्दै आएका छन् । उक्त समूहले शनिबार र आइतबार चितवनमा विशेष अधिवेशनको आयोजना गरेको थियो । जहाँ विधान संशोधन लगायतका एजेन्डा थिए । एन–प्याब्सनको नाममा जथाभावी गतिविधिका बारेमा गृह मन्त्रालयमा उजुरी दिएको र त्यही आधारमा निलम्बनमा परेको न्यौपानेले बताए । ‘एक समूहले चितवनमा भोलि (शनिबार) देखि विधान अधिवेशन गर्न खोज्दै थिए । २०७८ सालदेखि नै विवाद थियो । गृह मन्त्रालयले कुनै पनि गतिविधि नगर्नु भनेर रोकिदियो,’ उनले भने, ‘संस्थालाई निलम्बनमा मात्र राखिएको हो । खारेज भएको छैन ।’

२०७८ सालको महाधिवेशनमा न्यौपाने र पाण्डव हमाल अध्यक्ष पदको प्रत्याशी थिए । सहमतिमा १८/१८ महिना अध्यक्ष कार्यकाल सम्हाल्ने निर्णय भएको थियो । न्यौपानेले केन्द्रीय समितिले नेतृत्व परिवर्तन नगर्दै अध्यक्ष घोषणा गरेपछि समानान्तर गतिविधि बढेको अर्को समूहको आरोप छ । न्यौपाने समूहले भने १८ महिना कार्यकाल पूरा हुँदा पनि हमाल समूहले नेतृत्व हस्तान्तरण नगरेको आरोप लगाएको छ । त्यसपछि हमाल समूहले वीरगन्जमा महाधिवेशन गरी संस्थापक अध्यक्ष राणालाई अध्यक्ष चुनेको थियो भने अर्कोतर्फ काठमाडौंमा महाधिवेशन गरेर न्यौपानेले नै अध्यक्ष दोहोरिएका थिए ।

विवाद अघि ऋतुराज सापकोटा एन–प्याब्सनका अध्यक्ष थिए । नेपालगन्जमा २०७८ मा भएको ७ औं अधिवेशनबाट नै एन–प्याब्सनमा फुट देखिएको उनले बताए । ‘अध्यक्षको दुई प्रत्याशीले आधा कार्यकाल काम गर्ने भनेर हमाल सरले पहिले चलाउनुभयो । सुबास सरमा अध्यक्ष पद हस्तान्तरण भएन । केन्द्रीय समितिले निर्णय नगर्दै सुवासले स्वघोषणा गरे,’ सापकोटाले भने । त्यहीँबाट छुट्टाछुट्टै समानान्तर गतिविधि हुन थालेको थियो । दुवै समूहले अधिवेशन गरेर न्यौपाने र राणा अध्यक्ष थिए । चितवनमा सबै पक्षलाई समेट्ने गरी विशेष महाधिवेशन गरिएको अन्तिम समयमा गृह मन्त्रालयले एन–प्याब्सन निलम्बन गरेको सापकोटाले बताए । ‘प्रतिनिधिहरू चितवन आइपुगिसकेका छन् । संस्था निलम्बन भयो । अब गृह मन्त्रालयले छलफलमा बोलाउला,’ उनले भने ।

गृह मन्त्रालयले एन–प्याब्सन सम्बद्ध पदाधिकारीले १२ मंसिर २०८२ मा दिएका निर्देशन पालना नगरेको जनाएको छ । उनीहरूसँग गृह मन्त्रालयले २३ असोज २०८३ मा समेत छलफल गरेको थियो । सूचनामा अर्को निर्णय नभएसम्म लागि निलम्बन गरिएको जनाइएको छ भने कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने जनाइएको छ । त्यस विपरीत कार्य गरे कानुन बमोजिम कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
14h ago
शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउन शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ। शुक्रबार सिं...

#मन्त्रालयले #गर्
Compare →

Related Stories

Education & Youth
Build #2612