‘स्मार्ट ग्लास’ (क्यामेराजडित चस्मा) प्रयोग गरेर खिचिएका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै सांसद आशिका तामाङको भूमिका, व्यक्तिगत गोपनीयता र कानुनी सीमाबारे प्रश्न उठेका छन्।
गत कात्तिक ६ गते अपराह्न ३ बजेर २४ मिनेटमा प्रतिनिधिसभा सदस्य आशिका तामाङले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा २ मिनेट ३ सेकेन्डको भिडियो पोस्ट गरिन्। भिडियोमा एक बालक खोलानजिकै बसेर हातमा भ्यागुता समातिरहेका देखिन्छन्। तामाङ आफैँ ‘भ्यागुता खान हुँदैन नि’ भन्दै ती बालकको हातबाट भ्यागुता लिएर खोलामा फालिदिन्छिन्। त्यसपछि बालकको हातमा ललिपप थमाएर त्यहाँबाट हिँड्छिन्।
यो समाचार तयार पार्दासम्म उक्त भिडियो ४ लाख १३ हजार पटक हेरिएको छ। २० हजारभन्दा बढीले प्रतिक्रिया जनाएको भिडियोमा ८ सयभन्दा बढी टिप्पणी छन्। टिप्पणी गर्ने अधिकांशले सांसद तामाङको आलोचना गरेका छन्। हिमाल थापा नामका प्रयोगकर्ताले लेखेका छन्, ‘सांसद भएर एउटा अबोध बच्चाको गतिविधिलाई डलर कमाउने कन्टेन्ट मटेरियल नबनाउन आशिका दिदी।’ अर्का प्रयोगकर्ताले बालकको गोपनीयता उल्लंघन भएको भन्दै टिप्पणी गरेका छन्, ‘बच्चाको गोपनीयता हुन्छ। सामाजिक सञ्जालमा उसको बाल्यावस्था बेचेर हाम्रा सांसद भएकाहरू डलर झार्दै छन्।’
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत ‘स्मार्ट ग्लास’ (क्यामेराजडित चस्मा) प्रयोग गरेर खिचिएका भिडियो सार्वजनिक गरेसँगै सांसद तामाङको भूमिका, व्यक्तिगत गोपनीयता र कानुनी सीमाबारे प्रश्न उठेका छन्। कानुन निर्माण गर्ने र त्यसको पालनामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने जनप्रतिनिधिबाटै नागरिकको गोपनीयता प्रभावित हुने गरी भिडियो सार्वजनिक भएपछि सर्वसाधारण, अधिकारकर्मी र कलाकारले समेत आलोचना गरेका छन्।
आलोचनाकै बीच उनले अर्को भिडियो पनि पोस्ट गरिन्। ‘यति सानो बालबालिकालाई कृपया मद्यपान तथा धूम्रपान खरिद गर्न नपठाउनु होला’ भन्ने क्याप्सनसहितको उक्त भिडियो कात्तिक ६ गते साँझ ५ बजेर ४ मिनेटमा पोस्ट गरिएको थियो। भिडियोमा एक बालिका हातमा मदिरा भएको भनिएको सामग्री बोकेर हिँडिरहेकी देखिन्छिन्। यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार पटक हेरिएको उक्त भिडियोमा बालिकाको अनुहार स्पष्ट देखिएको थियो। बालिकाको पहिचान खुल्ने गरी भिडियो सार्वजनिक गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो।
भिडियोमा टिप्पणी गर्दै जेनजी अभियन्ता माजिद अन्सारीले लेखेका छन्, ‘...तपाईंको संसद्ले बनाएको कानुनले नै भन्छ, बालबालिकाको गोपनीयता भंग गर्नुहुँदैन। तपाईं माननीयलाई बालबालिकाको गोपनीयता भंग गर्नुहुँदैन भन्ने थाहा त होला नै? अनुहारसमेत ब्लर नगरी हाल्नुभएको रहेछ, दुःख लाग्यो।’
