नेपाली क्रिकेटको महाकुम्भका रुपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएस)को तेस्रो संस्करण (सोमबार) आजदेखि सुरु हुँदैछ । अघिल्ला दुई संस्करणभन्दा धेरै कुरामा फरक रहेको यो संस्करणले नेपाली खेलकुदमा थप उर्जा थप्ने विश्वास गरिएको छ । यो सिजन व्यवसायी रुपमा र प्रविधिका रुपमा अघिल्ला सिजनभन्दा भिन्न हुने नै छ । अर्को भनेको यो सिजनलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएका कारणले पनि यसको चर्चा थप बढ्ने छ ।
आईसीसीको मान्यता पाउनु भनेको यो प्रतियोगिताका खेलहरुमा बनेका हरके रन, चौका, छक्का र किर्तिमानहरु आईसीसीमा आधिकारीक रुपमा दर्ज हुने छन् । यो आम नेपाली खेलकुदका लागि निकै महत्वपूर्ण हुने छ । खराब कुरा पनि आईसीसीमा दर्ज हुने छ भने सकारात्मक कुराको पनि आईसीसीमा रेकर्ड बस्नेछ । यो पटकको एनपीएल सुरु हुनु भन्दा पहिले नै व्यवसायिक बजारमा आफ्नो बलियो उपस्थिति देखाइ सकेको छ । एनपीएलको प्रसारण अधिकार, डिजिटल माध्यमको प्रसारण र टिकेट बिक्रीबाट नै एनपीएलले आफ्नो व्यवसायी झलक देखाइ सकेको छ । प्रायोजन र विदेशी खेलाडीको आगमनले यो प्रतियोगिता खेलब खेलकुदमा मात्रै नभएर समग्र अर्थतन्त्रमा नै योगदान दिन अवस्थामा पुगेको छ ।
आज कात्तिक ९ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिता कात्तिक २५ सम्म चल्ने छ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यी दुई टोलि गत सिजनको फाइनमा भिडेका टोलि हुन् । उद्घाटन खेल साँझ ५ बजे सुरु हुनेछ । यसपालि प्रतियोगिताको महत्त्व बढ्नुका पछाडि तीन प्रमुख परिवर्तन छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता, निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग र प्रसारण तथा टिकट बिक्री अधिकारबाट प्राप्त हुने ठूलो व्यावसायिक रकम ।
प्रसारण र टिकट बिक्रीको अधिकारबाटै साढे ३३ करोड
एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा यसको आर्थिक आधारलाई आंकलन गर्नका लागि प्रसारण अधिकार र टिकट बिक्रीको अधिकारमा भएका सम्झौतालाई हेर्दा पुग्छ । एनपीएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यी अधिकारका लागि तीनवटा सम्झौताबाट कुल ३३ करोड ५३ लाख रुपैयाँको निश्चित रकम प्राप्त गर्ने व्यवस्था गरिसकेको छ । प्रतियोगिताको विश्वव्यापी डिजिटल प्रसारण अधिकारका लागि नेटटीभीले १८ करोड ४ लाख रुपैयाँमा क्यानसँग सम्झौता गरेको छ । त्यस्तै नेपालभित्र टेलिभिजन प्रसारण अधिकारका लागि हिमालय टेलिभिजन नेटवर्कले १४ करोड ६४ लाख रुपैयाँमा सम्झौता गरेको छ । यति मात्रै होइन टिकट बिक्री अधिकारका लागि ईसेवाले ८५ लाख रुपैयाँमा सम्झौता गरेको छ ।
यो रकम एनपीएलको व्यावसायिक विकासमा महत्त्वपूर्ण उपलब्धि हो । यसले खेलकुद सामग्रीको प्रसारण अधिकार पनि बिक्रीयोग्य सम्पत्ति बन्न सक्छ भन्ने देखाउँछ । प्रतियोगिताको दर्शक संख्या, खेलप्रतिको उत्साह र नेपाली क्रिकेटको बजार सम्भावनालाई निजी कम्पनीले आर्थिक मूल्य दिन थालेका छन् । एनपीएलको पहिलो संस्करणले नै नेपाली क्रिकेटमा व्यावसायिक प्रतियोगिता सञ्चालन गर्न सकिने आधार देखाएको थियो । क्यानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो संस्करणको कुल २७ करोड ६९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । त्यो संस्करणमा कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको थियो । पहिलो सिजनको एनपीएलबाट खर्च कटाउँदा ७ करोड ५४ लाख रुपैयाँ नाफा भएको थियो ।
