Trending
Prev Story
Next Story

फेसन दुनियाँका सादगी उद्यमी अमान्सियो ओर्टेगा

Ekantipur •
August 22, 2026 • 06:50 AM
2
2 reads 0 reactions

फुर्सदको समयमा आफ्नै देशको फार्म हाउसमा कुखुरा पाल्न रुचाउने अमान्सियो स्वभावले अत्यन्तै लजालु र मिडियाबाट टाढै बस्ने व्यक्ति हुन्, इन्डिटेक्सको मुख्य कार्यालय रहेको गृह सहर ए कोरुनामा उनी सबैसँग अन्तर्क्रिया गरिरहेका भेटिन्छन्

फेसन दुनियाँका सादगी उद्यमी अमान्सियो ओर्टेगा

फुर्सदको समयमा आफ्नै देशको फार्म हाउसमा कुखुरा पाल्न रुचाउने अमान्सियो स्वभावले अत्यन्तै लजालु र मिडियाबाट टाढै बस्ने व्यक्ति हुन्, इन्डिटेक्सको मुख्य कार्यालय रहेको गृह सहर ए कोरुनामा उनी सबैसँग अन्तर्क्रिया गरिरहेका भेटिन्छन्

काठमाडौँ — मानिसहरू आकर्षक देखिन आफ्नो पहिरनमा ठूलो धनराशि खर्चिइरहेका हुन्छन् । आममानिसको यही चाहनाले फेसन उद्योगलाई चलायमान बनाइरहेको हुन्छ । तर यही उद्योगका सबैभन्दा ठूला व्यवसायीमध्ये एक अमान्सियो ओर्टेगा सादगी जीवनका लागि प्रख्यात छन् ।

अमान्सियो विश्वको सबैभन्दा सफल फेसन ब्रान्ड ‘जारा’ उत्पादन गर्ने कम्पनी इन्डिटेक्सका संस्थापक हुन् । स्पेनको एक सामान्य परिवारमा २८ मार्च १९३६ मा जन्मिएका ओर्टेगा ९० वर्ष पुगिसक्दा पनि आफ्नो बाल्यकालको त्यो सरल जीवनबाट टाढा भएका छैनन् । फुर्सदको समयमा आफ्नै देशको फार्म हाउसमा कुखुरा पाल्न रुचाउने उनी स्वभावले अत्यन्तै लजालु र मिडियाबाट टाढै बस्ने मान्छे हुन् । इन्डिटेक्सको मुख्य कार्यालय रहेको गृह सहर ए कोरुनामा उनी सबैसँग घुलमिल भएर अन्तर्क्रिया गरिरहेका भेटिन्छन् ।

फेसन साम्राज्यका मालिक भए पनि अमान्सियो आफ्नो ब्रान्डका कपडा विरलै लगाउँछन् । उनको दैनिक पहिरन उही नीलो ब्लेजर, सेतो सर्ट र अति साधारण खैरो पाइन्ट हो ।

सन् २०१५ मा जाराको सेयर बढ्दा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र वारेन बफेटलाई पछि पार्दै अमान्सियो विश्वकै दोस्रो ठूलो धनी बनेका थिए । तर, त्यतिबेला पनि उनको दिनचर्या फेरिएन ।

अमान्सियो विश्वको सबैभन्दा सफल फेसन ब्रान्ड ‘जारा’ उत्पादन गर्ने कम्पनी इन्डिटेक्सका संस्थापक हुन् । स्पेनको एक सामान्य परिवारमा २८ मार्च १९३६ मा जन्मिएका ओर्टेगा ९० वर्ष पुगिसक्दा पनि आफ्नो बाल्यकालको त्यो सरल जीवनबाट टाढा भएका छैनन् । अमान्सियो वर्षौंदेखि ए कोरुनाको स्थानीय पसलमा चिया–कफी पिउन जान्छन् र स्थानीयसँग भलाकुसारी गर्छन् । २०१२ मै इन्डिटेक्सको अध्यक्ष पदबाट बाहिरिए पनि उनी कम्पनीमा गइरहन्छन् । कुनै ठूला भीआईपी लाउन्जमा होइन, साधारण कर्मचारीहरूसँगै क्यान्टिनको लाइनमा उभिएर खाजा खान्छन् ।

