सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् ।
दसैं–तिहार मनाउन गाउँ फर्किनेहरूका लागि आफन्तसँगको भेटघाट र पारिवारिक जमघटसँगै गाउँठाउँका पर्यटकीय गन्तव्य घुम्ने अवसर पनि बनेको छ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल बढेको छ । गाउँ फर्किएका कतिपयले घरपरिवारसँग भेटघाट गर्ने र आफन्तसँग रमाइलो गर्ने योजनासँगै रामारोशन घुम्ने योजना पनि बनाएर आउने गरेका छन् ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । प्रकृतिको अनुपम छटामा रमाउन, साथीभाइसँग समय बिताउन र परिवारसँग घुमफिर गर्न चाहनेहरूका लागि रामारोशन आकर्षक गन्तव्य बन्दै गएको छ ।
रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकका अनुसार दसैं मनाउन गाउँ फर्किएका कतिपयले रामारोशन पुग्ने योजना बनाएरै आउने गरेका छन् । ‘दसैंका लागि गाउँ आएकाहरू रामारोशन एकपटक पुग्नैपर्छ भन्ने योजना बनाएर आउँछन् । रामारोशनमा माहोल एकदमै छ । पारिवारिक रमाइलोका लागि आउनेको संख्या बढेको छ,’ उनले भने, ‘गाउँ फर्किएकाहरू साथीभाइसँग समूह बनाएर तथा परिवारसहित रामारोशन पुग्ने गरेका छन् । लामो समयपछि गाउँ फर्किएकाहरूलाई यो घुमफिर मात्र नभई आफ्नै ठाउँको प्राकृतिक सुन्दरता नजिकबाट नियाल्ने र पुराना सम्झना ताजा बनाउने अवसर पनि हो ।’
तर रामारोशन पुग्ने पर्यटकको संख्या कति छ भन्ने यकिन तथ्यांक भने छैन । पर्यटकको चहलपहल बढेको अनुभव भए पनि व्यवस्थित रूपमा तथ्यांक संकलन गर्ने व्यवस्था नहुँदा आगमनको वास्तविक अवस्था मापन गर्न कठिन छ । ‘पर्यटक कति आए भनेर तथ्यांक संकलन गर्ने गरेका छैनौं । त्यसका लागि जनशक्ति चाहियो,’ विकले भने ।
पर्यटकको यकिन संख्या उपलब्ध नभए पनि पछिल्ला वर्षमा रामारोशनमा चहलपहल बढ्दै गएको स्थानीय व्यवसायी बताउँछन् । रामारोशन एड्भेन्चर एन्ड क्याम्पिङ रिसोर्टका सञ्चालक लक्ष्मण बोहराका अनुसार दुई–तीन वर्षयता रामारोशन आउने पर्यटकको आकर्षण बढेको छ । विशेष गरी दसैं र तिहारको बीचमा पर्यटकको आवागमन बढी हुने गरेको उनले बताए । ‘पहिलेका वर्षमा रामारोशन सुनसान हुन्थ्यो । प्रचारप्रसार पनि नभएर होला, त्यति चहलपहल हुँदैनथ्यो । अहिले त रामारोशन जहिले रमाइलो हुन्छ,’ बोहराले भने ।
पर्यटकको आकर्षण बढेसँगै स्थानीयस्तरमा खानपान र बसोबासका सुविधा विस्तार गर्ने प्रयास पनि भएका छन् । बोहराको रिसोर्टमा स्थानीय परिकारसँगै च्याङ्ग्रा र भेडाको मासुलगायतका खाना उपलब्ध छन् । एकैपटक करिब ४० जनालाई राख्न सकिने व्यवस्था गरिएको उनले बताए । गत फागुनदेखि सञ्चालनमा आएको रिसोर्टमा पर्यटकको सुविधाका लागि अस्थायी टहरा पनि निर्माण गरिएको छ । ‘स्थानीय खाना खान पाइन्छ । च्याङ्ग्रा र भेडाको मासु पनि उपलब्ध छ । एकैपटक ४० जनाजतिलाई राख्न सकिन्छ,’ बोहराले भने । उनका अनुसार दसैं र तिहारको बीचमा पर्यटकको चहलपहल बढी हुने गरेको छ ।
