Trending
Prev Story
Next Story

पाल्पाको आर्यभन्ज्याङ-जब्गादी-रामपुर सडक एक महिनादेखि अवरुद्ध

Ekantipur •
October 28, 2026 • 11:02 AM
1
1 reads 0 reactions

२०० मिटरभन्दा बढी लम्बाइको पक्की सडक पाँच मिटरभन्दा तल भासिएको छ ।

पाल्पाको आर्यभन्ज्याङ-जब्गादी-रामपुर सडक एक महिनादेखि अवरुद्ध

२०० मिटरभन्दा बढी लम्बाइको पक्की सडक पाँच मिटरभन्दा तल भासिएको छ ।

पाल्पा — पाल्पाको पूर्वी भेगलाई सदरमुकाम तानसेनसँग जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डअन्तर्गत निस्दी गाउँपालिका–५, गल्धाको रिङ्दीमा भासिएको सडक एक महिनासम्म पनि मर्मत हुन सकेको छैन । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा पूर्वी भेगका स्थानीय बासिन्दा र यात्रुले सास्ती खेप्नुपरेको छ ।

गत अज ८ देखि ११ सम्मको अविरल वर्षाका कारण रिङ्दीमा सडक भासिएको थियो । त्यसयता सडक पूर्वाधार विकास कार्यालयले मर्मत गर्न नसक्दा उक्त सडकखण्डमा सवारीसाधनको आवागमन ठप्प छ । ‘सडक भासिने र चर्किने गरेको देखिएको छ,’ सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख सागर मरासिनीले भने, ‘पल्लो भेगबाट पूरै पहाड चर्किएको देखिएकाले दीर्घकालीन समस्या समाधानका लागि भूगर्भविद्लाई बोलाएर अध्ययन गर्नुपर्ने देखिएको छ ।’ उनका अनुसार तत्काल माथिल्लो भेगबाट नयाँ ट्र्याक खोल्ने योजना अघि बढेको छ ।

जिल्लाको पूर्वी भेगको ‘जीवनरेखा’ मानिने सडक लामो समयसम्म सञ्चालनमा आउन नसक्दा स्थानीयको दैनिक आवतजावत, ढुवानी तथा अन्य काम प्रभावित भएका छन् । उक्त स्थानमा २०० मिटरभन्दा बढी लम्बाइको पक्की सडक पाँच मिटरभन्दा तल भासिएको छ । सडकको ठूलो भाग नै तल धसिएकाले सामान्य मर्मतबाट तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडकको भौगर्भिक अवस्था अध्ययन गरी आवश्यक प्राविधिक उपाय अपनाउनुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको कार्यालय प्रमुख मरासिनीले बताए । सडक किन भासिएको हो र पुनः सञ्चालनमा ल्याउन कस्तो संरचना आवश्यक पर्छ भन्ने विषयमा प्राविधिक अध्ययनपछि मात्र मर्मत प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।

एक महिनासम्म पनि सडक मर्मतको काम सुरु हुन नसक्दा यात्रुले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो भन्ने अन्योल रहेको स्थानीय तेजन थापाले बताए । यो सडक निस्दी गाउँपालिकाका पाँचवटा वडा तथा रामपुर नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दाका लागि आवतजावतको महत्त्वपूर्ण मार्ग हो । जिल्लाकै पुराना सडकमध्ये पर्ने यस सडकले ग्रामीण बस्तीलाई बजारसँग जोड्नुका साथै स्थानीय उत्पादनको ढुवानी र अत्यावश्यक सेवामा पहुँच सहज बनाउँदै आएको छ ।

लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा समेटेको भए पनि सडकको स्तरोन्नति, मर्मतसम्भार र विपद्का कारण क्षति पुगेका संरचनाको पुनर्निर्माणमा पर्याप्त बजेट तथा प्राथमिकता नदिएको स्थानीयको गुनासो छ । सडकको दिगो सुधारका लागि आवश्यक लगानी हुन नसक्दा वर्षायाममा सडक क्षति हुने र मर्मतमा लामो समय लाग्ने समस्या दोहोरिँदै आएको स्थानीय केशरी सोमैले बताइन् ।

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङबाट जब्गादी, बेलडाँडा हुँदै रामपुर पुग्न ४९ किलोमिटर दूरी छ ।

पछिल्लो समय कालीगण्डकी करिडोरलाई प्राथमिकता दिइँदा पूर्वी पाल्पाको पुरानो सडक ओझेलमा परेको सोमैले बताइन् । संघीय तथा प्रदेश तहका सडकसम्बन्धी निकायले यसको मर्मत र स्तरोन्नतिमा पर्याप्त ध्यान नदिँदा स्थानीयले सास्ती भोग्नुपरेको उनको भनाइ छ । वर्षाका कारण सडक भासिनु प्राकृतिक प्रकोप भए पनि क्षतिग्रस्त सडकको अध्ययन, बजेट व्यवस्थापन र मर्मत प्रक्रिया समयमै अघि बढाउनुपर्ने उनले बताइन् ।

सडकलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने र दीर्घकालीन समाधानका लागि आवश्यक संरचना निर्माण गर्ने काममा ढिलाइ भए यात्रुको सास्ती लम्बिनेछ । त्यसैले सडक मर्मतलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट र प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने प्रतिनिधिसभा सदस्य सन्दीप रानाले बताए । ‘यो सडकलाई लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा राखेर मात्र भएन,’ सडक अनुगमनका लागि पुगेका उनले भने, ‘बजेट विनियोजन हुनुपर्छ ।’ उनका अनुसार बजेट विनियोजन नभए अर्को कुनै सडकको नाम दिएर भए पनि संघीय सडक कार्यालयले स्तरोन्नति गर्नुपर्छ । तल्लो क्षेत्रमा रहेका मानव बस्ती तथा खेतीयोग्य जमिनमा समेत क्षति पुग्न नहुने उनले बताए ।

विपद्सम्बन्धी बैठक बसेर मर्मतका लागि बजेट माग गर्नुपर्ने उनको भनाइ छ । ‘यो सडक प्रदेशको दायित्व हो,’ उनले भने, ‘आर्यभन्ज्याङदेखि रामपुर हुँदै पोखरा–मुग्लिन सडकसम्म जोडिने भएकाले नयाँ नाम दिएर भए पनि बजेट व्यवस्थापन गर्नुपर्नेछ ।’ प्रमुख रणनीतिक सडकका साथै पूर्वी भेगका नागरिकको जीवनरेखा भएकाले यसलाई प्राथमिकतामा राखेर काम गरिने उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#पाल्पा
Compare →
Hamro Patro News
1w ago
पाल्पाका तीन परिवारलाई तिहारको उपहारः भूकम्प प्रतिरोधी घर

पाल्पाका तीन परिवारलाई तिहारको उपहारः भूकम्प प्रतिरोधी घर

भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन् । दुःखपछि सुख फर्किन्छ भने जस्तै, यसपटकको तिहार उह...

#रामपुर #पाल्पा
Compare →
Nagarik News
1w ago
पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु

पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृ*त्यु भएको थियो।

#पाल्पा
Compare →

Related Stories

National (Nepal)
Build #2612