Trending
Prev Story
Next Story

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै

Ekantipur •
October 29, 2026 • 03:32 PM
1
1 reads 0 reactions

भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन्

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै

भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन्

काठमाडौँ — यस वर्ष नेपालमा एमबीबीएसलगायत चिकित्सा शिक्षा अध्ययन गर्न १ सय ७६ विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिने भएका छन् । विदेशी विद्यार्थीका लागि सिट संख्या भने २ हजार ५ सय तोकिएको छ । चिकित्सा शिक्षा आयोगका अनुसार शनिबारदेखि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा भारत, बंगलादेश, माल्दिभ्सलगायत मुलुकका विद्यार्थी सहभागी हुनेछन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका ७८ स्थलका २ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन हुने आयोगका सूचना अधिकारी अर्जुन ढकालले जनाए । शैक्षिकसत्र सन् २०२७ का लागि चिकित्सा शिक्षाका १६ विषयमा ९ हजार ६ सय ९१ सिट तोकिएको छ । परीक्षाका लागि ७७ हजार ३ सय ५९ जनाले आवेदन दिएका छन् । जसमा १ सय ७६ जना विदेशी विद्यार्थी छन् । गत वर्ष १ सय ४६ विदेशी विद्यार्थी प्रवेश परीक्षामा सहभागी थिए ।

चिकित्सा शिक्षा ऐनमा कुल सिट संख्याको ३३ प्रतिशत सिट विदेशी विद्यार्थीका लागि सुरक्षित गर्ने व्यवस्था छ । गत वर्षका तथ्यांकले नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या क्रमशः बढ्दै गएको देखाउँछ । सरकार, विश्वविद्यालय र मेडिकल कलेजहरूले समेत विदेशी विद्यार्थी ल्याउन जोड दिएका छन् ।

गत वर्ष (२०२६) कुल सिट ९ हजार २ सय ७३ मा विदेशी विद्यार्थीका लागि २ हजार ४ सय २८ सिट छुट्याइएको थियो । जसमध्ये ७ सय ४६ जना मात्र भर्ना भए । विदेशी विद्यार्थीलाई तोकिएको कुल सिटको ३० प्रतिशत सिट मात्र भरिएको र १ हजार ६ सय ८२ सिट खाली रहेको अर्थात् नेपाली विद्यार्थी भर्ना भएको आयोगको तथ्यांक छ । विदेशी विद्यार्थी भर्ना नभएका सिटमा स्वतः नेपाली विद्यार्थीले नै भर्नाको अवसर पाउने व्यवस्था छ ।

नेपालमा दुई तरिकाबाट चिकित्सा शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थीले भर्ना पाउने व्यवस्था छ । पहिलो व्यवस्थाअनुसार आयोगले सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण भएपछि भर्ना पाइन्छ । दोस्रो छिमेकी मुलुक भारतले सञ्चालन गर्ने मेडिकलसम्बन्धी नीट परीक्षामा सहभागी भएर उत्तीर्ण विद्यार्थीले पनि स्वतः भर्ना पाउँछन् । आयोगले भारतको नीट परीक्षालाई नेपालमा मान्यता दिएको छ । नेपालमा भर्नाका लागि आवेदन दिने र भर्ना हुनेमा पनि करिब ९० प्रतिशत विद्यार्थी भारतीय नै हुने गरेका छन् ।

आयोगका सूचना अधिकारी तथा उपसचिव ढकालले नेपालको एकीकृत प्रवेश परीक्षामा सहभागी भएरभन्दा पनि भारतको नीट परीक्षा पास गरेर नेपालमा भर्ना हुन आउने विद्यार्थीको संख्या विगतदेखि नै बढी रहेको जनाए । ‘नीट परीक्षा पास गरेर भर्ना चाहने विद्यार्थीका लागि प्रक्रिया पनि अघि बढेको छ । नेपालमा प्रवेश परीक्षा दिन आउनेभन्दा पनि उतै नीट पास गरेर भर्ना चाहने विद्यार्थी धेरै हुन्छन्,’ उनले भने ।

२०२६ मा स्वदेशी र विदेशी विद्यार्थीलाई छुट्याएको सिटमध्ये ९२ प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका थिए । तोकिएको ९ हजार २ सय ७३ सिटमध्ये ८ हजार ५ सय ५० सिटमा मात्रै विद्यार्थी भर्ना भएका थिए । जसमा सबैभन्दा बढी विदेशी विद्यार्थीका लागि तोकिएको सिट खाली भएपछि नेपाली विद्यार्थी भर्ना भए । शुल्क तिरेर अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि ३ हजार ९ सय ७० सिट मात्र निर्धारण गरिएको थियो । तर ५ हजार १ सय १४ जना नेपाली विद्यार्थीले भर्ना पाए ।