रामारोशनको चर्चा पछिल्ला वर्षमा स्थानीय सीमाभन्दा बाहिर पनि फैलिएको छ । प्राकृतिक सौन्दर्यका कारण पहिलेदेखि चिनिँदै आएको यो क्षेत्र पछिल्लो समय सार्वजनिक चर्चा र प्रचारप्रसारका कारण थप परिचित बनेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोपी खनाल बताउँछन् । पर्यटकीय आकर्षण बढ्दै जाँदा त्यसअनुसार पूर्वाधार विस्तार हुन नसकेको उनले बताए । ‘सडकको दुरवस्था र बसोबासको सीमित सुविधाले पर्यटकलाई सास्ती हुने गरेको छ । अहिले भने चाडपर्वमा घर फर्किएका स्थानीयसमेत रामारोशन पुग्ने योजना बनाउन थालेका छन्,’ उनले भने ।
यसअघि रामारोशन पुग्ने पर्यटकले सडकको दुरवस्था र पर्याप्त बसोबासको अभावका कारण समस्या भोग्नुपरेको स्थानीय व्यवसायीले बताउँदै आएका छन् । मुजाबगरदेखि रामारोशनसम्मको सडकको अवस्था विशेष गरी वर्षायाममा चुनौतीपूर्ण हुने गरेको छ । सडकको पहुँच सहज नहुँदा पर्यटकको आवागमनदेखि स्थानीय उत्पादनको बजारसम्म प्रभावित हुने गरेको स्थानीय दलबहादुर साउदले बताए । उनका अनुसार पर्यटकको आकर्षण बढ्दै गएको अवस्थामा सडक, सञ्चार र बसोबासका सुविधा विस्तार गर्नुपर्ने आवश्यकता झन् बढेको छ ।
समुद्री सतहबाट करिब दुई हजारदेखि चार हजार मिटरसम्मको उचाइमा फैलिएको रामारोशन ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले परिचित छ । यहाँ १२ वटा ताल र १८ वटा ठूला पाटन छन् । रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अनुसार ५२ बिघा क्षेत्रफलमा फैलिएको किनेमिने मैदान अछामकै सबैभन्दा ठूलो चउर हो । मैदानको बीच भागबाट कैलाश खोला नागबेली परेर बग्छ ।
रामारोशनका प्रत्येक तालको आफ्नै विशेषता छ । समितिका कार्यकारी अधिकृत विकका अनुसार करिब तीन किलोमिटर लामो र दुई किलोमिटर चौडा जिंगाले ताल अंग्रेजी अक्षर ‘सी’ आकारको छ । त्यस्तै, करिब दुई किलोमिटर लामो लामादह तालको किनारमा उभिँदा जमिन नै हल्लिएजस्तो महसुस हुने उनी बताउँछन् । ‘यो आफैंमा अनौठो प्राकृतिक अनुभव हो । वसन्त ऋतुमा यहाँ १२ प्रकारका लालीगुराँस फुल्छन् । डाँफेको चिर्बिर आवाजले वनपाखा गुञ्जिन्छन्,’ उनले भने । मृग, कस्तुरी, झारल र घोरलजस्ता वन्यजन्तुको बासस्थानसमेत रहेको रामारोशन जैविक विविधताका दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र हो ।
यहाँको चाका डाँडाबाट रातको समयमा तराईका सहरका बत्तीसमेत देख्न सकिन्छ । प्राकृतिक सौन्दर्य र विशिष्ट भौगोलिक बनावटका कारण पर्यटकलाई आकर्षित गर्ने क्षमता भए पनि पर्याप्त पूर्वाधार र संरक्षणको अभावमा साना तालहरू पुरिने अवस्थामा पुगेको विकले बताए ।
- तस्बिरहरू : लक्ष्मण बोहरा र शमशेरबहादुर बोहरा
मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।