सामाजिक सोपानक्रमले पिँधमा पारिएका जाति, वर्ग, लिंगका मानिसहरूको पहिचान र न्यायको खोजी नै नेपालको परिवर्तित राजनीतिको बीज थियो।
गत वर्षको संसदीय चुनावको दृश्य विगतका चुनावको भन्दा फरक थियो । कहिल्यै राजनीतिमा नदेखिएका र राजनीतिप्रति रुचि नभएका मानिसहरू चुनावमा खुलेर लागेका थिए । निर्वाचनमा गोप्य मतदान नागरिकको अधिकार हो । तर मतदाताहरूले आफूले ‘फलानो’ चुनाव चिह्नमा मत हालेको कुरा कुनै न कुनै संकेतबाट नि:संकोच खुलाइरहेका थिए । यसको मुख्य कारण मान्छेले समाजमा खोजेको स्पेस थियो।
सामाजिक सोपानक्रमले पिँधमा पारिएका या सीमान्तीकरण गरिएका जाति, वर्ग, लिंगका तथा राजनीतिक पहुँच नभएका मानिसलाई आफू सामाजिक सत्ताबाट उपेक्षित भएको अनुभूति गराइरहेको थियो । उनीहरूले न्यायिक सम्बोधन नपाएपछि कुनै समयमा विद्रोहको बाटो अपनाउनु स्वाभाविक थियो । निर्वाचन उनीहरूका लागि बदला साध्ने त्यस्तै एउटा माध्यम बन्यो । कहिल्यै राजनीतिमा नदेखिएका मानिससमेत तत्कालीन सत्ता संस्थापनविरुद्ध खुलेर उत्रिनुको कारण यही थियो।
विश्वविद्यालयमा मैले थेसिस (शोधपत्र) बुझाउनु थियो । तर मेसो मिलिरहेको थिएन । गत जेठको एक दिन विभागका सरले उनकै कक्षमा मलाई ताकेता गरे । ताकेता गाली (सकारात्मक) मिश्रित थियो । थेसिस बुझाउने समय घर्किन लागिसकेका कारण गाली स्वाभाविकै थियो । उभिएर सरको कुरा सुनिरहें । त्यही बेला मभन्दा पछिल्लो ब्याचको एउटा विद्यार्थी भित्र पस्यो । ती व्यक्तिलाई सरले भने, ‘नमस्कार, के छ माननीयज्यू ? तपाईंको राम्रो हुँदै छ है । मैले हेरिरहेको छु।’
प्रसंग के थियो, बुझिनँ । सोध्ने कुरा पनि भएन । सरले ती व्यक्तिलाई सोधे, ‘चिया पिउने कि माननीयज्यू ?’ सरले ती व्यक्तिको राम्रो खातिरदारी गरिरहँदा मलाई छेवैको सोफामा बस्न पनि भनेका थिएनन् । मलाई निकै ढिलो गरी बस्न भने तर चिया सोधेनन् । उसै पनि म चियाको पारखी होइन।
विश्वविद्यालयजस्तो ठाउँमा सोपानक्रमको महत्त्व कति छ ? के सार्वजनिक पद धारण नगरेको, सामाजिक वा आर्थिक हैसियत नभएको व्यक्तिले विश्वविद्यालयमा न्यूनतम स्थान पाउन सक्दैन ? नामको अगाडि वा पछाडि कुनै फुर्को नजोडिएका मजस्ता हजारौं विद्यार्थीको हालत र मनस्थिति विश्वविद्यालयमा कस्तो होला ? ज्ञान उत्पादन गर्ने ठाउँमा त सोपानक्रमको असर टड्कारो छ भने समाजका अन्य ठाउँमा यस्तो संरचना कति होला?
