सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा सोमबार साँझ बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् ।
पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा सोमबार साँझ बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छन् ।
गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई त्यही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
साँझ करिब सवा ५ बजे भएको दुर्घटनामा स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोककी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी मायाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ की ३६ वर्षीया केशरी कुँवर सामान्य घाइते भएकी छन् । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।