सन् १९३६ मा उत्तर स्पेनको बुस्डोन्गो डे अर्बास गाउँमा ओर्टेगा जन्मिएका थिए । उनका बुबा रेलवेमा सामान्य कामदार थिए । आमा घरेलु कामदार थिइन् । परिवारको आयस्रोत कमजोर हुँदा घरमा आधारभूत आवश्यकता जुटाउनसमेत हम्मेहम्मे पर्ने गरेको अनुभव ओर्टेगाले सुनाउने गरेका छन् ।

अमान्सियोले बाल्यकालमा उसिनेको आलुको भरमा कैयौं रात बिताएका छन् । गरिबी र अभावले उनलाई १३ वर्षको उमेरमै काममा होमिन बाध्य बनायो । ए कोरुनाको ‘गाला’ नामक पुरुषहरूको फेसन स्टोरमा एउटा सामान्य प्रशिक्षार्थीका रूपमा उनले काम थाले । त्यहाँ केही समय डेलिभरी ब्वाई र सहायकका रूपमा काम गरेपछि उनले २० वर्षको उमेरमा आफैं पहिरन डिजाइन गरेर बिक्री गर्न थाले ।

यस काममा अमान्सियोलाई आफ्ना दाजुभाइ र साथी रोसालिया मेराले सहयोग गरेका थिए । रोसालियासँग कालान्तरमा उनले विवाह गरे । यस जोडीले सन् १९७५ मा ‘जारा’ सञ्चालनमा ल्यायो । छोटो समयमै यो ब्रान्ड स्पेनमा सफल भयो ।

सन् १९८५ मा यस ब्रान्डलाई इन्डिटेक्स समूहअन्तर्गत ल्याइयो । त्यसपछि विश्वव्यापी रूपमा फैलाउन थालियो । रोसालियासँग अमान्सियोले सन् १९८६ मा डिभोर्स गरे । यो दम्पतीका छोरा मार्कोस र छोरी सान्द्रा ओर्टेगा मेरा छन् । सन् २०१३ मा रोसालियाको निधनपछि उनका नाममा रहेको इडिटेक्सको सेयर सान्द्राले पाएकी थिइन् । उनी स्पेनकै सबैभन्दा धनी महिला मानिन्छिन् ।

सन् २००१ मा अमान्सियोले फ्लोरा पेरेजसँग दोस्रो विवाह गरेका थिए । पेरेज लामो समयदेखि ओर्टेगासँग प्रेम सम्बन्धमा थिइन् । सन् १९८४ मै उनीहरूको छोरी मार्टा ओर्टेगाको जन्म भइसकेको थियो । र, छोरी जन्मिएको १७ वर्षपछि ओर्टेगाले औपचारिक रूपमा पेरेजसँग विवाह गरेका थिए । डिसेम्बर २०२१ यता मार्टा इन्डिटेक्सको अध्यक्ष छिन् ।

फास्ट फेसन अवधारणामा इन्डिटेक्स चल्ने गर्छ । यसले स्थापनाकालदेखि नै बजारमा आएका नयाँ ट्रेन्ड पछ्याएर गुणस्तरीय कपडा उत्पादन गर्ने पहिचान बनाएको छ । आज यस समूहमा अमान्सियोको झन्डै ६० प्रतिशत सेयर छ । यसमा विश्वका ९६ देशमा इन्डिटेक्सका उत्पादन पाइन्छन् । ५ हजारभन्दा धेरै स्टोर छन् ।

अमान्सियोले कुनै औपचारिक शिक्षा लिएका छैनन् । उनको जीवन नै व्यावहारिक शिक्षामा बित्यो । उपन्यास र समाचार पढ्न रुचि राख्ने उनलेलेख्न भने असहज महसुस गर्छन् । कम्पनीमा उनले आफ्ना लागि कुनै कार्यालय, कम्प्युटर वा निजी डेस्क राखेका छैनन् । उनी आफ्नो डिजाइन कोठा वा सोझै पसलको भुइँमा आफ्ना सहकर्मीहरूसँग मिलेर काम गर्न रुचाउँछन् ।

