आत्मकथामा आफ्नो बुबाआमा तिब्बतबाट आएको उल्लेख भएकाले उनले कसरी वंशजका आधारमा नागरिकता लिइन् भन्ने प्रश्न उठेको छ । नागरिकताबारे २०७६ सालमै काठमाडौं प्रहरीमा निवेदन परे पनि अनुसन्धान अघि बढेको थिएन । अहिले पनि प्रहरीले कुनै उजुरी नपरेको बताएको छ ।
काठमाडौँ — लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको नियुक्ति पछि उनको नागरिकता विवाद फेरि सतहमा आएको छ । ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेपछि उनको नागरिकताबारे समेत प्रश्न उठेको हो ।
डोल्माले कान्छाबहादुर लामालाई बुबा उल्लेख गरेर १८ जेठ २०४६ मा वंशजको आधारमा नागरिकता लिएकी थिइन् । ‘छोइङ डोल्मा मुक्तान लामा’को नाममा ३१४ नम्बरको नागरिकता लिएकी उनले २४ कात्तिक २०६६ मा फेरि प्रतिलिपिसमेत निकालेकी थिइन् ।
तर, २०७६ सालको पुसमा डोल्माको नागरिकतामा बुबा भनिएका लामाका छोरा प्रमान सिंह लामाले २०४६ सालमा आनी छोइङले कान्छाबहादुर लामाको नामबाट नेपाली नागरिकता लिएको भन्ने कुरा सुन्दा अचम्म लागेको भन्दै छानबिनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठाडो उजुरी दिएका थिए ।
तर, काठमाडौं प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट डोल्माको नागरिकताको अभिलेख मागेको केही समयमै अनुसन्धान रोकिएको थियो । काठमाडौं प्रहरीमा त्यसबेला काम गरेका एक अधिकृतको दाबीमा, त्यसबेला माथिल्लो तहबाट त्यो छानबिन अघि नबढाउन आदेश आएपछि अनुसन्धान त्यत्तिकै अलपत्र परेको थियो ।
‘काठमाडौं जिल्ला चपली भद्रकाली वडा नम्बर ६ मा बस्ने कान्छाबहादुर लामाको २०३९ सालमा परलोक हुनुभएको र म कान्छाबहादुर लामाको छोरा प्रमान सिंह लामा (मगईं) लाई २०४६ सालमा आनी छोइङ डोल्माले कान्छाबहादुर लामाको नामबाट नागरिकता लिएको भन्ने कुरा सुन्दा मलाई नै अचम्म लागेको छ,’ उजुरीमा भनिएको छ, ‘उहाँले के कसरी, केका आधारमा नागरिकता लिनुभयो, यसबारेमा मलाई केही पनि थाहा नभएको कुरा जानकारी गराउँदै र उहाँसँग मेरो नाता सम्बन्ध केही पनि नरहेको म प्रमान सिंह लामा (मगईं) जानकारी गराउँदछु ।’
त्यसबेला यो निवेदनलाई आधार बना एर काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रहरी निरीक्षक यमलाल बन्जाडेले अनुसन्धानका सिलसिलामा बुझ्नुपर्ने भएको भन्दै नागरिकताको प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेका थिए । १३ पुस २०७६ मा दिएको जवाफमा प्रशासनले ‘प्रतिलिपि नागरिकताको फोटोकपी कार्यालयमा नरहने’ भन्दै नागरिकता जारी गर्दाको अभिलेख रजिस्टरको फोटोकपी नै पठाइदिएको थियो । तर, पछि यो छानबिन अघि बढेको थिएन ।
अहिले लुम्बिनी विकास कोषमा नियुक्तिपछि यो विवाद फेरि सतहमा आएको छ । र, यतिबेला उनले कसरी वंशजको आधारमा नागरिकता पाइन् भन्ने प्रश्न उठिरहेको छ । सन् २०११ मा पहिलो पटक प्रकाशित उनको ‘फूलको आँखामा’ नामक आत्मकथामा बुबाआमा तिब्बतबाट आएको भन्ने उल्लेख भएकाले उनले कसरी वंशजको आधारमा नागरिकता लिइन् भन्ने प्रश्न उठेको हो । पहिले फ्रान्सेली भाषामा लिखित र पछि नेपालीमा अनूदित पुस्तकमा उनले आफू काठमाडौंको उत्तरपूर्वी बस्ती बौद्धमा जन्मिएको भनेकी छन् । यो ठाउँ ‘भोटबाट बाहिरिएकाहरूको नेपालस्थित सानो संसार प्रतीत हुने’ भनिएको छ भने बुबाआमा १९५० को दशकको मध्यतिर थातथलो छाडेर आएको उल्लेख छ ।
