Trending
Prev Story
Next Story

जलेको भवन बनाउन ११ करोड चाहिने, बुटवल उपमहानगरसँग बजेट ५ करोड मात्रै

Ekantipur •
October 30, 2026 • 06:32 AM
1
1 reads 0 reactions

जेनजी प्रदर्शनमा जलेको बुटवल उपमहानगरको भवन एक वर्ष बित्दा पनि मर्मत हुन सकेको छैन । भवनका महत्त्वपूर्ण शाखा र कागजात जलेपछि सेवाप्रवाहसमेत प्रभावित भएको छ ।

जलेको भवन बनाउन ११ करोड चाहिने, बुटवल उपमहानगरसँग बजेट ५ करोड मात्रै

जेनजी प्रदर्शनमा जलेको बुटवल उपमहानगरको भवन एक वर्ष बित्दा पनि मर्मत हुन सकेको छैन । भवनका महत्त्वपूर्ण शाखा र कागजात जलेपछि सेवाप्रवाहसमेत प्रभावित भएको छ ।

बुटवल — बुटवल उपमहानगरपालिकाको भवनभित्र पस्दा अझै पनि जलेको धुवाँको गन्ध आइरहन्छ । आगजनीबाट डढेका भवनका अधिकांश स्थानमा धुवाँको मुस्लो र कालो अझै हटाउन सकिएको छैन । आगजनी र तोडफोडका संरचनाले त्यहाँ पुग्ने सबैलाई झस्काउँछन् । अनि सम्झाउँछन् २४ भदौ २०८२ को जेनजी प्रदर्शन ।

प्रदर्शनका क्रममा जलेका उपमहानगरका हरेक कोठा र खाली स्पेसको सिलिङमा लगाइएका जिप्सन, ढोका र झ्यालका रबरहरू यत्रतत्र छन् । जता हेरे पनि धुवाँको मुस्लोले छोपेको कालो र जलेर नष्ट भएका संरचना सामान्य नागरिक तर्सिने खालकै छन् ।

उपमहानगरपालिकाको मूल ढोकाबाट भित्र पस्नेबित्तिकै क्षतविक्षत संरचना र खरानीको थुप्रो देखिन्छ । मूल ढोकाबाट प्रवेश गर्नासाथ देब्रेतर्फ उपमहानगरका सेवाग्राहीका लागि राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर थियो । तर, एक वर्षदेखि नै त्यहाँ न बैंकको सेवा छ, न कर्मचारी । बैंकको शाखा रहेको स्थानमा जलेको संरचना मात्र छ । आगजनीले बैंकका कागजात, कम्प्युटर र मेसिनहरू ध्वस्त बनाइदिएपछि बैंकले अहिलेसम्म पनि शाखा पुनःस्थापना गरेको छैन । एक्सटेन्सन काउन्टरको अभावले सेवाग्राही सानो कामका लागि पनि झन्डै एक किलोमिटर टाढा पुग्न बाध्य छन् ।

भुइँतलाकै दाहिनेतर्फ रहेको नक्सा शाखाको अवस्था झनै कहालीलाग्दो छ । नगरवासीका घरजग्गासम्बन्धी नक्साका हजारौं फाइल रहेको नक्सा शाखामा सबैभन्दा पहिले आगजनी गरिएको थियो । भुइँतला र पहिलो तलामा रहेका शाखाहरू सबैभन्दा बढी क्षतिग्रस्त छन् । कार्यालयको नक्सा शाखा, नगरप्रमुखको कार्यकक्ष, बैठक कक्ष, कार्यपालिकाको बैठक हल, भूमि सम्बन्धी शाखालगायत अधिकांश शाखा रहेका कोठा अहिले पनि कालै छन् । त्यहाँका काम अन्य साँघुरा कोठाबाट सञ्चालन गरिएका छन् ।

भुइँतला र पहिलो तलालाई जलेकै अवस्थामा हरियो जालीले ढाकेर राखिएको छ । प्रदर्शनकारीको आगलागीबाट ५४ करोड ७८ लाख ४५ हजार ३८१ रुपैयाँ खर्च गरेर निर्माण गरेको बेसमेन्टसहितको चारतले भवनको भुइँतला र पहिलो तला पूर्ण रूपमा नष्ट भएको थियो । तेस्रो र चौथो तलामा आंशिक क्षति पुगेको थियो ।

