पुनर्स्थापना ढिलो हुँदा विस्थापित परिवार तितरबितर भए र रोगको जोखिमबीच बालबालिकासम्म खोप पुर्याउन स्वास्थ्य निकाय असमर्थ बनेको हो ।
काठमाडौं — १० भदौको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान अनिश्चितकालका लागि रोकिएको छ । बाढीका कारण विस्थापित ६ महिनादेखि १५ वर्ष मुनिका ३५ हजारभन्दा बढी बालबालिका कहाँ छन् भन्ने पत्ता लगाउन नसक्दा खोप अभियान रोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
‘ती बच्चाहरू अहिले प्रभावित ठाउँमा छैनन्,’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ती बच्चाहरू यो ठाउँमा पुगे भन्ने पनि केही जानकारी भएन, त्यसैले खोप कार्यक्रम अहिले तत्काल सुरु गर्न सकिएन ।’ सरकारले समयमै बाढीबाट विस्थापितलाई पुनर्स्थापना गर्न ढिलाई गर्नाले बाढीपीडित तितरबितर भएका हुन् ।
भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले प्रभावित स्थानमा दादुरा, धनुष्टंकार, हैजा, डिप्थेरियालगायत सरुवा रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको थियो ।
‘विपद्पछि सरुवा रोगको प्रकोप फैलिने जोखिम बढ्ने हुँदा दादुरा र केही अन्य सरुवा रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न हामीले सिफारिस गरेका थियौं,’ समितिका सदस्य डा. अरुणकुमार न्यौपानेले भने, ‘विगतका हाम्रा अनुभवले पनि विपद्पछि सरुवा रोगको प्रकोप देखिने गरेको देखाउँछ । रोग फैलन नदिन सावधानीका उपाय अपनाउन धेरै ढिला गर्नु हुँदैन ।’
दादुरा अत्यन्त संक्रामक रोग हो । संक्रमितको नाक र मुखबाट निस्कने थुक वा थुकको छिटोमार्फत यो रोग फैलिन्छ । चिकित्सकका अनुसार विशेषगरी खोप नलगाएका व्यक्तिमा दादुरा घातक हुनसक्छ ।
नेपालमा सन् २०२६ को सुरुदेखि नै कैंयन जिल्लामा दादुरा संक्रमणका केसहरू देखिइसकेका छन् । तीमध्ये सर्लाही, बागलुङ, महोत्तरी, कालिकोट, दैलेख, अछाम, सिराहा पनि हुन् । स्वास्थ्य निकायले बागलुङको ढोरपाटनलगायत केही प्रभावित क्षेत्रमा दादुराविरुद्ध ‘रिङ भ्याक्सिनेसन’ सञ्चालन गरेका थिए ।
स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्र रसुवा-नुवाकोट र धादिङमा एक लाख जनालाई लक्षित गरी हैजाविरुद्धको खोप अभियान सञ्चालन गरे पनि लक्षित जनसंख्याको ७० प्रतिशतले मात्र खोप लगाएका छन् । विस्थापितहरु विभिन्न स्थानमा आश्रय लिन पुगेकाले खोप सबैलाई लगाउन नसकिएको मन्त्रालयका एक कर्मचारीले भने । उनले थपे, ‘समयमै सेल्टरमा पुगेर लगाउन सकेको भए यो प्रतिशत बढ्ने थियो । पुर्नस्थापनाको काम समयमा हुन नसक्दा यस्तो भयो ।’
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार उद्धारमा खटिएका करिब २ हजार उद्धारकर्मी र घाइतेलाई टिटानस तथा डिप्थेरियाविरुद्धको खोप दिइएको थियो ।
‘अहिले विस्थापित जनसंख्या प्रभावित क्षेत्रमा छैनन् । बचेका बालबालिकाहरू र प्रभावित परिवारका बालबालिका पनि अभिभावकसँगै काठमाडौंलगायतका जिल्लामा गएका हुन सक्छन्,’ स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमले भने, ‘पीडितहरू आफ्नै क्षेत्रमा फर्किएपछि खोप अभियान सञ्चालन गरिनेछ ।’
बाढीका कारण घरबाट विस्थापित भएर सामूहिक आश्रयस्थलमा बस्न बाध्य भएका मानिसमा संक्रामक रोगको संक्रमणको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार प्रभावित जनसंख्यामा यसै पनि संक्रमणको जोखिम बढी हुन्छ किनभने उनीहरूको पोषण र सरसफाइमा असर परेको हुनसक्छ । अझ विस्थापित परिवारको प्राथमिकता खोपभन्दा पनि गास, बासलगायत भएकोले बालबालिकाले नियमित रूपमा लगाउनुपर्ने अन्य खोपसमेत छुटाएका हुनसक्ने चिकित्सकहरू बताउँछन् ।
उनीहरूका अनुसार विपद्पछि गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू पनि दादुरालगायत संक्रामक रोगको उच्च जोखिममा हुन्छन् ।
नेपालले सन् २०२६ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । जुन २०२३ पछि दादुरा प्रकोप नदेखिएपछि उक्त लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको थियो । तर त्यसयता देखिएका प्रकोपले देशको दादुरा उन्मूलनको लक्ष्यमा अवरोध पुर्याएका छन् । नेपालले यसअघि सन् २०२३ र २०१९ मा पनि दादुरा उन्मूलनको लक्ष्य पूरा गर्न सकेको थिएन । सन् २०२२ र २०२३ मा देशमा दादुरा संक्रमण व्यापक रुपमा फैलिएको थियो ।
दादुरा उन्मूलन भएको घोषणा गर्न प्रतिवर्ष प्रति १० लाख जनसंख्यामा पाँचभन्दा कम संक्रमित हुनुपर्छ । देशले हासिल गरेको प्रगतिको विदेशी स्वतन्त्रविज्ञबाट प्रमाणीकरण पनि गराउनुपर्छ। अधिकारीहरूका अनुसार स्वतन्त्र प्रमाणीकरणका लागि लगातार ३ वर्षसम्म नयाँ प्रकोप देखिनु हुँदैन ।
चिकित्सकहरूका अनुसार सबै उमेर समूहका मानिस दादुराको जोखिममा हुन्छन् । उमेर नपुगेका बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा एचआईभी संक्रमितजस्ता रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा जोखिम अझ बढी हुन्छ ।
संक्रमण भएको सामान्यतया १०–१२ दिनपछि प्रारम्भिक लक्षण देखिन्छन् । उच्च ज्वरो, नाकबाट पानी बग्ने, आँखा रातो हुने तथा मुखभित्र स-साना सेता दाग देखिनु यसका प्रमुख लक्षण हुन् । त्यसको केही दिनपछि अनुहार, घाँटीको माथिल्लो भाग तथा शरीरका अन्य भागमा बिमिरा देखिन्छन् ।
केही बिरामीमा निमोनिया र इन्सेफलाइटिसजस्ता गम्भीर जटिलता देखिन सक्छन्, जुन घातक पनि हुन सक्छन् । नेपालमा कुनै समय दादुरा स्थानिक रोगका रूपमा थियो । सन् १९९४ देखि २००४ सम्म प्रत्येक वर्ष औसत ९० हजार दादुराका बिरामी भेटिन्थे । नेपालमा सन् १९७९ मा तीन जिल्लाबाट नियमित दादुरा खोप कार्यक्रम सुरु भएको थियो । त्यसको १० वर्षपछि खोप अभियान देशभर विस्तार गरिएको थियो ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।