पीसीबीको एनओसी प्रतिबन्धबाट पीडित हुने एनपीएल पहिलो फ्रेन्चाइज लिग होइन। यस वर्षको सुरुमा मेजर लिग क्रिकेटमा पनि यस्तै किसिमको घटना देखिएको थियो। त्यसैले पनि विश्वभरका फ्रेन्चाइज क्रिकेटहरूले पाकिस्तानी खेलाडीहरूसँग सम्झौता गर्न हिचकिचाउँछन् ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन आफ्ना क्रिकेट खेलाडीहरूका लागि पाकिस्तानको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नियमका कारण प्रभावित बन्न पुग्यो। यहाँ, ‘कान्तिपुर’ले यो विवाद के हो भन्ने विषयमा चर्चा गरेको छ। १. पीसीबीको एनओसीबारेमा नियम के हो ?
नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाकिस्तान क्रिकेट बोर्ड पीसीबीद्वारा जारी गरिने एक आधिकारिक अनुमति हो, जसले यसका केन्द्रीय सम्झौतामा रहेका तथा घरेलु खेलाडीलाई विदेशी फ्रेन्चाइज लिगमा खेल्न अनुमति दिन्छ। यसको हालको नीति पीसीबी एनओसी गाइड–२०२० अन्तर्गत पीसीबीले पाकिस्तान सुपर लिग (पीएसएल) बाहेक एक वर्षमा बढीमा तीनवटा विदेशी लिगमा खेल्न सीमित गरेको छ। साथै, पाकिस्तानबाट अन्तर्राष्ट्रिय खेलमा सहभागीता र खेल समय व्यवस्थापनका आधारमा अनुमति प्रदान गर्ने, अनुमाति ढिलाइ गर्ने वा रद्द गर्ने पूर्ण अधिकार बोर्डसँग सुरक्षित राखिएको छ।
२. पीसीबीले आफ्ना खेलाडीलाई विदेशमा खेल्न किन प्रतिबन्ध लगाउँछ ?
पीसीबीले खेलाडीको फिटनेस जोगाउन, तीव्र गतिका बलरको कार्यभार व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय शृंखलाअघि चोटपटक लाग्नबाट बचाउन एनओसी संयन्त्रको प्रयोग गर्छ। यसले पीएसएलको ठूलो व्यवसायिक जिम्मेवारीमा घरेलु प्रतियोगिताका लागि देशका उत्कृष्ट प्रतिभा उपलब्ध रहेको सुनिश्चित पनि गर्छ।
३. नेपालमा खेल्ने तयारीमा रहेका पाकिस्तानी खेलाडीलाई यो नियमले कसरी असर गरेको छ ?
जब पीसीबीले एनओसी दिन अस्वीकार गर्छ वा ढिलाइ गर्छ, तब एनपीएलका फ्रेन्चाइजसँग सम्झौता गरेका पाकिस्तानी क्रिकेट खेलाडीहरू अन्तिम समयमा नाम फिर्ता लिन वा आउन ढिलाइ गर्न बाध्य हुन्छन्। पीसीबीले एनपीएलमा खेल्न अनुमति दिनका लागि खेलाडीहसँग २५ हजार अमेरिकी डलर मागेको थियो। बोर्डबाट औपचारिक प्रशासनिक अनुमति नभई, फ्रेन्चाइज सम्झौता भए पनि पाकिस्तानी खेलाडीले मैदानमा उत्रन पाउँदैनन्। तेस्रो सिजनका लागि एनपीएल फ्रेन्चाइजहरूले सातजना पाकिस्तानी खेलाडीसँग सम्झौता गरेका थिए।
कर्णाली याक्सले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फर्हान र हुसेन तलातलाई घोषणा गरेको थियो। इफ्तिखार अहमद र हुनाइन शाहले जनकपुर बोल्ट्सबाट खेल्ने तय थियो। कर्णालीले उक्त रकम तिर्न तयार हुँदाहुँदै पनि काठमाडौँ आइपुगेका फर्हान फर्किएका थिए।
उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई घोषणा गरेको चितवन राइनोज मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध मैदान उत्रँदा टोलीमा कुनै पनि पाकिस्तानी खेलाडी छैनन्।
४. यसले नेपाली फ्रेन्चाइज प्रतियोगितामा कस्तो प्रभाव पार्यो ?
