पछिल्लो समय सेयर बजार लगातार रुपमा बढी रहेको छ । दशैँ अघिका अन्तिम दिनहरुमा सामान्य अंकले भए बजार बढेर कारोबार बन्द भएको थियो । परिसूचक २५०० को विन्दुमा नेप्सेमा दशैँ अघि नै बजार २६०० विन्दुमा फर्किएको थियो ।
दशैँ पछिका तीन दिन कारोबार दिनमध्ये बजार दुई दिन बढेर बन्द भएको छ भने एक दिन घटेको छ । दशैँ अघि र पछि गरेर पछिल्ला १३ करोबार दिनमा नेप्से परिसूचकमा करिब १०० अंकको वृद्धि देखिएको छ । असोज १९ गतेको कारोबार दिनको तुलनामा कात्तिक ११ गते नेप्से परिसूचक ९७.३ अंकले बढेको छ । यो अवधिमा कारोबार पनि बढेको छ । असोज १९ गतेको तुलनामा कात्तिक ११ गते बजारमा ४ अर्ब भन्दा बढीले कारोबार रकम बढेको छ ।
असोज १९ गते २५६६.७६ विन्दुमा रहेको नेप्से परिसूचक बुधबार (आज) परिसूचक २६६४.०६ विन्दुमा पुगेको छ । असोज १९ गते ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँको कारोबार भएको बजारमा आज ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँको कारोबार भएको छ । पछिल्ला १३ कारोबारमध्ये सेयर बजार १० कारोबार दिन बजार बढेको छ । त्यस्तै ३ कारोबार दिन भने बजार घटेको छ । दशैँ अघि र अहिलेको बढाइ देख्दा पुँजी बजार सकारात्मक नै रुपमा अघि बढ्ने र तिहार पछि सम्म पनि बजार बढ्ने अनुमान गर्न सकिने लगानीकर्ता जगन्नाथ ढुंगेलको भनाइ छ । उनले कारोबार पनि बढ्को र परिसूचक पनि बढेकाले यसलाई सकारात्मक मान्नु पर्ने बताए । ‘दशैँ अघि पनि ७ दिन बजार बढेको थियो । दशैँ पछिको पहिलो दिन सामान्य घटे पनि आजको वृद्धिले बजारमा सकारात्मक ऊर्जा थपेको छ,’ उनले भने ।
थोरै कारोबारमा कसैले बढाएको अवस्था अहिले नरहेको ढुंगेल बताउँछन् । यसरी हेर्दा बजार बढ्ने नै देखिने उनको भनाइ छ । दशैँको मुखैमा किन्ने र तिहार पछि बिक्री गर्ने इतिहास नै रहेको उनले बताए । पहिले अक्टोबरमा बजार घट्ने र मध्य नोभेम्बरबाट बजार बढ्ने गरेको उनले सुनाए । तिहार अघि केही दिन घटेपनि बजार तिहार पछि बजार बढेर बिक्री गर्ने मौका दिन्छ भन्ने अनुमान उनको छ । अहिलेको हरियोले बजारमा केही आशा देखाएको भए पनि बजार माथिल्लो विन्दुमा पुग्ने आधार नदेखिएको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल बताउँछन् । कम्पनीको ग्राथ नभएसम्मका लागि केही हरियालीले बजारमा ठूलो प्रभाव नपर्ने उनको भनाइ छ । ‘अहिलेको हरियालीले बजारमा केही सकारात्मक असर पार्छ । तर, बजार माथिल्लो विन्दुमा टिक्न सक्छ कि सक्दैन भन्ने मुख्य विषय हो,’ उनले भने । अहिलेको अवस्थामा बजार २७०० को विन्दुमा टिक्न सक्दा त्यो नै ठूलो उपलब्धि हुने उनले बताए ।
लगानीकर्ताहरुले भनेको जस्तो माथिल्लो विन्दुमा बजार रोकिन सकेन भने यो क्षणिक नै हुने निश्चित छ । यदि बजारका लागि आवश्यक पर्ने नीतिहरुमा सुधार र लगानीकर्ताको मनोबल बढाउन सकियो भने बजारले गति लिन सक्ने देखिन्छ । होइन भने केही दिनको लागि बढेको बजार फेरि पुरानै रुपमा घटेर २५०० विन्दुमा झर्नलाई धेरै समय लाग्दैन ।