फिदिम नगरपालिका–४ गढीमा २०८० सालमा स्थापना गरेको उनको ‘मावोहाङ स्टेसनरी’ले अहिले पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विद्यालय तथा स्टेसनरी पसलमा कापी र शैक्षिक सामग्री पुर्याउँदै आएको छ ।
पाँचथर — १९ वर्ष मलेसिया र कोरियामा काम गरेर फर्किएका पाँचथरको याङवरक गाउँपालिका–३ ओयामका घनेन्द्र मावोले आफ्नै लगानीमा कापी उद्योग सञ्चालन गरेका छन् ।
फिदिम नगरपालिका–४ गढीमा २०८० सालमा स्थापना गरेको उनको ‘मावोहाङ स्टेसनरी’ले अहिले पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विद्यालय तथा स्टेसनरी पसलमा कापी र शैक्षिक सामग्री पुर्याउँदै आएको छ ।
मावोले कोरियामा विद्यालयका भान्छाघरमा प्रयोग हुने सामग्री उत्पादन गर्ने कम्पनीमा काम गरेका थिए । सामान पुर्याउने क्रममा विद्यालयमा आवश्यक सामग्री र तिनको बजार देखेपछि उनलाई आफ्नै ठाउँमा उद्योग खोल्ने सोच आएको थियो ।
‘आफ्नै ठाउँका विद्यालयलाई आवश्यक सामग्री उत्पादन गर्न सकियोस् भन्ने लाग्यो,’ उनले भने ।
स्वदेश फर्किएपछि उनी कापी उद्योगबारे बुझ्न विराटनगर पुगे । त्यहाँका उद्योगको अवलोकन गरे । कापी बनाउने प्रविधि, मेसिन र कच्चा पदार्थबारे जानकारी लिए । केही उद्योगसँग कागजलगायत कच्चा पदार्थ ल्याउने समझदारी गरेपछि उनले आफ्नै उद्योग सञ्चालनमा ल्याए ।
उद्योग स्थापनाका लागि उनले कापी बनाउने मेसिन खरिदमा १४ लाख, भवन निर्माणमा १५ लाख र ढुवानीका लागि पिकअप खरिदमा १६ लाख रुपैयाँ खर्चिए ।
उद्योगमा विद्यालय तथा कलेजका कापी, स्पाइरल डायरी, रेकर्ड फाइल, हाजिरी पुस्तिका र नेपाली हाते कागजका पेस्टिङ फाइल उत्पादन हुन्छन् । विद्यालयले आफ्नै नाम र लोगो राखेर कापी तथा अन्य सामग्री पनि अर्डर गर्ने गरेका छन् ।
मावोका अनुसार उद्योगले मासिक औसत एक सय क्विन्टल कागज प्रशोधन गर्छ । उत्पादित सामग्री आफ्नै ढुवानी साधनबाट ग्राहकसम्म पुर्याइन्छन् ।
उद्योगमा मावो, उनकी श्रीमती र छोरी नियमित खटिन्छन् । थप दुई जनाले नियमित रोजगारी पाएका छन् । कामको चाप बढेका बेला पाँचदेखि सात जनासम्मलाई अस्थायी रोजगारी दिने गरिएको छ ।
गाउँमा उद्योग चलाउँदा विद्युत् अनियमितताको समस्या छ । कागज प्रशोधन गर्ने क्रममा विद्युत् जाने गर्दा उत्पादन रोकिन्छ । यसले मेसिन बिग्रने र बिलिङ प्रणालीमा समेत समस्या आउने गरेको मावो बताउँछन् ।
यस्ता समस्याका बाबजुद उनी व्यवसाय विस्तारको सम्भावना खोजिरहेका छन् । उनको विचारमा विदेशमा अवसर खोज्नुभन्दा पहिले आफ्नै ठाउँको आवश्यकता पहिचान गर्नुपर्छ ।
‘विदेशमा जति कमाउन सकिन्छ, नयाँ सम्भावना खोजेर काम गर्न सके स्वदेशमै पनि कमाउन सकिन्छ,’ उनले भने, ‘आफ्नो ठाउँमा के आवश्यक छ भन्ने पहिचान गर्नुपर्छ ।’
उनी विदेश जान ठूलो रकम खर्च गर्ने र विदेशबाट फर्किएपछि लगानीको क्षेत्र खोजिरहेका युवालाई गाउँको आवश्यकता अध्ययन गरेर व्यवसाय गर्न सुझाव दिन्छन् ।
‘गाउँगाउँका चटपटे पसलमा समेत तराईको मुरै, मसला र अरू सामग्री प्रयोग हुन्छन्,’ उनले भने, ‘त्यस्ता सामग्री यहीँ उत्पादन गर्न मुरै, कार्टुन, मसला वा अचार उद्योग खोल्न सकिन्छ ।’
मावोले विदेशमा १९ वर्ष काम गरेर कमाएको रकम आफ्नै ठाउँमा उद्योग खोल्न खर्चिए । अहिले उनको उद्योगले तीन जिल्लाका विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गरेको छ ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारी मावोको उद्योगलाई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न सकिने उदाहरणका रूपमा लिन्छन् ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।