नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।
आजको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।
सुदूरले दिएको ८८ रनको मध्यम लक्ष्य लुम्बिनीले एक विकेटको क्षतिमा ९ दशमलव ५ ओभरमा पूरा गर्यो ।
उसको जितमा डीआर्सी सर्टले १८ बलमा चार चौका र तीन छक्कासहित ४० रनको योगदान गरे ।
दुई चौका र दुई छक्कासहित आसिफ शेखले ३२ रन जोडे । निरोशन डिक्वेला ९ बलमा ७ रन जोड्दै आउट भए ।
सुदूरका लागि दुवै विकेट अनिल खरेलका नाममा रह्यो ।
उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स अत्यन्त न्यून योगफलमा समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएपछि साविक विजेता लुम्बिनी लायन्सले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा सर्वाधिक २७ रन तथा ओपनर सैफ जैबले १४ बलमा १३ रन जोड्नुबाहेक अन्य ब्याटर चल्न सकेनन्।
यसै खेलमार्फत सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइन एनपीएलको इतिहासमै पहिलोपटक डीआरएस प्रणालीमार्फत आउट हुने खेलाडी बनेका छन्। उनी ९.४ ओभरमा शेर मल्लको बलमा एलबीडब्लू आउट भएका हुन्।
सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्न लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए। यस्तै, शेर मल्लले ३ विकेट हात पारे भने कप्तान रोहितकुमार पौडेल, श्याडली भान शाल्क्विक र तिलक भण्डारीले १-१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत भोलि मंगलबार दुई खेल हुनेछ। पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । यो खेलमा विराटनगर किंग्स र चितवन राइनोजको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै साढे चार बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्ने छन् ।
प्रकाशित: ९ कार्तिक २०८३ १९:३४ सोमबार