कलाकार बद्री पंगेनीले पनि बालिकाको गोपनीयताप्रति ध्यान दिन आग्रह गरेका छन्। ‘...हजुरले उठान गर्नुभएको विषय अत्यन्तै गहन छ। तर ती नानुको पनि त गोपनीयताको कुरा हुन्छ नि, होइन र? कृपया भिडियो राख्दा ख्याल गरिदिनुस् है,’ उनले लेखेका छन्। यस्तै टिप्पणी बढेपछि तामाङले राति ९ बजेर ३७ मिनेटमा १ मिनेट ५ सेकेन्डको उक्त भिडियो सम्पादन गरी बालिकाको अनुहार ‘ब्लर’ गरेकी थिइन्।
आलोचकहरूको प्रश्नप्रति जवाफ दिँदै सांसद आशिका भने आफ्नो व्यक्तिगत स्वार्थका लागि भन्दा पनि समाजमा जनचेतना फैलियोस् भन्ने सोचले भिडियो बनाएको बताउँछिन्। ‘सबैभन्दा जटिल काम भनेको मान्छेको सोच परिवर्तन गर्नु हो,’ उनले कान्तिपुरसँग भनिन्, ‘मैले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि समाजमा जनचेतना फैलियोस् र मान्छेहरूले कुरा बुझून् भन्ने सोचले काम गरेकी हुँ।’
त्यस्तै, जनताले आफूलाई काम गर्न पठाएको भन्दै कानुन कार्यान्वयनका लागि यी काम गरेको सांसद आशिका बताउँछिन्। ‘कानुन त जनता,’ उनी भन्छिन्, ‘सिंहदरबारभित्र मूर्तिजस्तै उपरखुट्टी लगाएर बस्नलाई जनताले जिताएर पठाएका होइनन्, काम गर्नै पठाएका हुन्।’
तर, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले भने बालबालिका वा उनीहरूका अभिभावकको अनुमतिबिना फोटो वा भिडियो खिचेको विषयप्रति आपत्ति जनाए। ‘भिडियो वा फोटो लिनुपर्ने स्थिति भएमा उसको अनुमति लिएर, प्रयोजन खुलाएर एउटा फारम बनाएर मात्र लिनुपर्छ; जोसुकैले वा माननीयले गरे पनि बिना अनुमति लिन पाइँदैन,’ अध्यक्ष पौडेल भन्छन्, ‘अहिले सानो छँदा मतलब नभए पनि ठूलो भइसकेपछि, सोसल मिडियामा भेटिँदा वा कहीँ एप्लाई गर्दा त्यसले असर पार्ने भएकाले यस्ता कुरामा संवेदनशील हुनुपर्छ।’
अध्यक्ष पौडेलले सांसद तामाङको ‘अभियान’ माथि पनि प्रश्न उठाएका छन्। ‘विधायकको काम कानुन बनाउने, छलफल गर्ने र फिडब्याक दिने हो। जताततै भिडियो बनाउँदै भाइरल हुने कामले विधायकहरूमाथि नै प्रश्न उठ्छ,’ उनले भने, ‘अनुगमन र कानुनी प्रक्रियाका लागि प्रमुख जिल्ला अधिकारी वा पालिकाको उपप्रमुखको अध्यक्षतामा रहने उपभोक्ता/अनुगमन समितिलाई खबर गर्नुपर्छ।’
अध्यक्ष पौडेलले भनेजस्तै बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकाको गोपनीयताको हक सुनिश्चित गरेको छ। ऐनको दफा ११ को उपदफा (२) मा भनिएको छ, ‘कसैले पनि बालबालिकाको चरित्रमा आघात पार्ने वा निजलाई लाज, ग्लानि वा अपहेलना हुने किसिमको निजको व्यक्तिगत सूचना, विवरण, फोटो, भिडियोको सिर्जना, सूचना सङ्कलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्री वितरण वा कुनै पनि माध्यमबाट प्रवाह गर्न वा गराउन हुँदैन।’
