एक्जिट पोलले दुवै गठबन्धनलाई सरकार गठनका लागि आवश्यक ६१ सिटभन्दा तल देखाएपछि इजरायलमा राजनीतिक अनिश्चितता बढेको छ।
काठमाडौँ — इजरायलको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वका गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएका छन् ।
पछिल्लो अनुमानअनुसार दुवै गठबन्धनले बहुमतका लागि आवश्यक सिट हासिल गर्न नसक्ने देखिएको बीबीसीले प्रकाशित गरेको समाचार मा उल्लेख छ।
इजरायलका समाचार सञ्जाल कान ११ र च्यानल १३ का एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान छ ।
च्यानल १२ को संशोधित अनुमानमा भने नेतान्याहु नेतृत्वको गठबन्धनले ५२ र आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट जित्ने देखिएको छ । यसअघि च्यानल १२ ले नेतान्याहुविरोधी गठबन्धनलाई केही अगाडि देखाएको थियो ।
इजरायली संसद् नेसेटमा बहुमतको सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ । दुवै प्रमुख गठबन्धन बहुमतबाट टाढा देखिएका बेला अरब दलहरूले भने अहिलेसम्मकै धेरै सिट जित्ने अनुमान गरिएको छ ।
आधिकारिक मतगणना पनि सुरु भएको छ । इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म २.५ प्रतिशत मतगणना भएको छ ।
अरबहरूको समर्थनमा सरकार बन्न सक्दैन : नेतान्याहु
प्रधानमन्त्री नेतान्याहुले अहिलेको नतिजाका आधारमा चुनावी परिणामबारे निष्कर्ष निकाल्न हतार हुने बताएका छन् । अन्तिम नतिजा थाहा पाउन आफूले ‘वास्तविक नतिजा’ पर्खिरहेको उनको भनाइ छ ।
एक्जिट पोलमा आफ्नो गठबन्धन आइजेनकोट नेतृत्वको गठबन्धनसँग प्रतिस्पर्धात्मक अवस्थामा देखिए पनि नेतान्याहुले ‘अरबहरूको समर्थन’ मा टिकेको सरकारले इजरायलको नेतृत्व गर्न नसक्ने बताएका छन् ।