दर्शकको चापका कारण फोन र डेटा सेवामा समस्या आएपछि टेलिकमले भ्वाइस तथा डेटा व्यवस्थापनका लागि मैदान परिसरमा विशेष पूर्वाधार थपेको हो ।
काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा फोन नलाग्ने र नेट नचल्ने समस्या आएको गुनासो आएका छन् । उक्त समस्या सम्बोधनका लागि नेपाल टेलिकमले मैदान परिसरमा १८ वटा स्मल सेल जडान गरेर नेटवर्क व्यवस्थापन गरिरहेको प्रतिक्रिया दिएको छ ।
एनपीएलको टेलिकम पार्टनरसमेत रहेको नेपाल टेलिकमले पछिल्ला तीन दिनमा नेटवर्क सुदृढ बनाएको जनाएको छ । ठूलो संख्यामा दर्शक उपस्थित हुने भएकाले सामान्य ट्राफिक क्षमताले नभ्याउने हुँदा यो विशेष पूर्वाधार थप गरिएको टेलिकमका सहायक प्रवक्ता प्रक्षेत थापाले जानकारी दिए ।
‘एनपीएलका लागि मात्रै लक्षित गरेर नयाँ उपकरण, एन्टिना, लाइसेन्स र आवश्यक प्रणाली थपिएका छन्,’ उनले भने, ‘मैदानभित्र भीडको चाप, माग र प्रयोगकर्ताको घनत्वअनुसार उपयुक्त स्थान चयन गरी १८ वटा स्मल सेल राखिएका छन् । यी स्मल सेलहरूबाट भ्वाइस र डेटा दुवै सेवा उपलब्ध गराइएको छ ।’ प्रतियोगिता शुरु भएदेखि नै दैनिक रूपमा ट्राफिक लोडको विश्लेषण गर्दै उपकरणको दिशा र पोजिसन ट्युनिङ गर्ने काम भइरहेको उनले बताए ।
पहिलो दिनको खेलका क्रममा उच्च चापका कारण केही ‘फ्लिकरिङ’ भएको र डेटामा समस्या देखिए पनि प्राविधिक टोलीले रातिसम्म खटेर नेटवर्क बुस्ट र अप्टिमाइजेसन गरेको थापाले बताए । ‘लगातारको ट्युनिङपछि हाल नेटवर्कको समस्या धेरै हदसम्म समाधान भइसकेको छ,’ उनले भने, ‘ग्राहकका गुनासो पनि कम भइरहेका छन् ।’
नेटवर्क तथा सेवा व्यवस्थापनका लागि टेलिकमले मैदानमा छुट्टाछुट्टै टोली खटाएको जनाएको छ । मुख्य भ्वाइस तथा डेटा वायरलेस नेटवर्क व्यवस्थापनका लागि चार जनाको डेडिकेटेड टोली खटाइएको छ । यसका साथै विद्युत पावर व्यवस्थापन, फाइबर ट्रान्समिसन तथा इन्स्टलेसन र बिजनेस प्रमोसनका लागि पनि छुट्टाछुट्टै टोलीहरू खटिएका छन् ।
नेपाल टेलिकमले स्मल सेलहरूमा फाइबर पुर्याएर सेवा वितरण गरेको जनाएको छ । मैदान परिसरमा रहेको टेलिकमको स्टलमार्फत दर्शकलाई आवश्यक सहयोग, सुझाव तथा गुनासो सुनुवाइ भइरहेको थापाले बताए । साथै, त्यहीँबाट टेलिकमका नयाँ सेवा माग पोर्टल तथा नियमित बिक्रीवितरणसमेत सञ्चालन गरिएको उनको भनाइ छ ।
नेपाल टेलिकमले एनपीएललाई लक्षित गरेर ‘एनपीएल अनलिमिटेड प्याकेज’ पनि सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत टेलिकमका प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताले ५ सय ९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी ३३३ मिनेल अल-नेटवर्क भ्वाइस कल, प्रतिदिन ८ जीबी डेटा पाउनेछन् । कात्तिक १० देखि मंसिर ५ सम्म यो प्याकेजको म्याद रहनेछ ।