निर्माण सकिएर २०७८ माघदेखि नयाँ भवनबाट सेवा सुरु गरिएको थियो । त्यही भवन २०८२ भदौमा भवनका प्रशासनिक तथा दर्ता चलानी शाखा, रिसेप्सन काउन्टरहरू तोडफोडसँगै पूर्ण रूपमा जलाइएको थियो । दर्ता किताब र चलानी फाइलहरू सबै जलेका थिए । भुइँतलामै रहेको राजस्व तथा कर शाखा पनि पूरै जल्यो । सेवाग्राहीको बढी भीड हुने र आर्थिक कारोबारको तथ्यांक राखिने यस शाखामा रहेका डिजिटल मनिटर, कम्प्युटर सेट र कर संकलन प्रणालीका केही भौतिक पूर्वाधारमा समेत क्षति पुगेको थियो । योजना तथा प्राविधिक (इन्जिनियरिङ) शाखा, घर नक्सा शाखा पनि जलेका थिए । प्राविधिक शाखामा भएको पूर्ण क्षतिले उपमहानगरपालिकाका विकास निर्माण र नक्सापाससम्बन्धी महत्त्वपूर्ण कागजातका काममा अहिले पनि समस्या हुने गरेको छ ।

त्यस्तै नगरप्रमुख/उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, मुख्य प्रशासनिक नेतृत्व रहने यस क्षेत्रका फर्निचर, बैठक कक्षका संरचना र सजावटका सामानहरूमा तोडफोड र आगजनी गरिएको थियो । त्यस्तै सूचना प्रविधि शाखा पनि पूर्ण रूपमा जलेको थियो ।

भवनको अधिकांश भाग र महत्त्वपूर्ण शाखा जलाइएपछि अहिले पनि सेवा प्रवाहमा समस्या रहेको नगरप्रमुख खेलराज पाण्डेयले बताए । ‘खासगरी सेवाग्राहीको बढी भीड हुने राजस्व, शिक्षा र घर नक्सा शाखा पूरै जलेका थिए, जलेर बाँकी रहेका ल्यापटपसमेत लगिएको थियो,’ उनले भने, ‘अहिले पनि ती शाखा व्यवस्थापनमा कठिनाइ परिरहेको छ । सेवाग्राही कुनै समस्या ल्याएर आएपछि त्यो खोज्दा फाइल वा रेकर्ड नभेटिने समस्या अहिले पनि उस्तै छ ।’ सेवाग्राही आएपछि फाइल वा रेकर्ड खोज्दा नभेटिने र नगरपालिकालाई यो पनि रहेछ भन्ने जानकारी हुने, सेवाग्राहीले तत्कालै सेवा पाउन नसक्ने अवस्था रहेको उनले बताए ।

आगोले भवनका झ्याल, ढोका, टेबल, कुर्सी, दराज, कम्प्युटर र कागजातसँगै भवनका पिलर, बिम, भित्ता र सिलिङमा समेत क्षति पुर्‍याएको छ । आगोको रापले मक्किएका पिलर, भित्ता र सिलिङबाट अहिले पनि सिमेन्ट र मार्बलका टुक्रा झर्ने गरेका छन् । आगोको तापले आल्मुनियमका झ्यालका फ्रेमसमेत पग्लिएका छन् । कार्यकक्ष ध्वस्त भएपछि नगरप्रमुखको कार्यकक्षलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा व्यवस्थापन गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार गत आर्थिक वर्षमा बजेट बाँडफाँट भइसकेको र मर्मत तथा पुनर्निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने भएकाले मर्मत हुन सकेन । आगजनीबाट भवनका मुख्य पिलरमै ठूलो क्षति भएकाले आर्थिक अभावसँगै प्राविधिक अध्ययन प्रतिवेदनबिना मर्मत गर्न नसकिएको नगरपालिकाले जनाएको छ । उपमहानगरले चालु आर्थिक वर्षमा भवनको मर्मत तथा पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर प्राविधिक अध्ययनले भवनलाई पहिलेकै अवस्थामा पुर्‍याउन करिब ११ करोड रुपैयाँ लाग्ने प्रतिवेदन दिएको छ ।

