नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले पनि एनपीएल सुरु हुनुअघि नेपाली क्रिकेटलाई शुभकामना दिँदै यसलाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा व्याख्या गरेका छन्।
उनले केही वर्षमै एनपीएल ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गरेका छन्। साथै, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको विकास र लोकप्रियतासँग जोड्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने कामनासमेत व्यक्त गरेका छन्।
तेस्रो संस्करणको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आज अपराह्न ४:३० बजे सुरु हुने तालिका छ। उपाधि विजेता र उपविजेताबीचको यही प्रतिस्पर्धाले प्रतियोगिताको सुरुवातलाई थप चासोपूर्ण बनाएको छ।
यस संस्करणमा लुम्बिनी र सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्।
प्रतियोगिताका खेल हिमालय स्पोर्टस् र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन्।