अधिवक्ता पवित्रा राउत पनि बालबालिकाको गोपनीयता सुरक्षित गर्नुपर्नेमा जोड दिन्छिन्। ‘पहिलो कुरो, बच्चाको भिडियो राख्दा स्वीकृति दिने अवस्थामा हुँदैन, त्यसैले कसैको तस्बिर वा भिडियो सार्वजनिक गर्नुअघि सहमति लिनु एउटा आधारभूत सिद्धान्त हो,’ उनी भन्छिन्, ‘बालबालिका आफैँ बोल्न नसक्ने भएकाले, उनीहरू अप्ठ्यारोमा नपरून् र स्वतन्त्र तरिकाले बालबालिकाजस्तै भएर बाँच्न सकून् भनेर नै गोपनीयता सुरक्षित गर्नुपरेको हो।’
डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देल पनि बालबालिकाको भिडियो खिच्दा र सार्वजनिक गर्दा सहमतिको विषय महत्त्वपूर्ण हुने बताउँछन्। ‘बालबालिकासँग कुराकानी गर्दा वा उनीहरूको पहिचान देखाउँदा सहमतिको कुरा आउँछ। बालबालिकामा आफैँ सहमति दिन सक्ने क्षमता हुँदैन,’ अधिवक्ता सिग्देल भन्छन्, ‘बालबालिकाको फोटो वा भिडियोका लागि अभिभावकीय सहमति चाहिन्छ। अर्को कुरा, क्यामेरा वा प्रविधिले खिचिरहेको छ भन्ने कुरा बालबालिका तथा सर्वसाधारणलाई थाहै हुँदैन।’
बालबालिकाको हकमा मात्रै होइन, सांसद तामाङले सार्वजनिक गरेका अन्य भिडियोमा पनि व्यक्तिको गोपनीयतामाथि प्रश्न उठेको छ। २ कात्तिकको बिहान ७ बजेर ३३ मिनेटमा पोस्ट गरिएको उनको अर्को भिडियो यो समाचार तयार पार्दासम्म ३९ लाख पटक हेरिएको छ। भिडियोमा १ लाख २३ हजार प्रतिक्रिया र ८ हजार ६ सयभन्दा बढी टिप्पणी छन्। तीमध्ये कतिपय टिप्पणी सांसद तामाङको व्यवहारप्रति आलोचनात्मक छन्।
‘अभियन्ता र सांसद हुँदा केही फरक देखिएन,’ एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो हर्कत नगर्नु न हौ दिदी, धादिङको माननीय भन्न पनि लाज हुन्छ।’
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १६ मा व्यक्तिको तस्बिरसम्बन्धी गोपनीयताको व्यवस्था गरिएको छ। उक्त दफामा भनिएको छ, ‘कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीविना निजको तस्बिर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी जुनसुकै तरिकाले अर्को तस्बिर बनाउन वा एक व्यक्तिको तस्बिरको केही अंश अर्को व्यक्तिको तस्बिरको अर्को अंशसँग मिलाई अर्कै तस्बिर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुँदैन।’
सांसद तामाङले यी तीनवटै भिडियो ‘स्मार्ट ग्लास’ अर्थात् क्यामेराजडित चस्मा प्रयोग गरेर खिचेकी हुन्। उनका पोस्टमा ‘रे-ब्यान मेटा’ स्मार्ट ग्लास प्रयोग गरिएको देखिन्छ। सांसद तामाङले क्यामेराजडित चस्मा प्रयोग गरेर भिडियो खिचेको विषयमा यसअघि पनि विवाद भएको थियो। गत भदौमा विपद् व्यवस्थापन तथा राहत वितरणका विषयमा एक वडाध्यक्षसँग भएको विवादमा पनि उनले स्मार्ट ग्लास प्रयोग गरेर भिडियो खिचेको आरोप लागेको थियो।
