प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले सोमबार बिहान करिब साढे ११ बजे स्थानीय अजय परियारको घरको आँगनमा राजीमाथि चिरपट प्रहार गरेका थिए।
सुर्खेत — सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिरपट (दाउरा) प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले सोमबार बिहान करिब साढे ११ बजे स्थानीय अजय परियारको घरको आँगनमा राजीमाथि चिरपट प्रहार गरेका थिए। राजीको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो।
घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव परीक्षणका लागि मेहेलकुना अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनापछि तत्काल खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भनिएका टेकबहादुर विकलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।