'द टाइम्स अफ इजरायल' का अनुसार यस आंशिक नतिजाले नेतान्याहुको ब्लकलाई ५५ सिट र विपक्षी दलहरूलाई ४९ सिट प्रदान गरेको छ। अरब- इजरायली दलहरूले १६ सिट सुरक्षित गर्ने देखिएको छ
काठमाडौँ — इजरायलमा हालै सम्पन्न भएको आमनिर्वाचनको मतगणना जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अघि देखएको छ । तर, बहुमत जुट्ने अवस्था भने देखिदैंन । १ सय २० सिट रहेको संसद्का लागि समानुपातिक निर्वाचनमार्फत प्रतिनिधि चयन हुन्छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म २८ लाखभन्दा बढी अर्थात् कुल मतको ५६ प्रतिशत मतगणना सम्पन्न भएको छ। अहिलेसम्मको अग्रता हेर्दा दक्षिणपन्थी गठबन्धनले ५५ सिट ल्याउने देखिन्छ ।
अहिलेसम्म नेतान्याहुको लिकुड पार्टीले २०.७ प्रतिशत मतसहित पहिलो स्थान ओगटेको छ।
त्यसैगरी, गादी आइसेन्कोटको यशार पार्टी १६.७ प्रतिशत मतसहित दोस्रो स्थानमा छ भने नाफटाली बेनेटको टुगेदर गठबन्धन ९ प्रतिशत मतसहित तेस्रो स्थानमा रहेको छ।
'द टाइम्स अफ इजरायल' का अनुसार यस आंशिक नतिजाले नेतान्याहुको ब्लकलाई ५५ सिट र विपक्षी दलहरूलाई ४९ सिट प्रदान गरेको छ।
मतगणनाको यो परिणामले अरब-नेतृत्वका दलहरूले १६ सिट सुरक्षित गर्ने देखिएको छ। त्यहीकारण सरकार गठनमा अरब दलहरुको भूमिका निर्णायक हुने देखिन्छ । विपक्षी नेता गादी आइसेन्कोटले अरब नेतृत्वका दलहरुसँग गठबन्धनका लागि खुला रहेको बताएका छन् ।
यता, नेतान्याहूले दक्षिणपन्थीहरुकै नेतृत्वमा बलियो सरकार गठन गरिने बताएका छन् । उनले आफ्ना समर्थकहरुलाई अन्तिम परिणाम नआउँदासम्म धैर्य गर्ने आग्रह गरेका छन् । 'जीत दक्षिणपन्थीकै हुनेछ । धैर्य गर्नुस्,' उनले भनेका छन् ।
मंगलबार सम्पन्न यस निर्वाचनमा दशकौंसम्मकै उच्च मतदाता सहभागिता देखिएको छ। स्थानीय समयअनुसार राति १०:०० बजे मतदान बन्द हुँदा कुल मतदाता सहभागिता ७७.७ प्रतिशत रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यो सन् १९९९ यताको सोही समयसम्मको सबैभन्दा बढी मतदान हो।
आधिकारिक परिणामहरू रातभरमा प्रकाशित हुन थाल्नेछन्, तर सैन्य कर्मचारीहरूद्वारा खसिएका करिब ६,००,००० अनुपस्थित मतपत्रहरू (कुल मतको करिब १० प्रतिशत) बिहीबारसम्म पूर्ण रूपमा गणना भईसक्ने छैनन्।