प्रधानन्यायाधीशसमेत जोडिएको समाचारपछि बारले आरोपलाई अन्तिम सत्य नमान्दै स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समयबद्ध छानबिनबाट तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ ।
काठमाडौं — नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी सार्वजनिक विवरणबारे निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेको छ ।
बारले न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई सञ्चारमाध्यममा प्रकाशित समाचारमा मात्रै सीमित राख्न नहुने बताएका छन् ।
प्रधानन्यायाधीशलाई समेत जोडेर समाचार प्रकाशित भएपछि यसले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारको भनाइ छ ।
नेपाल बारले सार्वजनिक भएका समाचारमा उल्लेखित आरोपलाई अन्तिम सत्य वा दोष प्रमाणित भएको निष्कर्षका रुपमा लिन नमिल्ने समेत बताएको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाद्धारा जारी विज्ञप्तिमा न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएकाले यस्ता संवेदनशील विषयमा सत्यतथ्य पत्ता लगाउन पारदर्शी प्रक्रिया आवश्यक रहेको उल्लेख छ ।
एशोसिएशनले सार्वजनिक भएका विषयमा निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित सक्षम निकायलाई आग्रह गरेको छ । कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कानुनबमोजिम कारबाही गर्नुपर्ने र आरोप प्रमाणित नभएमा सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा संस्थागत मर्यादा संरक्षण हुने गरी स्पष्टता दिनुपर्ने बारको माग छ ।