बाढीपहिरोले विस्थापित परिवारका लागि जुटाइएको राहतमा चामल, दाल, तेल, नुन, सिरकडसना, भाँडाकुँडा र पानी तताउने जार छन् ।
पाल्पा — गत असोजको दोस्रो साता परेको अविरल वर्षाले घरबास गुमाएका पाल्पाका ४० परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोबाट विस्थापित र प्रभावितको संख्या एक सयभन्दा बढी भए पनि कतै घरबास नभएका परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा राहत वितरण गरिएको हो ।
अविरल वर्षाले बगनासकाली गाउँपालिकाका ४, रामपुर नगरपालिकाका ७, निस्दी गाउँपालिकाका ४, रिब्दीकोट गाउँपालिकाका ३, तिनाउ गाउँपालिकाका ३, रैनादेवी छहरा गाउँपालिकाका १ घरपरिवारलाई राहत वितरण गरिएको छ । रम्भागाउँपालिकाका ४, तानसेन नगरपालिका ८, माथागढी गाउँपालिकाका ६ परिवारलाई पनि राहत दिइएको राष्टि्रय स्वतन्त्र पार्टीका जिल्ला सभापति विष्णुप्रसाद भण्डारीले बताए ।
बाढी पहिरो प्रभावित परिवारलाई १० पाता जस्ता, चामल, दाल तेल, नुन, सिरक डसना, त्रिपाल, पानी तताउने जार, भाँडाकुँडालगायतका सामाग्री प्रदान गरिएको छ । राहत सामाग्री सामाजिक अभियन्ता विमल पन्त र डा. दिलबहादुर तामाङ्ले बोधीसत्वा विहार र अन्तर्राष्ट्रिय बोधीसत्वा संघमार्फत् जुटाएका थिए । उनीहरूले राहत सामाग्री माथागढी गाउँपालिका–३, कसेनीको सराई फुलबारीसम्म ढुवानी गरिदिएका हुन् ।
माथागढी गाउँपालिकामा मात्र वर्षाले चार जनाको ज्यान गएको वडाध्यक्ष राजकुमार पन्थीले बताए ।
‘कतिपय परिवारको सही लगत तथा तथ्यांकसमेत पाउन सकिएन,’ उनले भने, ‘जति घरपरिवारको तथ्यांक आयो र बस्नै नमिल्ने भएकाहरूका लागि राहत वितरण गरिएको छ ।’ पूर्वखोला गाउँपालिकाबाट बाढी पहिरो पीडित तथा प्रभावितको तथ्यांक पाउन नसकिएको रास्वपा पाल्पाले जनाएको छ ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।