Trending
Prev Story
Next Story

कबड्डी ५ : काश, पटकथा पनि राम्रो भएको भए !

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

रामबाबु गुरुङले जब १२ वर्षअघि ‘कबड्डी’ लाई नेपाली सिनेमा जगतमा प्रविष्ट गराए, तब नेपाली फिल्म धन्य भयो । एकैखाले फिल्मका कारण जिब्रो फेर्न नपाएका दर्शकहरूले त्राण पाए । मौलिक एवम् पृथक् कथाहरूको स्वाद लिन पाए । …

कबड्डी ५ : काश, पटकथा पनि राम्रो भएको भए !

रामबाबु गुरुङले जब १२ वर्षअघि ‘कबड्डी’ लाई नेपाली सिनेमा जगतमा प्रविष्ट गराए, तब नेपाली फिल्म धन्य भयो ।

एकैखाले फिल्मका कारण जिब्रो फेर्न नपाएका दर्शकहरूले त्राण पाए । मौलिक एवम् पृथक् कथाहरूको स्वाद लिन पाए । दयाहाङ राईले भूमिका निभाएको ‘काजी’ पात्र लगभग आदर्श प्रेमीको पर्यायका रूपमा स्थापित भयो । फिल्मबाट केवल काजी मात्र परिचित भएन, उत्तिकै परिचित बने बिके, छन्त्याल, मैया, बमकाजी, झाँक्री… झण्डै-झण्डै सबै चरित्र नै । गुणवत्ता बोकेको फिल्मको विशेषता नै यही हुन जान्छ कि त्यहाँ केवल ‘हिरो’ मात्र होइन, अन्य चरित्र पनि उत्तिकै महत्त्वका साथ गनिन्छन्।

वर्षहरू बित्दै जाँदा दर्शकहरूले आशा राखेका हुँदा हुन्– कबड्डी ४ नै फाइनल म्याच हो र यसपछि कबड्डी शृङ्खलाको साङ्गोपाङ्ग भयो । तर निर्देशक गुरुङले फेरि केही पानाहरू थपिदिए र लेखे– कबड्डी ५ । काजीको प्रेमजीवनको एउटा वृत्त पूरा भइसकेपछि पनि कथाहरू नसकिने रहेछन् । उनले यही तर्कको फेरो समाएर फिल्म बनाए । कात्तिक ६ गतेदेखि काजीका प्रेमबाहेकका रहलपहल कथाहरू हेर्न दर्शकहरू सिनेमाहल गइरहेका छन् ।

फिल्ममा यसपटक काजीको व्यावहारिक जीवनप्रतिका उसका सुझबुझ र निर्णयहरूलाई देखाउन खोजिएको छ । हुन त यसअघिको सिरिजमै प्रेमप्रति काजीका भगीरथी प्रयत्नहरू खुकुलो हुँदै गइरहेका थिए । यसपटक भने ऊ जीवनवृत्तिको चापमा च्यापिएको छ । कुन पेसालाई अँगाल्ने भन्ने प्रश्नमा घोत्लिएको छ । यसमा उसको विहे केन्द्रमा नभएर वृत्ति (पेसा) कारक तत्त्व बन्न गएको छ । अर्थात्, काजीले जीवनदृष्टिमा ठूलो फड्को मारेको छ ।

‘शान्ति मिस’ (मिरुना मगर) को घरपरिवार र काजीको कुरा नमिलेको प्रसङ्गबाट कथा उठेको छ । काजीको अहमतामा आघात पुग्नु कबड्डी सिरिजका कथाहरूमा घुम्तीका रूपमा देखा पर्ने गरेका छन् । यहाँ पनि भेटिन्छ त्यो घुम्ती । काजीको प्रभाव पनि पातलिँदै गइरहेको छ । केबीसी ग्रुपका ‘बीसी’ (बिके र छन्त्याल) अब ‘के’ (काजी) सँग उतिसारो हच्किन छाडेका छन् । ‘बीसी’ लाई विदेशको हावा लाग्न थालेको छ। मुस्ताङ झन् उराठलाग्दो देखिन थालेको छ । बेरोजगारीको पीडाले आहत तुल्याउन थालेको छ । यसबाट नै काजीसँग उनीहरूको फाटो सुरु हुन थाल्छ ।

कबड्डी सिरिज २ बाट हराएकी मैया ( रिश्मा गुरुङ ) यसपटक पर्दामा देखिन्छिन् । आफ्ना अज्ञात दुःख बिसाउन आएकी मैयाले द्वन्द्व पनि बोकेर ल्याउँछिन् । दुःख अनिवार्य र शाश्वत सत्य हो । मैयाको दुःख बिसाउन कसैले बोकिदिनुपर्ने हुन्छ । त्यो दुःख काजीले बोक्ने हुँदा उसको ‘बीसी’ र घरपरिवारसँगको समीकरणमा चिरा देखिन थाल्छन् ।

