राहुल यादवले चार विकेट लिएपछि ११५ रनमा समेटिएको काठमान्डुविरुद्ध जनकपुरले मोइन अलीको ५८ रनको मद्दतमा १७.२ ओभरमै लक्ष्य पूरा गर्यो।
काठमाडौँ — तीव्र बलर राहुल यादवको उत्कृष्ट बलिङ र मोइन अलीले अर्धशतक बनाएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।
राहुलले ४ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.३ ओभरमै १ सय १५ रनमा अलआउट भयो । इंग्ल्यान्डबाट दुई पटक विश्वकप जितिसकेका मोइनले अविजित ५८ रन बनाएपछि जनकपुरले १७.२ ओभरमै लक्ष्य पूरा गरेको थियो ।
ओपनरको रूपमा आएका मोइनले ५१ बलको इनिङ्समा समान ३ चौका र छक्का प्रहार गरे । उनले सैफ हसनसँग तेस्रो विकेटमा ७९ रनको अविजित साझेदारी गरे । हसनले ३९ बल खेली १ चौका र ३ छक्कासहित अविजित ४० रन बनाए ।
ओपनर त्रितराज दास ५ रन बनाई रिपोन मण्डलको बलमा विकेटकिपर स्मित पटेलको सानदार क्याचमा आउट भए । मयन यादव ९ रन बनाई रनआउट भए ।
यसअघि काठमान्डुबाट भीम सार्कीले सर्वाधिक ३३ रन बनाएका थिए । उनले २९ बल खेली ४ चौका प्रहार गरे । उनी ललित राजवंशीको बलमा स्टम्प आउट भए ।
काठमान्डुबाट साम हेजलेट १, हरिशंकर ९ र स्मित पटेल १३ रन बनाएर आउट भए । जनकपुरले ट्यालेन्ट हन्टबाट ल्याएका राहुलले काठमान्डुका दुवै ओपनर हेजलेट र पटेललाई आउट गरेका थिए । त्यसपछि लगातार बलमा काठमान्डुका कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरेका थिए ।
उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । राहुलले उत्कृष्ट रनिङ क्याच लिँदै जहान्दाद खानलाई ५ रनमा पेभेलियन फर्काएका थिए । राशिद खानले १४ बल खेली २ चौकासहित १७ रन बनाए । सुमित महर्जन १०, करण ८ रन बनाई आउट भए । सुमित रनआउट भए ।
राहुलपछि जनकपुरबाट सैफ हसनले ४ ओभरमा ११ रन खर्चेर २ तथा कप्तान हरमित सिंह, ललित र मोइन अलीले १–१ विकेट लिए ।
सूर्यांशु कोइराला र प्रसिद्ध जैसी नेपालको यू–१९ टोलीको बन्द प्रशिक्षणमा परेपछि गोर्खाजले उनीहरूको स्थानमा सुमित महर्जन र हरिशंकर साहलाई खेलाएको थियो । यता व्यक्तिगत कारण स्टार अलराउन्डर जिम्मी निसम नखेलेको कप्तान हरमितले टसका क्रममा बताएका थिए । उनको स्थानमा जनकपुरले बंगलादेशका ओपनर सैफ हसनलाई प्लेइङमा खेलाएको थियो । उनी बुधबार मात्र नेपाल आइपुगेका हुन् ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।