बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ ।
काठमाडौँ — नेपाल–भारतबीचको खुला सीमाबाट हुने मानव बेचबिखन, लागुऔषध तस्करी, अवैध व्यापार र तेस्रो मुलुकका नागरिकको आवागमन नियन्त्रणमा सहकार्य बढाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीले छलफल गर्ने भएका छन् । यसका लागि सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखसहितका अधिकारी मंगलबारदेखि काठमाडौंमा तीनदिने वार्षिक समन्वय बैठकमा सहभागी हुँदैछन् ।
१०औँ वार्षिक समन्वय बैठकमा एपीएफका महानिरीक्षक नारायणदत्त पौडेल र एसएसबीका महानिर्देशक सञ्जय सिंघलले आ–आफ्नो टोलीको नेतृत्व गर्नेछन् । सिंघलले गृहमन्त्री सुधन गुरुङ, गृहसचिव केदारनाथ शर्मा र अन्य अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
एपीएफका एक वरिष्ठ अधिकारीका अनुसार नियमित बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । त्यस्तै, सीमापार अपराध नियन्त्रण, संयुक्त सीमा गस्ती, सीमा स्तम्भको मर्मतसम्भार, विपद् पूर्वतयारी तथा प्रतिकार्य, लागुऔषध तथा अन्य अवैध पदार्थको ओसारपसार नियन्त्रण, विगतका सहमति कार्यान्वयनको समीक्षा, अन्तरनिकाय समन्वय र भावी सहकार्य तथा कार्ययोजनाबारे पनि छलफल हुने बताइएको छ ।
एपीएफका अधिकारीहरूका अनुसार नेपाल–भारतबीचको एक हजार ७५१ किलोमिटर लामो खुला सीमामा सुरक्षा र सहकार्य प्रभावकारी बनाउन समन्वित सीमा व्यवस्थापन, सीमापार अपराधको संयुक्त नियन्त्रण र वास्तविक समयमै सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । अघिल्लो बैठकमा दुवै पक्षले तेस्रो मुलुकका नागरिकको सीमावर्ती क्षेत्रमा हुने आवागमनप्रति चासो व्यक्त गर्दै सीमापार आवागमनको निगरानी गर्ने सहमति गरेका थिए ।
'भारतीय पक्षले नेपाली सीमावर्ती क्षेत्र हुँदै चिनियाँ र पाकिस्तानी नागरिकको आवागमनबारे चासो राखेको थियो । हामीले पनि रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिकको आवागमनबारे आफ्ना चासो राखेका थियौँ । तर, पछिल्लो समय यस्तो आवागमन घटेको छ,' अर्का एक अधिकारीले भने ।
बैठकमा विभिन्न मन्त्रालय तथा विभागका अधिकारीहरू पनि सहभागी हुनेछन् । सन् २०१२ देखि सुरु भएको वार्षिक बैठक विभिन्न परिस्थितिका कारण, विशेषगरी कोभिड–१९ महामारीका बेला अवरोध भएको समयबाहेक, नियमित रूपमा हुँदै आएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल र भारतबीचको निकट सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धका कारण खुला सीमाबाट मानिस र वस्तुको आवागमन सहज भएको छ । तर, यही खुला सीमाले मानव बेचबिखन, लागुऔषध तस्करी, भन्सार छली, अवैध व्यापार र तेस्रो मुलुकका नागरिकको आवागमन व्यवस्थापनमा चुनौतीसमेत सिर्जना गरेको छ । 'समन्वय बैठकले दुवै पक्षलाई देखा परेका नयाँ सुरक्षा चुनौतीको समीक्षा गर्न, विगतका सहमतिको प्रगति मूल्यांकन गर्न र वैध सीमापार आवागमनलाई सहज बनाउँदै सीमा व्यवस्थापन सुधार गर्न व्यावहारिक उपाय तय गर्ने अवसर दिनेछ,' ती अधिकारीले भने ।
बैठकको मुख्य उद्देश्य भ्रष्टाचार, लागुऔषध तस्करी, भन्सार छली र सामानको अवैध ओसारपसारलगायत साझा चासोका विषय सम्बोधन गर्नु रहेको छ । दुवै पक्षले संयुक्त सीमा गस्ती र सीमा स्तम्भको मर्मतसम्भारबारे पनि छलफल गर्नेछन् ।
एपीएफले भारतसँगको सीमामा २४४ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ भने भारतले ४०० भन्दा बढी सीमा सुरक्षा पोस्ट सञ्चालन गरिरहेको छ । दुवै सुरक्षा निकायले दार्चुलाको कालापानी क्षेत्र र पश्चिम नवलपरासीको सुस्तालगायत स्थानमा सीमा स्तम्भको मर्मत तथा सम्भारमा पनि सहकार्य गर्दै आएका छन् ।
सीमाको दुवैतर्फ असर पार्ने प्राकृतिक विपद्का बेला संयुक्त रूपमा प्रतिकार्य गर्ने, आपत्कालीन अवस्थासँग जुध्न सुरक्षाकर्मीलाई तयार पार्ने र लागुऔषध, मदिरा तथा अन्य पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्ने विषय पनि बैठकको कार्यसूचीमा छन् ।
नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीच हुने वार्षिक समन्वय बैठक दुवै देशको एक हजार ७५१ किलोमिटर लामो खुला सीमामा देखिने सुरक्षा चुनौती सम्बोधन गर्ने द्विपक्षीय संयन्त्र हो । सन् २०१२ मा नियमित बैठक सुरु भएयता दुवै सुरक्षा निकायले यस मञ्चमार्फत सहकार्य सुदृढ गर्ने, सूचना आदानप्रदान गर्ने र सीमापार आपराधिक गतिविधि तथा अन्य सुरक्षा चुनौतीको संयुक्त रूपमा सामना गर्ने प्रयास गर्दै आएका छन् ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।