अनि नयाँ छ विपिन कार्कीको उपस्थिति ।

अभिनय पक्ष सबल भएकै कारण अझैसम्म यसले दर्शकदीर्घालाई कायम राख्न सकेको छ । समयसँगै प्रेमीमा आउने परिवर्तनलाई दयाहाङले राम्रोसँग देखाउन सकेका छन् । त्यसका साथै, उनको जुन चरम वैयक्तिक चरित्र छ, त्यसलाई पनि परित्याग गरेका छैनन् । यस अर्थमा, समयको बहाव, चरित्रको लय र स्थाणु प्रवृत्तिलाई सन्तुलनमा राखेका छन् । सोही कुरा विजय बराल (बीके ) र बुद्धि तामाङ ( छन्त्याल ) को अभिनयमा पनि लागू हुन्छ ।

सबल छन् फिल्मका संवादहरू । ठोकेरै भन्दा, फिल्मलाई पट्यारलाग्दो बन्न नदिएको कुरा नै संवाद हो । संवादका सन्दर्भ, आञ्चलिकता, लम्बाइ, गहिराइ, ध्वनि लगायतका सबै पक्षहरू पूर्ण रूपमा दोषरहित छन् । पहिलो सिरिजदेखि नै कबड्डीले आफ्नो संवादको लयमा भत्कोस ल्याउन दिएको छैन ।

छायाङ्कन पनि सुन्दर छ । दृश्यहरूले मूल कथाबाहेक धेरै कुरा बोलेका छन् । मुस्ताङमा भएको बेरोजगारीको समस्यालाई त्यहाँको मुडुलिएको भू-बनावट, निर्जनताको तितो अनुभूति र सन्नाटाहरूमा लुकेका निराशालाई सटहरूले न्याय गरेका छन् । साथै थिमलाई छायांकनले बिर्सेको छैन ।

कालीप्रसाद बाँस्कोटाको सङ्गीतको अनन्य उपस्थिति छ । कथाबाट निकालेर उनको सङ्गीत सुन्दा जति मीठो लाग्छ, कथाको परिधिमा त्यो मिठास झन् थपिन्छ ।

निर्देशक गुरुङले हाकाहाकी भनेका छन् कि उनले यो फिल्म पैसा कमाउन बनाएका हुन् । त्यसकारण फितला कुराहरू नहुने त कुरै भएन । विपिन कार्कीको चरित्रले भने फिल्मको सौन्दर्यमै क्षय गराएको छ । कथामा उनी अनावश्यक अतिरिक्त बन्न पुगेका छन् । उनको बारेमा एक वाक्यमा भन्नुपर्दा– फिल्ममा विपिन राख्नु र नराख्नुले कुनै फरक पार्दैन । यद्यपि, विपिनले आफ्नो चरित्रमा गरेको मिहिनेत भने देखिन्छ।

पटकथा असाध्यै कमसल छ । केवल अभिनय र संवादको वजनले यसलाई थेगेको छ । यो समस्या सुरुबाटै देखिन्छ । काजी र शान्ति मिसको सम्बन्धमा जस्ता प्रतिकूलता आएका छन्, ती अस्वाभाविक छन् । यदि त्यो प्रतिकूलतालाई स्वाभाविक माने पनि शान्ति मिसको उक्त प्रतिकूलताप्रतिको प्रतिक्रिया झन् अस्वाभाविक छ । शान्ति मिसको ‘चरित्र-विसर्जन’ झन् अपत्यारिलो देखिन्छ ।

त्यसपछि विपिनको पदार्पणले कथा झन् कमसल बन्न गएको छ । मैया र काजीको काठमाडौँ प्रत्यागमनले कथामा धेरै मोड लिएको छ । कथामा संयोग आवश्यक कुरा हो, तर निरन्तर संयोग जुर्नु स्वयं नै संयोगत्वभन्दा टाढाको कुरा हो ।

संक्षेपमा, पाइलाभन्दा घुम्ती धेरै भएको पटकथा नै कबड्डी ५ को खास दोष हो ।

दर्शकको प्रेम पाएर धन्य भएको कबड्डी ५ पहिलो सिरिज कबड्डीको औसत संस्करण हो ।

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#पाए #दर्शक
Compare →
Hamro Patro News
4d ago
बक्स अफिसमा ‘गौँथली’ को दबदबा, ‘कबड्डी ५’ दोस्रो स्थानमा

बक्स अफिसमा ‘गौँथली’ को दबदबा, ‘कबड्डी ५’ दोस्रो स्थानमा

काठमाडौं– नेपाली फिल्मको बक्स अफिसमा पछिल्लो समय प्रदर्शनरत फिल्महरूबीच प्रतिस्पर्धा देखिएको छ । सार्वजनिक पछिल्लो बक्स अफिस रिपोर्टअनुसार व्यापार र टिकट बिक्री दुवैमा चलचित्र ‘गौँथली’ सबैभन्दा अगा...

#फिल्म #कबड्डी
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611