Trending
Prev Story
Next Story

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

Ekantipur •
October 27, 2026 • 05:30 PM
1
1 reads 0 reactions

निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ ।

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ ।

काठमाडौँ — निजी इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी) ले ५० एमबीपीएसभन्दा कम क्षमताका सस्ता प्याकेज बन्द गरी महसुलसमेत बढाएको भन्दै सामाजिक सञ्जालमा निरन्तर आलोचना भइरहेको छ । यही बेला नेपाल टेलिकमले ल्याएको वार्षिक ५ हजार रुपैयाँ पर्ने ३० एमबीपीएस ‘एनटी फाइबर’ अफरतर्फ भने ग्राहकको आकर्षण ह्वात्तै बढेको देखिन्छ । निजी कम्पनी छाडेर सरकारी टेलिकमतर्फ लागेका कतिपय ग्राहकले भने नेपाल टेलिकमको फाइबर इन्टरनेटको गुणस्तर र ग्राहक सहायतामा हुने ढिलासुस्तीबारे प्रश्न उठाएका छन् ।

नेपाल टेलिकममा नयाँ लाइन जडानको माग साविकको तुलनामा तीन गुणासम्म बढेको र सोधपुछ एवं जडानका लागि निवेदन दिनेको चाप वृद्धि भएपछि हटलाइन नम्बर र अनलाइन पोर्टलको व्यवस्था गर्नुपरेको टेलिकमले बताएको छ । दसैँमा टेलिकमको इन्टरनेट जडान गर्न खोजे पनि कस्टमर केयरमा फोन गर्दा १६१ नम्बरमा आफू परेको र १६ मिनेट ‘होल्ड’ गरेपछि मात्रै कुरा हुन सक्ने जवाफ आएको नुवाकोटका अर्जुन तामाङले जनाए ।

वर्ल्डलिंक प्रयोगकर्ता अनुप ठकुरीले पनि ५० एमबीपीएसको स्पेसल बीटीएल प्याकेजलाई भदौमा १ हजार १७ रुपैयाँ तिरेकामा असोजमा सोही प्याकेजलाई १ हजार ३ सय ५० तिर्नुपरेको भन्दै फेसबुकमा असन्तुष्टि पोखेका छन् । ‘होइन, यो वर्ल्डलिंकको वाइफाइको पैसा कसरी बढेको हो, हरेक महिना मैले १ हजार १७ रुपैयाँ तिर्थें तर अहिले एकैचोटि १ हजार ३ सय ५० रुपैयाँ भएर आएछ,’ उनले लेखेका छन्, ‘मेरोमा मात्रै हो कि सबैकोमा यस्तै हो ?’

निजी इन्टरनेट सेवा प्रदायकहरूले पूर्वसूचनाबिना शुल्क बढाएको र सस्ता प्याकेज बन्द गरेको भन्दै फेसबुक तथा एक्सजस्ता सामाजिक सञ्जालमा उपभोक्ताले आपत्ति जनाएका हुन् । ५० एमबीपीएसभन्दा कम क्षमताका सुलभ प्याकेज एक्कासि बन्द गरिएपछि विद्यार्थी र निम्न आय भएका प्रयोगकर्ता मर्कामा परेका छन् । आईएसपीहरूले सुलभ दरका प्याकेज बन्दको घोषणा गरेलगत्तै नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज ल्याएको हो । शुल्क वृद्धिको असन्तोषबीच विकल्प खोज्दै कतिपय प्रयोगकर्ता नेपाल टेलिकमको ‘एनटी फाइबर’ तर्फ मोडिएका देखिन्छन् ।

निजी सेवा प्रदायकहरूप्रतिको असन्तोष र टेलिकमको सुलभ चाडपर्व अफरका कारण एनटी फाइबर जडानको माग ह्वात्तै बढेको छ । हाल एनटी फाइबरको जडान माग साविकको तुलनामा तीन गुणाले वृद्धि भएको नेपाल टेलिकमका सहायक प्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जनाए । साउन र भदौमा मासिक औसत ३ हजार नयाँ जडान भएकामा असोजमा त्यो संख्या बढेर ६ हजार पुगेको थापाको भनाइ छ ।

जनसंख्याको चाप बढी भएको काठमाडौंलगायत सहरी क्षेत्रबाट एनटी फाइबरको माग धेरै आइरहेको टेलिकमले बताएको छ । कम्पनीले दसैँ तथा तिहारको अवसर पारेर वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएसको एनटी फाइबर प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेजमा जडान शुल्कसमेत मिनाहा गरिएकाले ग्राहकहरूको आकर्षण थप बढेको हो । २३ असोजमा प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा नेपाल टेलिकमको चाडपर्व लक्षित अफरको पोस्टर सेयर गरेपछि दसैँभर ग्राहकको निरन्तर चासो आएको टेलिकमले जनाएको छ ।