अचानक एनओसी रोकिँदा टोलीको खेलाडी अनुबन्ध गर्ने रणनीति, टिम सन्तुलन र सहकार्य योजनाका साथै अन्तर्राष्ट्रिय स्टारहरूलाई केन्द्रित गरेर बनाइएका प्रचारप्रसारका कार्यक्रम प्रभावित हुन्छन्। फ्रेन्चाइज हतारमा आकस्मिक विकल्प खोज्न बाध्य भएका छन्। यहाँ, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको हाउसफुल उद्घाटन खेलबाट सुरु भएको एनपीएल सिजन–३ जस्ता कार्यक्रम सञ्चालन भइरहँदा आयोजकले पनि व्यावहारिक अनिश्चितताको सामना गर्नु परिरहेको छ।
५. यस्ता प्रशासनिक अवरोधबीच नेपाली लिगले कसरी काम गर्नुपर्छ ?
अन्तिम समयमा नाम फिर्ता लिने जोखिमलाई कम गर्न नेपाली फ्रेन्चाइजले आफ्ना विदेशी खेलाडी छनोटलाई अन्य देशमा पनि विस्तार गर्नुपर्ने हुन्छ। क्लबहरुले बढी लचिलो एनओसी नीति भएका बोर्डहरूका खेलाडीलाई लक्षित गर्नुपर्नेछ वा कडा बोर्ड प्रतिबन्धको सामना नगर्ने अन्य एसोसिएट राष्ट्रका शीर्ष प्रतिभा तथा केन्द्रीय अनुबन्धनमा नरहेका अन्तर्राष्ट्रिय खेलाडीमा ध्यान केन्द्रित गर्नुपर्नेछ।
मंगलबार बिहान कान्तिपुरसँगको अन्तर्वार्तामा क्यानका सचिव पारस खड्काले यो विषय फ्रेन्चाइजहरूको हातमा रहेको बताएका छन्। ‘यदि फ्रेन्चाइजहरूले पीसीबीका नियमहरू पूरा गर्छन्, जो आवश्यक छ, भने पाकिस्तानी खेलाडीहरूले खेल्न सक्छन्,’ उनले भने, ‘नियमहरूको सम्मान गर्नैपर्छ।’
एनपीएलमा यसअघि पनि पाकिस्तानी खेलाडीले सहभागिता जनाएका थिए। उदाहरणका लागि, सोहिल तनवीरले चितवनबाट पहिलो दुई सिजन खेलेका थिए। उनी अहिले तेस्रो सिजनका लागि सोही फ्रेन्चाइजका मुख्य प्रशिक्षक छन्। फ्रेन्चाइज मालिकका अनुसार यसअघि २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने आवश्यकता थिएन।
विशेषज्ञ विश्लेषकका रूपमा नेपालमा रहेका पाकिस्तानका दिग्गज तीव्र गतिका बलर सोएब अख्तरले सोमबार लाइभमा सोधिएको यो प्रश्नमा खासै धेरै कुरा बोलेनन्। उनले पीसीबीले सधैं अन्य क्रिकेट राष्ट्रहरूलाई समर्थन गर्ने प्रयास गरेको दोहोर्याए।
पीसीबीको एनओसी प्रतिबन्धबाट पीडित हुने एनपीएल पहिलो फ्रेन्चाइज लिग होइन। यस वर्षको सुरुमा मेजर लिग क्रिकेटमा पनि यस्तै किसिमको घटना देखिएको थियो। विश्वभरका फ्रेन्चाइज क्रिकेटहरूले पाकिस्तानी खेलाडीहरूसँग सम्झौता गर्न किन हिचकिचाउँछन् भन्ने कुराको एउटा मुख्य कारण यही नियम रहेकोमा पनि धेरै विश्लेषकले जोड दिएका छन्।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।