२० करोड रूपैयाँको व्यापार गरेको ‘१२ गाउँ’ को सिक्वेलले यतिबेला प्रदर्शनको १० दिन बितिसक्दा २ करोडको व्यापार पनि गरेको छैन भने १४ करोड कमाएको 'छ माया छपक्कै' को सिक्वेलको हालत पनि गतिलो छैन । न त १३ करोडको व्यापार गरेको ‘आ बाट आमा’को सिक्वेलले नै निर्मातालाई राहत दिने छाँट छ ।
काठमाडौँ — २०८१ दसैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’बाट अभिनेता विराज भट्टले निर्देशनसँगै लामो समयपछि अभिनयमा कमब्याक गरेका थिए। अभिनेता समीर भट्टले पनि डेब्यू गरेका थिए ।
बा–छोराको मुख्य भूमिका रहेको यो फिल्मले २० करोड रूपैयाँको व्यापार गरेको थियो । फिल्मले व्यावसायिक सफलता हात पारेसँगै एक्सन विधा नै ब्यूँतिएको पनि भनियो। त्यसपछि नेपालमा एक्सन फिल्महरू बन्ने लहर नै चल्न थाल्यो। त्यसपछि बनेका ‘बलिदान’, ‘राम नाम सत्य’ हुँदै ‘आचार्य’ सम्म आइपुग्दा एक्सन जनराका यी कुनै फिल्मले पनि सुखद् व्यापार गर्न चाहिँ सकेनन् ।
पहिलो फिल्मको व्यावसायिक सफलताबाट हौसिएका विराजले ‘१२ गाउँ’ को सिक्वेल मात्र घोषणा गरेनन्, यो दसैं (असोज २९) मा प्रदर्शनमै आयो। तर फिल्म रिलिजको १० दिन बितिसक्दा पनि व्यापार भने पहिलेको तुलनाका निकै कमजोर देखियो । चलचित्र विकास बोर्डले जारी गर्ने बक्स अफिस रिपोर्टअनुसार आइतबार साँझसम्म ‘१२ गाउँ २’को व्यापार १ करोड ८३ लाख ९४ हजार ८ सय ८६ रूपैयाँ मात्र रहेको छ।
२०७६ मा रिलिज भएको दिपेन्द्र लामा निर्देशित फिल्म 'छ माया छपक्कै'ले पनि त्यतिबेला १४ करोड माथिको व्यापार गरेको थियो । उसो त दीपक–दीपा (दीपकराज गिरी र दीपाश्री निरौला)का हरेक फिल्मका व्यापार सफल मात्र होइन, उदाहरणीय नै हुन्थे । ‘छक्का पञ्जा’ शृंखला बनाइरहेका उनीहरूले यसपालि त्यसलाई थाँती राखेर ‘छ माया छपक्कै’को सिक्वेल ल्याउन कस्सिए। तर, यसपटक भने दीपक–दीपालाई फिल्म फापेन। ‘छ माया छपक्कै २’ले पनि आइतबारसम्मको बक्स अफिस रिपोर्टअनुसार २ करोड ७६ लाख ३९ हजार ६५ रूपैयाँ मात्र व्यापार गरेको छ ।
२०८२ माघमा रिलिज भएको चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले पनि १३ करोड भन्दा माथिको व्यापार गरेको थियो । तर एक वर्ष नपुग्दै सिक्वेल बनाएर दसैंमा रिलिज भएको ‘आ बाट आमा २’को व्यापार पनि अपेक्षाकृत रहेन। फिल्मले हालसम्म ४ करोड ११ लाख ४६ हजार ८ सय ८४ रुपैयाँ व्यापार गरेको छ ।
दसैंमा एकै समय रिलिज भएका यी तीन सिक्वेल मात्र हैन, यसअघि रिलिज भएका अरु सिक्वेलहरूले पनि पहिलेको तुलनामा कमजोर व्यापार गरेका उदाहरण प्रशस्तै छन् । चार वर्षअघि रिलिज भएको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगे दाउ’ले पनि त्यतिबेला करिब १० करोडको व्यापार गरेको बताइन्छ । यही सफलताबाट हौसिएर देउजाले चार वर्षपछि यस फिल्मको सिक्वेल बनाए। गत असोज २ बाट रिलिज भएको फिल्म ‘झिंगे दाउ २’को व्यापार पनि कमजोर नै रह्यो । फिल्मले करिब डेढ करोडको मात्र व्यापार गर्यो।
सफल फिल्मको असफल सिक्वेलको उदाहरणमा २०८० वैशाखमा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ पनि हो। १७ करोड भन्दा माथिको व्यापार गरेको यो फिल्मले प्रस्तुत गरेको अलग कथावस्तु र मौलिक स्वादलाई लिएर धेरैले तारिफ गरेका थिए। निर्देशक सुब्बाले पनि यही सफलताबाट हौसिएर ‘जारी २’ बनाए। २०८२ कात्तिकमा रिलिज भएको यो शृंखलाको व्यापार भने अपेक्षाकृत भएन। फिल्मले ६ करोड १९ लाखको मात्र व्यापार गर्यो।
यद्यपि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ र प्रदीप भट्टराई निर्देशित ‘जात्रा’ शृङ्खलाले एकपछि अर्को शृङ्खलामा पुग्दा झन् राम्रो व्यापार गरिरहेका छन् । गुरुङ निर्देशित फिल्म ‘कबड्डी ५’ कात्तिक ६ देखि प्रदर्शनरत छ। बक्स अफिस रिपोर्ट आउन बाँकी भए पनि फिल्मको हल अकुपेन्सी सुखद् छ । यो फिल्मको चौथो शृंखलामा फिल्मले २१ करोडभन्दा माथिको व्यापार गरेको थियो ।
भट्टराई निर्देशित ‘जात्रा’ शृङंखलाले पनि ‘महाजात्रा’सम्म आइपुग्दा व्यापार थप उकालो लाग्दै गएको छ । २०८० फागुनमा रिलिज भएको यस फिल्मले १६ करोडभन्दा माथिको व्यापार गरेको थियो ।
किन भईरहेछ सिक्वेल सिनेमाको कमजोर व्यापार ?