‘सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोअर्स र उच्च लोकप्रियताका कारण प्रधानमन्त्री स्वयम्ले यसरी अफर प्रमोट गर्दा हामीलाई मार्केटिङमा ठूलो मद्दत पुगेको छ,’ टेलिकमका सहायक प्रवक्ता थापाले भने, ‘यस प्रकारको प्रचारले गर्दा यो सस्तो र किफायती प्याकेजबारे आम उपभोक्तामाझ व्यापक जानकारी पुगेको छ । यसले एनटी फाइबरको माग तथा ग्राहक आकर्षण बढाउन प्रत्यक्ष योगदान पुर्‍याएको छ ।’

प्रधानमन्त्री शाहले नेपाल टेलिकमको पोस्टर सार्वजनिक गरेलगत्तै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने अनुमतिपत्रका सर्तविपरीत सेवा सञ्चालन गरेको भन्दै टेलिकमसहित ६ सेवाप्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । नियामकको स्वीकृति नलिई प्याकेज घोषणा गरिएको विषयमा टेकपानाले समाचार लेखेपछि नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै अफरका रूपमा ल्याइएको प्याकेजबारे प्राधिकरणलाई पहिले नै जानकारी गराइसकिएको उल्लेख गरेको थियो ।

निजी इन्टरनेट कम्पनीहरूले शुल्क वृद्धि गरेपछि चितवन, टाँडीका सञ्जय महतोले पनि ३१ असोजमा नेपाल टेलिकमको एक वर्षको फाइबर नेट जोडेको अनुभव सेयर गरेका थिए । तथापि उनले ५ हजार रुपैयाँको ३० एमबीपीएस प्याकेज जोड्दा नेपाल टेलिकमले पुराना सिंगल–ब्यान्ड राउटर दिने गरेको भन्दै उनले अन्य ग्राहकलाई सचेत गराएका छन् । ‘सस्तोको नाउँमा ग्राहकहरूले फिर्ता गरेका पुराना सिंगल ब्यान्डको राउटर दिएर पठाउँदो रहेछ,’ उनको टिप्पणी छ, ‘५० एमबीपीएसको नेट जोड्दा नयाँ डुअल ब्यान्डको राउटर पाइने रहेछ । तर ३० एमबीपीएसको जोड्दा ग्राहकहरूले फिर्ता गरेका पुराना सिंगल ब्यान्डका राउटर टेलिकमले दिने रहेछ ।’

ग्राहकका गुनासोबारे जिज्ञासा राख्दा नेपाल टेलिकमका सहायक प्रवक्ता थापाले सेवाको गुणस्तरमा कुनै कम्प्रोमाइज नगरिएको प्रतिक्रिया दिए । उनका अनुसार टेलिकमसँग ग्राहकको चाप धान्न सक्ने क्षमतावान् नेटवर्क पूर्वाधार पहिले नै तयार रहेकाले इन्टरनेटको गति र गुणस्तरमा कम्प्रोमाइज हुँदैन । नयाँ लाइन जडान र सोधपुछका लागि टेलिकमको हटलाइन नम्बर १९८ मा अत्यधिक चाप बढेको कम्पनीले जनाएको छ ।

सामाजिक सञ्जालको बलमा बनेको सरकारकै पालामा इन्टरनेटको मूल्य अत्यधिक बढ्दा पनि सरकार मौन बसेको भन्दै कतिपय प्रयोगकर्ताले फेसबुकमा ‘पब्लिक ग्रुप’ बनाएर आलोचना गरेका छन् । भायानेट इन्टरनेट युजर्स ग्रुपका एड्मिन शंकर कार्कीले निरन्तर रूपमा प्रश्न गरिरहेका छन् । ‘नयाँ सरकार गठनपछि इन्टरनेटको शुल्कमा वृद्धि मात्रै होइन, प्रतिस्पर्धासमेत बन्द भएको छ,’ उनले लेखेका छन्, ‘केही सयमअघिसम्म विभिन्न अफर दिइरहेका आईएसपीहरूले अहिले ५०, ५५, ६०, १ सय प्रतिशतसम्म शुल्क वृद्धि गरेका छन् । एनटीसीको विज्ञापनमा पोस्ट गर्ने बालेन सरकारलाई यसबारे थाहा नभएको हो त ?’

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था ‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल’ र विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गरिए पनि सम्पर्क हुन सकेन, कतिपयले प्रतिक्रिया दिन चाहेनन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #इन्टरनेट #टेलिकम
Compare →
Nagarik News
2w ago
अप्टिकल फाइबर काटिँदा बाजुरामा इन्टरनेट र टेलिफोन अवरुद्ध

अप्टिकल फाइबर काटिँदा बाजुरामा इन्टरनेट र टेलिफोन अवरुद्ध

अप्टिकल फाइबरको तार काटिएपछि बाजुरा जिल्लाभर बिहीबार बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

#इन्टरनेट #फाइबर
Compare →
Arthasansar
2w ago
नेपाल टेलिकम राेजगारीकाे अबसर, योग्यता कति ?

नेपाल टेलिकम राेजगारीकाे अबसर, योग्यता कति ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी पदपूर्ति गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Hamro Patro News
2w ago
बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

बाजुरा – बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ।

#इन्टरनेट
Compare →

Related Stories

National (Nepal)
Build #2611