गोरखाका अर्जुन चेपाङ र कर्ण चेपाङ निर्माण व्यवसायी हुन् । उनीहरू निजी गाडी चढ्छन् । उनीहरूले गाडी चढेको देखेर अन्य समुदायका मानिसले ओठ लेप्य्राउँदै कुरा काट्छन् । ‘चेपाङले पनि गाडी चढ्छन् र ?’, ‘कति दिनसम्म चढ्छन् हेरौं न’ जस्ता टीकाटिप्पणी सुनिन्छ । समाजमा संरचनात्मक लाभांश पाइरहेको वर्गले सुविधा र अवसर आफ्नो पेवाजस्तो यसरी मानेका छन्, अन्य समुदायका मानिसले चेपाङले गाडी चढेको कुरा स्विकार्नै वा पचाउनै सकेनन्
समाजको पिँधमा रहेको जाति वा समुदायको मान्छेले प्रगति गर्यो, सफलता हासिल गर्यो भने उसलाई हेर्ने दृष्टिकोण नै समस्याग्रस्त बन्छ । त्यो मान्छेकी आमा अर्कै जाति/समुदायकी हो कि अथवा उसको संरक्षक कुनै (संरचनात्मक लाभांशको माथिल्लो तहको) जातिको मान्छे थियो कि भन्ने शंका र प्रश्न तेर्सिन्छ । यति मात्रै होइन, त्यति सफल र सक्षम मान्छे ‘त्यो’ समुदायमा कसरी जन्मियो भनेर उसको जन्मलाई समेत वैधानिकता दिइँदैन । सफल र क्षमतावान् मान्छे निश्चित समुदायका मात्रै हुन्छन् भन्ने सामाजिक मनोविज्ञान छ।
समाज आफ्नो सामाजिक ब्लुप्रिन्ट बोकेरै बसिराखेको छ । तर समानता, समावेशिता, पहिचानलगायत विषय उठ्दा मेरेटोक्रेसी (योग्यताक्रम) को कुरा गर्छ । ब्लुप्रिन्ट बोकेर मेरेटोक्रेसीको कुरा गर्ने राजनीति सही कसरी हुन सक्छ ? के सत्ताले भन्ने गरेको मेरेटोक्रेसीमा अर्जुन र कर्ण चेपाङको समुदायको रैथाने वा मौलिक ज्ञान, सीप, क्षमता, भाषा आदि पर्छ कि पर्दैन ? मेरेटोक्रेसी नै अब्बल कुरा हो भने ठूला डिग्रीधारी र ‘खानदानी’ मान्छेले अढाई सय वर्ष चलाएको देश संसारकै गरिब, अन्याय, अत्याचार र विभेदलाई संस्थागत गर्ने अवस्थामा कसरी रह्यो?
अन्त्यमा, कुनै व्यक्तिलाई मान्छेका रूपमा स्वीकार नगरे ऊ आफूलाई स्वीकार गर्ने स्थान, समूह वा आन्दोलन खोज्न थाल्छ । त्यो अवस्थामा राजनीति एउटा प्रमुख माध्यम बन्न पुग्छ । मानिस सधैं सत्ताको खोजीमा मात्र राजनीतिमा प्रवेश गर्दैन । धेरै पटक ऊ समाजले अस्वीकार गरेको आफ्नो मानवीय अधिकार पाउन राजनीतिमा पस्छ । त्यस बेला समाजमा अस्तित्वमा रहेका राजनीतिक विचार समूहले व्यक्तिलाई बन्देज लगाउन सक्छ । त्यस्तो अवस्थामा नयाँ–नयाँ राजनीतिक दलहरूप्रति नागरिकहरूको आकर्षण हुनु स्वाभाविक हुन्छ । त्यस्ता राजनीतिक दल वा समूह भइरहेको विचार समूहभन्दा झनै अयोग्य हुन पनि सक्छन् तर आफ्नो स्पेस खोजिरहेको समूहलाई त्यो कुराको हेक्का वा चासो नै हुँदैन । चोक, चौतारी, चिया पसल, विश्वविद्यालय र समाजमै मान्छेको पहिचान खोजिरहेका उनीहरूका लागि आफ्नो स्पेस बनाउन राजनीतिमा आउनु नै प्रमुख कुरा बन्छ।
देवराज देवराज गुरुङ संघीयता र समसामयिक विषयमा लेख्छन्।