अधिकांश सिक्वेलले कमजोर व्यापार गर्नुको मुख्य कारण पहिलो भागको जस्तो कथा सिक्वेलमा दिन नसक्नु रहेको निर्देशक केपी पाठकको ठम्याइ छ। उनका अनुसार सिक्वेल बनाउनु भनेको पहिलो कथालाई पूर्णता दिनु वा भन्न बाँकी रहेका महत्वपूर्ण कुराहरू प्रस्तुत गर्नु हो। तर नेपालमा सिक्वेललाई एउटा ब्राण्डको रूपमा मात्र लिइएको उनी बताउँछन् ।
‘कथाको निरन्तरताभन्दा पनि एउटै पात्रको नाम वा पहिलो भागको लोकप्रियता भजाएर पैसा मात्र कमाउने मानसिकताले गर्दा सिक्वेलहरू कमजोर भइरहेका छन्। पहिलो भागमा जस्तो अर्गानिक सिर्जना, पात्रहरूको बलियो उपस्थिती र दर्शकलाई जोड्ने कनेक्टिभिटी पछिल्ला भागहरूमा भेटिँदैन,’ पाठक भन्छन्, ‘एउटै कथा र ढाँचा दोहोर्याइरहँदा दर्शकहरूमा सिक्वेलप्रति वितृष्णा पैदा भएको छ । यसैले, दर्शकहरू अब सिक्वेलको सट्टा पूर्ण रूपमा नयाँ, मौलिक र स्वतन्त्र फिल्महरू हेर्न चाहन्छन् ।’
नेपालमा निर्माण भएका सिक्वेलहरू नै पहिलो फिल्मको तुलनामा झन् कमजोर हुने गरेका फिल्म समीक्षक यज्ञश बताउँछन् । ‘धेरैजसो फिल्मको सिक्वेल हेर्दा पहिलो फिल्मलाई जित्ने गरी आएको जस्तो मलाई लाग्दैन । यसको मतलब सिक्वेल बनाउनै हुँदैन वा बन्द गरिहाल्नुपर्छ भन्ने पनि होइन,’ उनी भन्छन्, ‘तर ती सिक्वेल कथाकै निरन्तरतामा हुन् कि केवल नाम मात्रै लिएर अरू नै स्वार्थले बनाउन खोजिएको हो भन्ने कुराले फरक पार्छ ।’ बाहिर ‘ग्याङ्ग्स अफ वासेपुर’ वा ‘गडफादर’जस्ता फिल्म खालि नामका लागि मात्र सिक्वेल नभएको र ती कथाकै हिस्सा रहेकोमा उनी जोड दिन्छन् । नेपाली फिल्महरू सिक्वेलको नाममा सबै बजार केन्द्रित रहेको उनको दाबी छ ।
‘पहिलो फिल्मभन्दा दोस्रो वा तेस्रो पार्ट खासै राम्रो बनेको देखिँदैन । यदि दोस्रो फिल्मले पहिलोलाई उछिन्न सक्यो भने दर्शकका रूपमा मलाई पनि रमाइलो र मजा नै लाग्ने कुरा हो । व्यापार कति भयो भन्ने कुराले फिल्म व्यवसायसँग जोडिएका मान्छेलाई मतलब होला, तर हेर्ने दर्शकलाई त केवल कन्टेन्टसँग मात्र मतलब हुन्छ,’ उनी थप्छन् ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।