प्रनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा-३ का सांसद अरविन्द साहले मंगलबार सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेपछि सन्चालक कम्पनीहरूले यस्तो आग्रह गरेका हुन् ।
पर्सा — वीरगन्जस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीका प्रवेशद्वार २४सैं घण्टा सञ्चालन गर्न सन्चालक कम्पनीहरूले आग्रह गरेका छन् । प्रनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन-३ का सांसद अरविन्द साहले मंगलबार दुवै पूर्वाधारको स्थलगत अनुगमन गरेपछि सन्चालक कम्पनीहरूले यस्तो आग्रह गरेका हुन् ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत सन्चालन भइरहेका दुवै पूर्वाधारको भौतिक अवस्था, व्यवस्थापकीय प्रभावकारिता र सेवा प्रवाहबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा प्रवेशद्वारको सन्चालन समय, रेलमार्गको उपयोग र भन्सार प्रक्रिया सुधारका विषयमा छलफल भएको थियो । प्रवेशद्वार चौबिसैं घण्टा सन्चालन गर्ने विषयमा आवश्यक सहजीकरणका लागि सभापति गजुरेलले भन्सार विभागका महानिर्देशकलाई अनुरोध गरेका थिए ।
सुक्खा बन्दरगाहमा औसतमा मासिक ११० वटा मालवाहक रेल आउने गरेका छन् । त्यस्तै, एकीकृत जाँचचौकीमा दैनिक औसत ८०० मालवाहक सवारीसाधन आवतजावत गर्छन् । मुलुकको आयात–निर्यात तथा पारवहन व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने यी दुवै पूर्वाधारको सन्चालनलाई थप प्रभावकारी बनाउने विषयमा अनुगमनका क्रममा छलफल भएको हो ।
अनुगमनमा पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सन्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सन्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेलगायत सहभागी थिए ।
इन्टरमोडल यातायात विकास समिति र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी एकीकरण भएपछि दुवै बन्दरगाह हाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमार्फत सन्चालन भइरहेका छन् । एकीकरणपछिको सन्चालन अवस्था, व्यवस्थापकीय चुनौती र सेवा प्रवाहमा सुधार गर्न सकिने विषयमा समेत छलफल गरिएको थियो ।
अनुगमनका क्रममा सभापति गजुरेल र सांसद साहले रेलसम्बन्धी पूर्वाधारको अधिकतम उपयोग, रेल सन्चालनलाई व्यवस्थित बनाउने र मालसामान ढुवानी प्रक्रियालाई सहज बनाउने विषयमा चासो राखेका थिए । विशेषगरी नेपालमा रासायनिक मलको आपूर्तिमा रेलमार्गको महत्त्वपूर्ण भूमिका रहेकाले मल आयातसँग सम्बन्धित भन्सार प्रक्रिया छरितो र व्यवस्थित बनाउन गजुरेलले निर्देशन दिएका थिए ।
भन्सार प्रक्रिया सहज र प्रभावकारी बनाउन सके मालवस्तुको ढुवानीमा लाग्ने समय घट्ने तथा आपूर्ति व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । प्रवेशद्वार सन्चालनको समय बढाउँदा मालवाहक सवारीसाधन र रेलबाट हुने ढुवानी व्यवस्थापनमा समेत सहजता आउन सक्ने सन्चालनक कम्पनीहरूको अपेक्षा छ ।
सभापति गजुरेलले वीरगन्जका सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकीमा प्रयोग भइरहेको सार्वजनिक–निजी साझेदारीको मोडेल अन्य पूर्वाधार विकासका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने बताए । निजी क्षेत्रको दक्षता, व्यवस्थापकीय क्षमता र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्न सके पूर्वाधार सन्चालन तथा सेवा प्रवाहमा सुधार ल्याउन सकिने उनको भनाइ थियो ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।