‘तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिस्टहरूले आफूसामु नतमस्तक नहुनेहरूलाई मार्न र थुन्न सुरु गरेको बेला थियो त्यो,’ पुस्तकमा भनिएको छ, ‘बाआमा पूर्वतर्फ पर्ने खाम क्षेत्रबाट आउनुभएको भए पनि उहाँहरू बेग्लाबेग्लै गाउँका हुनुहुन्थ्यो ।’ आफन्तसहित बुबाआमा पहिले भारत पुगेको र त्यहीँ दुई जनाको भेट भएको उनले भनेकी छन् ।
आफ्नो आत्मकथामा नै बुबाआमा तिब्बतबाट आएको भनिसकेपछि डोल्माले कसरी वंशजको आधारमा नागरिकता पाइन् भन्ने प्रश्न उठ्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । ‘उहाँको समाजमा राम्रो योगदान होला, राम्रो गायिका पनि हुनुहुन्छ होला । तर, सार्वजनिक पदमा नियुक्तिको आधार त्यो हुँदैन,’ त्रिपाठीले कान्तिपुरसँग भने, ‘आफैंले तिब्बतबाट बुबाआमा आएको भनेर आत्मकथामा लेखिसकेपछि भोलि मुद्दा चल्यो भने त्यो ठूलो प्रमाणका रूपमा अदालतले ग्रहण गर्ने अवस्था बन्छ ।’
यत्तिका प्रश्न उठिसकेपछि सरकारले समेत पहिले प्रश्नको जवाफ दिनुपर्ने भन्दै उनले बाहिर उठेका प्रश्नको निरूपण नगरी सार्वजनिक पदमा नियुक्त हुन नसक्ने बताए । ‘वंशजको आधारमा नागरिकता भनेको बाबुआमाको नेपालमा कैयौं पुस्तादेखिको निरन्तरता हुनुपर्यो,’ उनले भने । सार्वजनिक पद ग्रहण गर्न कोही पनि पूर्ण रूपमा नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्ने उनले बताए ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाहिँ डोल्माको सन्दर्भमा अहिलेसम्म जाहेरी नआएको बताए । ‘अहिलेसम्म जाहेरी फेला परेको छैन,’ उनले कान्तिपुरसँग भने । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि नागरिकताको विषयमा सञ्चारमाध्यममा आएकै भरमा अनुसन्धान गर्ने भन्ने नहुने बताए । उनले भने, ‘मिडियामा आएकै भरमा हामीले अनुसन्धान गर्ने भन्ने हुँदैन । अहिले त्यो विषयमा हामी प्रवेश गरेका छैनौं ।
डोल्माले चाहिँ नागरिकताबारे उठेको प्रश्नको जवाफ दिन चाहिनन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा चाहिँ उनले आफूलाई नागरिकता, सम्पत्ति शुद्धीकरणजस्ता अनावश्यक आरोप लगाएर बदनाम गर्न खोजिएको बताएकी थिइन् ।
‘मलाई आपराधिक छविको भनेर बनाउन खोजिएको छ । म चोखो छु, यदि मेरो हृदयमा कुनै खोट छैन, देशप्रति कुनै गद्दारी गरेको छैन भन्नेमा म स्पष्ट छु,’ उनले भनिन् । डोल्माले आफ्नो ५५ वर्षको उमेरसम्म धेरै ख्याति कमाएको भन्दै जुनसुकै देशमा गएर आफूले त्यो देशको नागरिक हुन चाहेमा सजिलै पाउने अवस्था रहेको समेत भनेकी छन् । ‘म भनिहालूँ, म यो देशको सेवा गर्छु । म यो देशमा बसेर साधना गर्छु । म बुद्ध जन्मेको पुण्यभूमिमा जन्मिन पाएको छु, मेरो सौभाग्य हो,’ उनले थपिन् ।
यता डोल्माको नियुक्ति बदर गर्न माग गर्दै गएको सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको थियो भने लुम्बिनीमा मंगलबार पर्यटनमन्त्री खडक राज पौडेलको पुत्ला जलाइएको थियो । रुपन्देहीमा प्रहरीले विरोधमा संलग्न लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँ र वाजिउद्दिन मुसलमानलाई पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप प्रहरीले लगाएको थियो । खाँले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझ्ने स्वच्छ छविको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए । उनले डोल्माको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे उठेका प्रश्नको समेत निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।