Trending
Prev Story
Next Story

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले

Ekantipur •
October 28, 2026 • 05:02 PM
1
1 reads 0 reactions

मंसिरमा काठमाडौंमा हुने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसद सहभागी हुनेछन् ।

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले

मंसिरमा काठमाडौंमा हुने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसद सहभागी हुनेछन् ।

काठमाडौँ — स्थानीय तहको आसन्न निर्वाचनलाई लक्ष्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन एमालेले आगामी २ र ३ मंसिरमा काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसदहरू सहभागी हुनेछन् ।

पार्टीभित्र नेतृत्व पुनर्गठन र नीतिगत बहसबाट उत्पन्न अन्तरसंघर्षलाई थाती राख्दै एमाले स्थानीय तहको निर्वाचनको तयारीमा लागेको हो । राष्ट्रिय भेलामा पार्टी कमिटीहरूलाई एकताबद्ध र क्रियाशील बनाउने तथा निर्वाचनका लागि कार्ययोजना तय गर्ने एमालेको तयारी छ । भेलामा करिब तीन हजार तीन सय नेता सहभागी हुनेछन् ।

असोज पहिलो साताको केन्द्रीय कमिटी बैठकले गरेका प्रमुख निर्णयलाई भेलामार्फत कार्यान्वयनमा लैजाने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठकअघि उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण बिष्ट र रघु पन्त, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईले पार्टी र नेतृत्व पुनर्गठनका मुद्दा उठाएका थिए । तर बैठकले उक्त मुद्दालाई स्थगन गरेको छ ।

एमाले सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार मुलुकको जटिल राजनीतिक परिस्थितिमा परिचालित हुन सचेत गराउने पनि भेलाको मुख्य उद्देश्य रहेको छ । ‘केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमालेलाई एउटै लयमा हिँडाउने गरी राष्ट्रिय भेलाले कार्ययोजना बनाउनेछ,’ उनले भने । भेलामा एमालेको सक्रिय राजनीतिमा आएकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई औपचारिक रूपमा जिम्मेवारीसहित अघि सार्ने तयारी छ । उनले अध्यक्ष केपी शर्मा ओलीपछि ‘विशेष सम्बोधन’ गर्ने व्यवस्था मिलाइँदै छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भेलामा तीन वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीले राजनीतिक परिस्थिति र पार्टीको दिशानिर्देशसम्बन्धी, उपाध्यक्ष विष्णु पौडेलले विगतमा एमाले नेतृत्वको सरकारले गरेका कामसम्बन्धी तथा महासचिव शंकर पोखरेलले पार्टीको सुदृढीकरण, शुद्धीकरण र स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘भेलामा सहभागीले ती कार्यपत्रमाथि सामूहिक छलफल गरेपछि स्थानीय तहको निर्वाचनका लागि कार्ययोजना बनाइनेछ,’ आचार्यले भने ।

भेलापछि २८ मंसिरमा वडा र ४ पुसमा पालिका अधिवेशन गर्ने एमालेको निर्णय छ । केन्द्रीय कमिटीले गत वर्ष भदौका घटनाको सत्य, लोकतान्त्रिक प्रक्रियामा परेको चोटको सत्य, चुनावी वातावरणको सत्यको प्रचार तथा पार्टीमाथि लगाइएका आरोपको खण्डन गर्दै आफ्नै कमजोरीको स्वीकारोक्ति गर्न निर्देशन दिइसकेको छ । ‘यी सबै कुरा स्पष्ट भाषामा जनतासम्म पुर्‍याउनुपर्छ,’ एमालेको निर्देशनमा भनिएको छ, ‘प्रत्येक वडामा घरदैलो र खुला छलफल हुनुपर्छ ।’

एमालेले प्रतिपक्ष केवल संसद्मा बोल्ने नभई जनताको असन्तोषलाई नीति, प्रश्न र संघर्षमा बदल्ने राजनीतिक शक्ति बनाउने अभियान थाल्ने जनाएको छ । ‘पार्टीको शक्ति सदस्य संख्या मात्र होइन,’ एमालेले भनेको छ, ‘सदस्य सक्रिय छन् कि छैनन्, जनतासँग जोडिएका छन् कि छैनन्, समस्या समाधानमा छन् कि छैनन्, यही मुख्य कुरा हो । प्रत्येक कमिटीले मासिक कामको मापन दिनुपर्छ । कति घरमा पुगे ? कति जनसुनुवाइ गरे ? कति स्थानीय समस्या उठाए ? कति युवा जोडे ? एमाले अब नतिजा नाप्ने संगठन बन्नुपर्छ ।’

असोज पहिलो साताको बैठकपछि एमालेले फरक मत राख्नेलाई कडाइ गर्दै लगेको छ । ‘आन्तरिक अनुशासन र खुला संवादको सन्तुलन हो । असहमति पार्टीको शक्ति हो, पार्टीभित्र नियमित खुला बहस हुनुपर्छ । आलोचना सुन्ने व्यवस्था हुनुपर्छ,’ एमालेले भनेको छ, ‘तर सार्वजनिक रूपमा पार्टीको मूल रेखा तोड्ने, अपुष्ट आरोप फैलाउने, विपक्षीको न्यारेटिभ बलियो बनाउने र संगठनको मनोबल गिराउने गतिविधि अनुशासनको विषय हुनुपर्छ ।’

एमालेले पार्टीमा हुर्किंदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध र सुदृढ संगठन निर्माण गर्ने जनाएको छ । ‘पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृत्तिमा पूर्ण रूपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनःस्थापित गर्ने,’ एमालेको निर्देशनमा भनिएको छ, ‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गरे अथवा गुटबन्दी गरे वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने । त्यस्तो क्रियाकलाप गरेको पाइए कारबाहीको विषय बनाउने र कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने ।’

एमालेले भेलापछि वैकल्पिक शासनको खाका तयार पार्ने जनाएको छ । ‘सरकारको आलोचना गरेर मात्र एमालेले फेरि जनताको विश्वास जित्न सक्दैन । जनताले सोध्नेछन्, तपाईंहरूको एजेन्डा के हो ? शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, वातावरण आदि क्षेत्रका विषयमा नीति निर्माणमा विभागहरूको भूमिका प्रभावकारी बनाउँदै जानुपर्छ,’ एमालेले भनेको छ, ‘प्रतिपक्षको अर्थ वैकल्पिक सरकारको तयारी हो ।’

गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन् । ...

#भेला #काठमाडौं #निर्वाचन
Compare →
Nagarik News
15h ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।

#भेला #एमा
Compare →
Bizshala
13h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#भेला #काठमाडौं
Compare →
Onlinekhabar
12h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#मंसिर
Compare →

Related Stories

Politics & Governance
Build #2612