सेप्टेम्बर २ मा ‘अर्थ खबर’ मा प्रकाशित समाचार अनुसार सम्बन्धित वडाध्यक्षले तामाङले चस्मामा जडित क्यामेराबाट भिडियो खिचेको र त्यसलाई सम्पादन गरेर आफ्नो भनाइ मात्र सार्वजनिक गरेको आरोप लगाएका थिए। उक्त घटनामा पनि जनप्रतिनिधिले नागरिक वा स्थानीय पदाधिकारीसँग भएको संवाद कसरी रेकर्ड र सार्वजनिक गर्छन् भन्ने प्रश्न उठेको थियो।
अधिवक्ता सन्तोष सिग्देलका अनुसार नेपालमा क्यामेराजडित चस्मा अर्थात् ‘स्मार्ट ग्लास’ को प्रयोगलाई नै प्रतिबन्ध लगाउने स्पष्ट कानुनी व्यवस्था छैन। तर त्यस्ता उपकरणबाट व्यक्तिको जानकारी वा सहमतिबिना भिडियो खिच्ने र सार्वजनिक गर्ने कार्यमा गोपनीयतासम्बन्धी विद्यमान कानुन आकर्षित हुन सक्छ।
‘अधिकारको दृष्टिकोणबाट हेर्दा कुन प्रविधि प्रयोग भयो भन्नुभन्दा पनि त्यसले कस्तो हानि पुर्यायो र व्यक्तिको अधिकारमा के प्रभाव पार्यो भन्ने कुरालाई जोड दिनुपर्छ,’ सिग्देल भन्छन्, ‘प्रविधि त निरन्तर परिवर्तन भइरहन्छ, त्यसैले प्रविधिले पुर्याउने हानि वा असरलाई हेर्नुपर्छ र सो कार्य रोकिएको छ कि छैन भनेर हेर्नुपर्छ।’
अधिवक्ता पवित्रा राउतका अनुसार सार्वजनिक व्यक्तित्वले सामाजिक सञ्जालमा राखेका सामग्री अन्य व्यक्तिले राखेका सामग्रीभन्दा छिटो फैलिन्छन्। त्यसैले सार्वजनिक पद धारण गरेका व्यक्तिले सामग्री सार्वजनिक गर्दा थप जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। ‘सांसदले गएर भिडियोहरू पोस्ट गर्दै हिँड्नुपर्ने कुरा होइन,’ उनले भनिन्, ‘सार्वजनिक व्यक्तित्वले राखेका सामग्रीहरू अरू व्यक्तिहरूले राखेका भन्दा छिटो फैलिन्छन्, त्यसैले उहाँहरूले झन् धेरै ठूलो जिम्मेवारी लिनुपर्छ।’
सांसद तामाङ पनि बालबालिकाको गोपनीयताको विषयमा आफूबाट गल्ती भएको स्वीकार गर्छिन्। ‘भिडियोमा त्यो नानीको अनुहार छोप्नु (ब्लर गर्नु) पर्थ्यो, त्यो मबाट गल्ती भयो। मैले आफ्नो गल्ती रियलाइज (महसुस) गरिसकेकी छु र भोलिका दिनमा यस्तो गल्ती दोहोरिने छैन,’ उनी भन्छिन्, ‘सबैभन्दा जटिल काम भनेको मान्छेको सोच परिवर्तन गर्नु हो, अनि सोच परिवर्तन गर्न हिँडेको मान्छे म आफैँबाट कहिलेकाहीँ त्रुटि हुन्छ।’
सांसदको जिम्मेवारी कानुन निर्माण गर्ने हो, भिडियो बनाउँदै हिँड्ने होइन भन्ने आलोचनाको पनि उनी जवाफ दिन्छिन्। ‘जनचेतना फैलाउने जस्तो जटिल कामका लागि न त सरकारले बजेट छुट्याएको हुन्छ, न त बोल्ने मान्छेको सहज वातावरण नै हुन्छ,’ उनी भन्छिन्, ‘अहिलेको समयमा धैर्य भएर कानुनको मापदण्डभित्र बसेर नै जनचेतना फैलाउने कामहरू गर्नुपर्छ।’
दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।