प्रशासनले लामो दूरीको यात्रा नगर्न, राति यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न र जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।
पाँचथर — बंगालको खाडीमा विकसित ‘अर्नव’ चक्रवातको प्रभावले पाँचथरमा पनि भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक ११, १२ र १३ गते देशका अधिकांश भागमा वर्षाको प्रभाव पर्नेछ । यस अवधिमा केही स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले प्रशासनले पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सार्वजनिक सूचना जारी गर्दै भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, चट्याङ, हावाहुरी, कटान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएका छन् । सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक तयारी अवस्थामा रहन उनको आग्रह छ ।
दाहालद्वारा हस्ताक्षरित सूचनामा उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न र रातिको समयमा यात्रा गर्नुपरे सुरक्षा निकायसँग समन्वय गरेर मात्र अघि बढ्न अनुरोध गरिएको छ ।
हावाहुरी, चट्याङ तथा भारी वर्षाका बेला सवारी आवागमन बन्द हुन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।
कात्तिक ११, १२ र १३ गते यसअघि पदयात्रा तथा धार्मिक यात्रामा निस्किएकाहरूलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । साथै, पाकेको अन्नबाली भित्र्याउने लगायतका कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न अनुरोध गरिएको छ ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा सम्बन्धित निकायले डोजर, एक्साभेटर र लोडरजस्ता साधन तयारी अवस्थामा राख्नुपर्ने प्रशासनको भनाइ छ । बाढी आउन सक्ने खोला, जोखिमयुक्त बस्ती तथा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गर्नसमेत आग्रह गरिएको छ ।
स्थानीय तहका पदाधिकारी, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला संस्थालाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्रशासनले अनुरोध गरेको छ ।
भारी वर्षाका कारण जोखिममा पर्न सक्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको प्रजिअ दाहालले बताए ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।