खाली रहेका विदेशी सिटहरू स्वतः शुल्क (पेइङ) तर्फ स्वदेशी कोटामा रूपान्तरण भएकाले कोटाभन्दा बढी विद्यार्थीले भर्नाको मौका पाएका हुन् । छात्रवृत्तितर्फ २ हजार ७ सय ७१ सिट छुट्याएकामा २ हजार ६ सय ९ जना (९४ प्रतिशत) भर्ना भएका थिए । समावेशी कोटामा भर्ना हुने विद्यार्थी नहुँदा छात्रवृत्तिमा समेत शतप्रतिशत विद्यार्थी भर्ना नहुने आयोगका पदाधिकारीहरू बताउँछन् ।

एमबीबीएस, बीडीएस, नर्सिङ विषयमा मात्र भर्ना हुने चाहना विदेशी विद्यार्थीको देखिन्छ । तर नेपालमा सञ्चालन भएका १६ वटै विषयमा सिट छुट्याउँदा पनि धेरै सिट खाली भएको देखिएको हो । नेपाली विद्यार्थीका पनि एमबीबीएस, बीडीएसमा शतप्रतिशत आकर्षण देखिन्छ भने अन्य विषयमा सिटभन्दा न्यून भर्ना हुने गरेका छन् । गत वर्ष भर्ना भएका ७ सय ४६ विदेशी विद्यार्थीमध्ये ७ सय ४२ जना एमबीबीएसमा रहेको तथ्यांक छ । नर्सिङ, बीफार्मलगायत अन्य अधिकांश विषयमा विदेशी विद्यार्थीको उपस्थिति नगण्य र शून्य रहेको उपसचिव ढकालले बताए । सीमित सिट संख्या र आवेदन दिने विद्यार्थी उच्च रहेका कारण स्वदेशी पेइङ (शुल्क) तर्फ विद्यार्थीको चाप उच्च देखिने गरेको छ ।

त्यति मात्र होइन, विदेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको संख्या पनि उल्लेखनीय छ । आयोगका अनुसार पछिल्ला तीन वर्षमा चिकित्सा शिक्षामा विभिन्न तहमा १ हजार ८ सय ५९ विद्यार्थी भर्ना भए । यही अवधिमा ४ हजार ७ सय ४१ नेपाली विद्यार्थीले विदेश पढ्न जान अनुमति लिए । स्नातक (यूजी) देखि स्नातकोत्तर (पीजी) र चिकित्सा शिक्षामा विद्यावारिधिका लागि विदेश जाने नेपालीमध्ये १ हजार ६ सय ७७ जना भारत गएका छन्, जुन कुल संख्याको झन्डै आधा हो । तीमध्ये एमबीबीएस र नर्सिङ अध्ययन गर्न जाने मात्रै साढे १३ सय हाराहारी छन् । यस वर्ष आयोगले सरकारी मेडिकल कलेजहरूमा गत वर्षभन्दा ४ सय १८ सिट वृद्धि गरेको छ । जसले छात्रवृत्तिमा निःशुल्क र विदेशी विद्यार्थीको सिट संख्या स्वतः वृद्धि हुनेछ ।

भर्नाका लागि १८ कात्तिकसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । १४ कात्तिकमा एमबीबीएस र १५ कात्तिकमा बीडीएसको प्रवेश परीक्षा हुनेछ । त्यस्तै, १६ कात्तिकमा बीएस्सी नर्सिङ, १७ कात्तिकमा बीएमएस, बीएनएस र बीफार्मेसीलगायत तथा १८ कात्तिकमा बीपीएच विषयको परीक्षा हुने आयोगले जनाएको छ । सबै परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएका केन्द्रमा सञ्चालन हुनेछन् ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

भारतको मध्य प्रदेशस्थित रेवाका भारतीय जनता पार्टी (भाजपा) सांसद जनार्दन मिश्राले किसानबारे दिएको एउटा अभिव्यक्ति अहिले चर्चामा छ। उनले किसानले वर्षमा तीन महिना मात्रै काम गर्ने र बाँकी नौ महिना ता...

#भारत #मात्रै
Compare →

Related Stories

Education & Youth
Build #2611