अमान्सियोले सन् २००१ मा एमान्सियो ओर्टेगा फाउन्डेसन स्थापना गरेका थिए । यस संस्थाले शिक्षा र लोककल्याणमा काम गर्दै आएको छ । अक्टोबर २०१२ मा यस संस्थाले च्यारिटास नामक एनजीओलाई समाज सेवामा खर्चनका लागि २ करोड युरो दान दिएको थियो । सन् २०१७ मा ओर्टेगाको ८१ औं जन्मदिनमा यस फाउन्डेसनले क्यान्सरविरुद्धको उपचारमा ३२ करोड युरो दान गर्ने घोषणा गरेको थियो ।

फोर्ब्स म्यागेजिनका अनुसार ओर्टेगा संसारकै १० ठूला धनाढ्यमध्ये एक हुन् । उनको कुल सम्पत्ति १ सय ४८ अर्ब अमेरिकी डलर हाराहारी छ । उनी स्पेनका सबैभन्दा ठूला धनाढ्य हुन् ।

आफ्ना कामदारमाथि राम्रो व्यवहार गर्न नसकेको भन्दै इन्डिटेक्स बारम्बार विवादमा आउने गरेको छ । सन् २०११ मा जारा ब्राजिलका अधिकारीले इन्डिटेक्समा कार्यरत केही आप्रवासी मजदुरको उद्धार गरेका थिए । त्यसपछि यस कम्पनीविरुद्ध छानबिन गरियो । त्यस क्रममा मजदुरहरूलाई आधुनिक दाससरह काममा लगाइएको छानबिन समितिको ठहर थियो । जाराको उत्पादन चेनसँग सम्बन्धित सहायक ठेकेदारहरूमार्फत उनीहरूले काम गरेका थिए । सुरुवातमा इन्डिटेक्सले यी कामदार अवैध रूपमा आउटसोर्सिङ गरिएको दाबी गरेको थियो । तर पछि गएर उनीहरूलाई क्षतिपूर्ति दिन र आफ्ना सप्लायर्सहरूको निगरानी गर्न तयार भयो ।

इन्डिटेक्समाथि पूर्वकर्मचारी इयान ज्याक मिलारले रंगभेदको आरोपमा चार करोड क्षतिपूर्ति माग्दै सन् २०१५ मा मुद्दा दायर गरेका थिए । आफू अमेरिकी, यौनिक अल्पसंख्यक (गे) तथा यहुदी भएकाले जागिरबाट निकालिनुपरेको उनको आरोप थियो । अमान्सियोले स्पेनिस र इसाईहरूलाई मात्रै प्राथमिकतामा राखेर कर्पोरेट संस्कृति विकास गरेको र उनको कार्यालय समावेशी नरहेको मिलारको आरोप थियो । यस मुद्दामा कालान्तरमा दुवै पक्षले मिलापत्र गरे ।

सन् २०२० मा अस्ट्रेलियन स्ट्र्याटिजिक पोलिसी इन्स्टिच्युटसहितका संस्थाले चीनको सिन्जियाङस्थित उग्युर समुदायका व्यक्तिलाई त्यहाँ रहेका बहुराष्ट्रिय कम्पनीका कार्यालयमा जबरजस्ती काममा लगाइएको रिपोर्ट सार्वजनिक गरेका थिए । इन्डिटेक्सले पनि यसरी काममा जबरजस्ती लगाएको रिपोर्टमा उल्लेख थियो । तर कम्पनीले यस्तो आरोप अस्वीकार गर्दै आएको छ । यस घटनापछि विभिन्न एनजीओहरूले इन्डिटेक्सका उत्पादन बहिष्कार गर्ने अभियानसमेत चलाएका थिए ।

स्पेनमा अमान्सियो र इन्डिटेक्समाथि कर छलीको आरोपसमेत लाग्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

#फेसन
Compare →

Related Stories

World News
Build #2612