आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारको अपिल
काठमाडौँ — बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा बिहीबारदेखि सुरु भएको छ । यसबाट उत्पन्न मौसमी प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ ।
बुधबार बिहान भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्दा यो अत्यन्त शक्तिशाली अवस्थामा थियो । त्यसपछि क्रमशः कमजोर बन्दै रातिसम्ममा यसको शक्ति घटेर गहिरो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) र बिहीबार बिहान अझ कमजोर हुँदै न्यूनचापीय प्रणाली बनेको थियो । तर, माथिल्लो वायुमण्डलको अर्को प्रणालीसँग चक्रवातको अवशेषले अन्तरक्रिया गर्दा वर्षा र हिमपात बढ्न सक्ने मौसमविद्हरू बताउँछन् ।
सामुद्रिक आँधी कमजोर भएर न्यूनचापीय क्षेत्रमा परिणत भए पनि यसको प्रभावले शुक्रबार र शनिबार नेपालभर वर्षा गराउन सक्ने वर्षाका कारण तापक्रम थप घट्ने र देशभर एक्कासि चिसो बढ्ने उनीहरूको अनुमान छ । ‘बिहीबार रातिदेखि नै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,’ बिहीबार दिउँसो कान्तिपुरसँग कुरा गर्दै मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन्, ‘हल्कादेखि मध्यम वर्षाले ठूलो असर पार्ने सम्भावना छैन । तर शनिबारसम्म देशभर वर्षा हुनेछ र केही स्थानमा भारी वर्षा पनि हुन सक्छ ।’
शुक्रबार सातै प्रदेशका हिमाली भूभागको अधिकांश स्थान र कर्णाली र सुदूरपश्चिमको बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा/हिमपातसमेत हुन सक्नेछ । राति भने देशका थोरै स्थानमा भारी वर्षा/हिमपात हुने विभागले जनाएको छ । शनिबार पनि कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा/हिमपात हुने सम्भावना छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले सामुद्रिक आँधी कमजोर भएर न्यूनचापीय क्षेत्रमा परिणत भए पनि शुक्रबार र शनिबार नेपालभर वर्षा गराउन सक्ने बताए । ‘मध्यम वर्षाले पनि काट्न तयार धानबालीमा क्षति पुर्याउन सक्छ र लामो यात्रामा निस्कने यात्रुलाई पनि असर पार्न सक्छ,’ उनले भने ।
मौसमविद्का अनुसार नेपालमा चक्रवातकै जस्तो तीव्र हावाहुरी आउने जोखिम घटेको छ । तर भारी वर्षा, हिमपात, हिमपहिरो र पहिरोको जोखिम भने कायम छ । सम्भावित वर्षाका कारण नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोको जोखिम बढ्न सक्ने आकलन गरिएको छ । बाढी पूर्वानुमान महाशाखा एवं भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले विशेषगरी पहाडी र भिरालो भूभागका राजमार्गमा पहिरो खस्ने, ढुंगा झर्ने र सडक भासिने जोखिम औंल्याएका छन् । नदी किनारका सडकमा जल सतह बढ्दा बाढी र कटान हुन सक्ने तथा साना–ठूला खोला र कल्भर्टमा पानीको बहाव बढेर सडक क्षति हुन सक्ने जोखिम छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध भए यातायात सञ्चालन र अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुन सक्छ ।
महाशाखाका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत त्रिशूली र नारायणी नदी किनार, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्ति राजमार्ग र अरनिको राजमार्गका संवेदनशील खण्डमा विशेष सतर्कता आवश्यक छ । बागमती जलाधारसँग जोडिएका सडक तथा विगतमा पहिरो गएका र नदी किनारमा रहेका अन्य राजमार्ग खण्ड पनि जोखिममा पर्न सक्छन् ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सरकारले विपद् व्यवस्थापन, हवाई सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनका लागि उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारले विशेष अपिल गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म हावाहुरी, चट्याङ, हिमआँधी र ठूलो वर्षाको सम्भावना औंल्याउँदै हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्न आग्रह गरेको छ । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पनि पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक र पर्वतारोही टोलीलाई आग्रह गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनासहित सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार सूचना जारी गरी बिहीबार रातिदेखि शनिबारसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् । महासचिव गौतमले अवस्था जोखिमपूर्ण भएमा आवश्यकताअनुसार सवारी आवागमन बन्द गर्न तथा बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि आग्रह गरेका छन् ।
चक्रवात अर्णवले भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । विशेषगरी धानबाली, केरा खेती, विद्युत् संरचना, सडक र घरहरू प्रभावित भएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले सात जनाको मृत्यु भएको बताएका छन् । तर केही भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मृतक संख्या ९ पुगेको जनाएका छन् । करेन्ट लागेर, रुख तथा बिजुलीका पोल ढलेर र घर भत्किएर मानिसको मृत्यु भएको हो ।
भारतमा करिब २ लाख २४ हजार हेक्टरमा कृषि तथा बागवानी बाली प्रभावित भएको छ भने करिब ३ लाख ४५ हजार किसान प्रभावित भएका विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । करिब १५ हजार विद्युत् पोलमा क्षति पुगेको छ । सयौं रुख ढल्नुका साथै सडक अवरुद्ध भएका छन् । कतिपय क्षेत्रमा विद्युत् र सञ्चार सेवा तथा रेल, हवाई सेवा पनि प्रभावित भएका छन् ।
फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।