उपमहानगरपालिका प्रमुख पाण्डेयले भवनमा पुगेको क्षतिअनुसार संघ र प्रदेश सरकारबाट मर्मत तथा पुनर्निर्माणका लागि बजेट विनियोजनमा कुनै सम्बोधन नभएपछि उपमहानगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट चालु आवमा ५ करोड बजेट विनियोजन गरेको बताए । ‘तर त्यो बजेटले पुग्दैन,’ उनले भने, ‘त्यसैले अधुरो पुनर्निर्माण गर्ने योजनामा छौं ।’ प्राविधिक अध्ययनमा भवनलाई पहिलेकै अवस्थामा मर्मत गर्न ११ करोड रुपैयाँ लागत लाग्ने प्रतिवेदन तयार भएको उनले बताए । भवनको बेसमेन्ट र पहिलो तलाका पिलरहरू नै जलेकाले भवन कति प्रयोग गर्न सकिने र कति गर्न नसकिने भन्ने नै अन्योल थियो । अहिले केही पिलर मर्मत गरेपछि भवन प्रयोगयोग्य रहेको भन्ने प्राविधिक प्रतिवेदन आएकाले मर्मतको तयारी गरिए पनि रकम अभावमा काम अघि नबढेको नगरप्रमुख पाण्डेयले बताए ।

आगलागीबाट भवनका दुईवटा तलाका सबै संरचना जलेको र त्यसको गत वर्ष नै मर्मत हुन नसक्दा शाखा व्यवस्थापनमा अहिले पनि अप्ठ्यारो भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली बताउँछन् । ‘स्थान अभावले दुई शाखा एकै कोठामा पनि राखेर व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘अहिले आन्तरिक स्रोतबाट केही रकम व्यवस्थापन गरेर मर्मत गर्ने तयारी भइरहेको छ ।’ कम्प्युटर, ल्यापटप, धेरै फाइल पनि जलेको र त्यसको कम्प्युटर ब्याकअप नभएका कागजातमा समस्या रहेको उनले बताए ।

उपमहानगरपालिकाका उपसचिव तथा इन्जिनियर गौतम रौनियारका अनुसार आगजनीबाट महत्त्वपूर्ण कागजात र दस्तावेजसँगै भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । कागजातका हजारौं फाइल र फर्निचरमा एकैपटक आगो लाग्दा उक्त भवनका मुख्य पिलर र बिममा समेत क्षति पुगेको उनले बताए । ‘ती पिलर र बिमलाई सबलीकरण (रेट्रोफिटिङ) गरेर पुरानै अवस्थामा ल्याउने गरी मर्मतको काम अघि बढाउँदै छौं,’ उनले भने, ‘भवन निर्माण गर्दा नै सात तलाको डिजाइन गरिएको र त्यसलाई धान्ने गरी पिलर तथा बिम बनाइएको थियो, तर अब त्यस्तो अवस्था रहेन । बिग्रिएको र भत्किएको संरचनालाई पुरानै अवस्थामा फर्काउन कठिन छ ।’

गत वर्ष भदौ २४ गते भएको जेनजी प्रदर्शनमा रुपन्देहीमा सरकारी तथा सार्वजनिक संरचनामा ३२ करोड दुई लाख १७ हजार ८ सय ७१ रुपैयाँ बराबरको क्षति भएको थियो । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका कतिपय कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आए पनि धेरै संरचना अझै मर्मत वा पुनर्निर्माण हुन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तयार गरेको एकीकृत क्षतिको अन्तिम प्रतिवेदनअनुसार आन्दोलनका क्रममा जिल्लाका ३० सरकारी कार्यालय र एक सार्वजनिक संस्थामा ठूलो भौतिक तथा जिन्सी क्षति भएको थियो । सरकारी भवन, सवारीसाधन, कार्यालयका उपकरण, फर्निचर, कागजातलगायतका सामग्रीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार ४२ वटा भवनमा क्षति भएको थियो । तीमध्ये छवटा पूर्ण रूपमा ध्वस्त भएका थिए । ३६ वटा भवनमा आंशिक क्षति पुगेको थियो । त्यस्तै ६४ वटा सरकारी तथा सार्वजनिक सवारीसाधनमा क्षति पुगेकोमा ५७ वटा पूर्ण रूपमा नष्ट भएका थिए । सवारीसाधनतर्फ सात करोड ८६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रशासनको प्रतिवेदनमा उल्लेख छ । कार्यालयमा रहेका कम्प्युटर, फर्निचर, कागजातलगायतका जिन्सी सामग्रीमा १६ करोड ५४ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#भवन
Compare →
Hamro Patro News
1d ago
न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । निर्माणस्थल नजिकैको उत्खनन क्षे...

#भवन
Compare →
Onlinekhabar
1d ago
न्यूयोर्कमा तीन तले भवन भत्किँदा एक जनाको मृत्यु, १० घाइते

न्यूयोर्कमा तीन तले भवन भत्किँदा एक जनाको मृत्यु, १० घाइते

२६ कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा तीन तले आवासीय भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागका अनुसार ब्रुकलिनमा बुधबार साँझ उक्त …

#भवन
Compare →

Related Stories

Building & Construction
Build #2611