भिडियो सन्देश जारी गर्दै आनीले भनिन्- ‘अनावश्यक र आधारहीन विषयवस्तुका रूपमा नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर बदनाम गर्ने कोसिस भइरहेको छ ।’
काठमाडौँ — लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएकी आनी छोइङ डोल्माले आफ्ना बारेमा भइरहेको विरोध र प्रश्नहरूलाई लिएर भिडियो सन्देश जारी गर्दै स्पष्टीकरण दिएकी छन् । उनले आफू यही देशमा बस्ने र यही देशमा जन्मेको दाबी गरिन् । उनले यो देशको गुन र नुनको सोझो गर्ने गरी काम गरेको र यसमा स्पष्टीकरण दिन नपर्ने भए पनि प्रश्न उठेकाले भिडियो सन्देश जारी गरेको दाबी गरिन् । आनीको नियुक्तिलाई लिएर लुम्बिनी बचाउ अभियानले विरोध गर्दै आएको छ ।
उनले आरोप लगाएर दुःखी र चिन्तित भएको तर विचलित नभएको दाबी गरिन् ।
आनीले भिडियो सन्देश जारी गर्दै आफ्नो नियुक्तिमा विरोध र असन्तुष्टिको स्वर कायम रहेको बताइन् । उनले विगतमा पनि भएको र अहिले पनि भइरहेको भन्दै किन यो भइरहेको छ भनी बुझ्दा केही स्पष्ट भएको बताइन् । उनले यस्ता आलोचनाका कुराहरू भइरहने पनि बताइन् । उनले विगतमा यस्ता विरोध हुने गरेको तर आफूले सुल्झाएको बताइन् ।
‘यो विषयवस्तुले कता लैजाँदै छ भने मैले सोचेँ,’ उनले भनिन्, ‘भू–राजनीति अहिले देशमा सक्रियताका साथ अनुभव गर्न पाइएको छ । अनावश्यक र आधारहीन विषयवस्तुका रूपमा नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर बदनाम गर्ने कोसिस भइरहेको छ ।’ उनले आफू चोखो भएको र कुनै खोट नभएको दाबी गरिन् । उनले अब सजग हुनुपर्ने बेला आएको बताइन् । उनले आफूलाई माया गरेको तर त्यसमा अन्य सम्प्रदायलाई चोट पुर्याउने शब्द र भाषा प्रयोग भएको भन्दै यस्तो गर्न नहुने आग्रह गरिन् । उनले आफ्नो कारणले घृणा र द्वन्द्व फैलने काम नहोस् भनिन् ।
यसमै टेकेर जातीय द्वन्द्व र धार्मिक द्वन्द्व पनि फैलाउन सक्ने र संकेत देखेको भन्दै उनले होस पुर्याउन आग्रह गरिन् । उनले आफ्नो विषयमा बुझ्न मन लागे सम्पत्ति शुद्धीकरणमा गएर बुझ्न सकिने र राष्ट्र बैंक पनि काठमाडौंमा भएकाले बुझ्न सकिने आग्रह गरिन् । उनले नागरिकताको विषयमा पनि जिल्ला प्रशासन कार्यालय पुगेर बुझ्न भनिन् । उनले पैसामा लालायित भएर र अरूको छवि ध्वस्त पार्न परिचालित हुन र मासुभात खाने काम नगर्न आग्रह गरिन् ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।