असोजको वर्षा, बाढीपहिरो र हिमपातले तीन साता प्रभावित पदमार्गमा मौसम खुलेपछि दसैं अवधिमा ५ हजार ३८४ विदेशी पर्यटक पुगे।
लमजुङ — असोज दोस्रो साताको वर्षा, बाढीपहिरो र हिमपातले थलिएको अन्नपूर्ण सर्किट (चक्रिय अन्नपूर्ण पदमार्ग) मा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ ।
पदमार्ग र सडकमा क्षति पुग्दा करिब तीन सातासम्म प्रभावित बनेको पर्यटक आगमन मौसम अनुकूल भएसँगै लयमा फर्किएको छ ।
पर्यटक आगमन ठप्पजस्तै बनेको पदमार्गमा अक्टोबर १३ मा एकैदिन ५ सय ५२ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मनाङको धारापानीस्थित पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रमा ‘चेकइन’ भए । यो यस वर्षकै सबैभन्दा बढी एकैदिन भित्रिने पर्यटकको संख्या हो । अक्टोबर १४ मा ४ सय ७३ र अक्टोबर १५ मा ४ सय ४३ पर्यटक भित्रिएको केन्द्रले जनाएको छ ।
दसैं अवधिमा मात्रै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म (अक्टोबर ११ देखि २५) ५ हजार ३ सय ८४ विदेशी पर्यटकले यो पदमार्गको यात्रा गरेका छन् । यो संख्या गत वर्ष दसैं समयको तुलनामा ७ सय ६९ ले बढी हो । गत वर्ष दसैं अवधिमा ४ हजार ६ सय १५ पर्यटकले चक्रिय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । यस वर्ष दसैं अवधिमा भित्रिनेमा ३ हजार २ सय ८८ पुरुष, २ हजार ९४ महिला र लिंग नखुलेका २ जना छन् ।
एक्याप धारापानीस्थित पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र प्रमुख भूपेन्द्र गुरुङका अनुसार पछिल्लो समय पर्यटक आगमन उत्साहजनक रूपमा बढेको छ । ‘बाढीपहिरोपछि पर्यटक आगमन रोकियो । आएका पर्यटक पनि फर्किए,’ उनले भने, ‘मौसम अनुकूल हुनु र पदमार्ग सञ्चालनमा आएपछि पर्यटक आगमन सहज बन्दै गयो ।’
एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार चक्रिय अन्नपूर्ण पदमार्गको पर्यटकीय सिजन सुरु हुने बेला नै प्राकृतिक विपत्तिले यात्रा प्रभावित बनाएको थियो । बाढीपहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध भएपछि कतिपय पर्यटकले अन्नपूर्ण पदमार्ग रोजेको उनको भनाइ छ । पदयात्रा गर्ने प्रवृत्ति बढ्दै जानु पनि पर्यटक आगमन वृद्धिको एउटा कारण रहेको उनले बताए ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा हिमपात भएपछि पदमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । चामेमाथिको क्षेत्र भ्राताङसहित तल्लो मनाङमा सडक र पदमार्ग बगाएको थियो । असोज ९, १० र ११ गते माथिल्लो मनाङस्थित एक्यापको कार्यालयमा पर्यटक ‘चेकइन’ समेत भएन ।
बाढीपहिरो र हिमपातका कारण पर्यटक आगमन करिब तीन सातासम्म प्रभावित बनेकोमा अहिले बिस्तारै सुधार हुँदै गएको एक्याप मनाङ प्रमुख भुजेलले बताए ।
उनका अनुसार पर्यटकीय सिजन सुरु हुनासाथ आएको विपत्तिले कतिपय पर्यटकले यात्रा छोट्याएर फर्किनुपरेको थियो । बाढीपहिरो र हिमपात सुरु भएको एक साताभित्रै ३ सय ७९ विदेशी पर्यटक मनाङबाट फर्किएका थिए । अक्टोबर १ मा मात्रै १ सय ४९ पर्यटक मनाङबाट फर्किएका थिए ।
चामेको ट्रस ब्रिजमा अस्थायी संरचना बनाएर आवागमन सहज पारिएपछि माथिल्लो मनाङसम्म सवारीसाधन र पर्यटक पुग्ने अवस्था बनेको थियो । माथिल्लो मनाङदेखि थोराङ्ला क्षेत्र र तिलिचो क्षेत्रमा सुरक्षाकर्मी, एक्याप र होटल व्यवसायीसमेतले हिउँ हटाउनुका साथै पदमार्ग मर्मत गरेका थिए । मौसम खुल्दै जानु र पदमार्गमा आवागमन सहज बनेपछि पर्यटकको चहलपहल बढेको उनले बताए ।
एक्यापका अनुसार जनवरीदेखि अक्टोबर २७ सम्म चक्रिय अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकको संख्या ३० हजार १ सय ३५ पुगेको छ । तीमध्ये १८ हजार ८ सय २० पुरुष, ११ हजार ३ सय ६ महिला र लिंग नखुलेका ९ जना पर्यटक धारापानीमा ‘चेकइन’ भएका छन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट सुरु हुने अन्नपूर्ण सर्किट मनाङ हुँदै ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ र म्याग्दी हुँदै पोखरा पुगेर टुंगिन्छ । केही पर्यटक तिलिचो ताल पुगेर फर्किन्छन् । फर्किएकामध्ये पनि कोही थोराङ्ला पास हुँदै मुस्ताङतर्फ जान्छन् । हिमाली भूगोल, प्राकृतिक दृश्य, स्थानीय संस्कृति र उच्च हिमाली भञ्ज्याङ यस पदमार्गका मुख्य आकर्षण हुन् ।
पहिले यो पदमार्गको यात्रा पूरा गर्न करिब २१ दिन लाग्थ्यो । तर, माथिल्लो मनाङ र मुस्ताङको मुक्तिनाथसम्मै सडक पुगेपछि यात्रा अवधि छोटिएर एक सातादेखि १० दिनसम्ममा सीमित भएको छ । सडक पहुँच विस्तारले यात्रा अवधि छोट्याए पनि अन्नपूर्ण पदमार्ग विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।