दोस्रो संस्करणको वित्तीय विवरणले प्रतियोगिताको आकार अझ बढ्यो । क्यानको प्रतिवेदनअनुसार दोस्रो एनपीएलको कुल आम्दानी ४७ करोड ३६ लाख रुपैयाँ रहेको थियो । त्यो सिजनमा कुल खर्च २१ करोड ९६ लाख रुपैयाँभन्दा बढी थियो । आम्दानी र खर्चको अन्तर करिब २५ करोड ४० लाख रुपैयाँ थियो । यसमध्ये फ्रेन्चाइज टोलीहरूलाई आम्दानी बाँडफाँटअन्तर्गत करिब १६ करोड १९ लाख रुपैयाँ वितरण गरिएको थियो । एनपीएलको दोस्रो सिजनबाट क्यानले ९ करोड २१ लाख रुपैयाँ प्राप्त गरेको विवरणमा जनाइएको छ । अघिल्ला सिजनको तुलनामा यो सिजनमा व्यपार र आम्दानी दुवै बढ्ने आंकलन गर्न सकिन्छ । जुन नेपाली क्रिकेटका लागि निकै ठूलो उपलब्धि हुने छ । यद्यपि, यस वर्षको अन्तिम नाफा कति हुन्छ अहिले नै भन्न सकिँदैन । डीआरएस प्रविधि, खेलाडीको पारिश्रमिक, मैदान व्यवस्थापन, सुरक्षा, प्रसारण उत्पादन र अन्य सञ्चालन खर्चसमेत जोडेर वित्तीय विवरण सार्वजनिक भएपछि मात्र वास्तविक तस्वीर स्पष्ट हुनेछ ।
यस संस्करणको अर्को ठूलो उपलब्धि आईसीसीको औपचारिक मान्यता हो । आईसीसीले अक्टोबर १६ मा तेस्रो संस्करणलाई स्वीकृति दिएको थियो । यसका कारण यस संस्करणका खेलले आधिकारिक ट्वान्टी–२० मान्यता पाउनेछन् र खेलाडीको रन तथा विकेट आधिकारिक करियर तथ्याङ्कमा समावेश हुनेछन् । खेलाडीका लागि आधिकारिक तथ्याङ्कमा स्थान पाउनु व्यक्तिगत करियरको महत्त्वपूर्ण पक्ष हुन्छ । फ्रेन्चाइजका लागि सक्रिय अन्तर्राष्ट्रिय खेलाडी आकर्षित गर्ने वातावरण समेत बन्छ । आयोजकका लागि अन्तर्राष्ट्रिय बजारमा प्रतियोगिताको परिचय विस्तार गर्ने अवसर सिर्जना हुन्छ । अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुँदा विदेशी दर्शकको चासो बढ्न सक्छ, डिजिटल सदस्यता बिक्रीको सम्भावना बढ्न सक्छ र प्रायोजकले प्रतियोगितामा लगानी गर्नुको व्यावसायिक कारण थप बलियो हुन सक्छ ।
तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुँदैछ । फिल्डमा रहेका अम्पायरको निर्णयमा चित्त नबुझेमा टोलीले निश्चित नियमअनुसार पुनरावलोकन जान सक्ने छन् । जसले खेलको निष्पक्षता र विश्वसनीयता बढाउने छ । क्यानका सचिव पारस खड्काले डीआरएस कार्यान्वयनमा करिब डेढ करोडदेखि दुई करोड रुपैयाँसम्म खर्च हुने बताएका छन् । यो खर्च क्यान र आठ फ्रेन्चाइज टोलीबीच बाँडिने विवरण सार्वजनिक भएको छ । प्रणालीमा बल ट्र्याकिङ, किनारामा बल लागेको पत्ता लगाउने प्रविधि र अन्य भिडियो पुनरावलोकन सुविधा समावेश हुनेछन् ।
एनपीएलको आर्थिक प्रभाव क्यान र आठ फ्रेन्चाइजको वित्तीय विवरणमा मात्र सीमित रहँदैन । कीर्तिपुरमा खेल हेर्न आउने दर्शक, खेलाडी, प्रशिक्षक, प्राविधिक, सञ्चारकर्मी र अन्य कर्मचारीले खर्च गर्छन । त्यसले स्थानीय अर्थतन्त्रमा सहयोग पुग्छ । उनीहरूको आवागमनले यातायात, खाना, खाजा, होटल, पसल, खेलकुद सामग्री र अस्थायी व्यापार बढाउँछ । किर्तिपुरको खेल मैदानबाहिर झण्डा, जर्सी, टोपी, खाजा र पेय पदार्थ बेच्ने साना व्यवसायीका लागि पनि प्रतियोगिता आम्दानीको अवसर बन्ने गर्छ ।
विश्वचर्चित खेलाडीको जमघट, मिलरदेखि वार्नरसम्म
तेस्रो संस्करणमा आइपुग्दा विभिन्न देशका खेलाडीहरुको जमघट हुने भएको छ । यो सिजन दक्षिण अफ्रिकाका डेभिड मिलरदेखि अष्ट्रेलियाका डेभिड वार्नरसम्म यो प्रतियोगिताका लागि नेपाल आइसकेका छन् । यो सिजनमा वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड, आन्द्रे रसेलजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित भएका छन् भने वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा आबद्ध भएका छन् । रदरफोर्डले सन् २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सबाट खेलेका थिए ।
अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल, श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज र टी–२० कप्तान चरिथ असलंका विराटनगर किंग्समा आबद्ध छन् । बंगलादेशका पूर्वकप्तान सकिब अल हसन, अलराउन्डर मेहदी हसन र मोहम्मद सैफुद्दिन पोखरा एभेन्जर्सका विदेशी खेलाडी हुन् । इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली र न्युजिल्यान्डका जिमी निसम जनकपुर बोल्ट्समा छन् । पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलात, स्कटल्यान्डका मार्क वाट, ब्रान्डन म्याकमुलन, न्युजिल्यान्डका स्कट कुग्लाइन, नामिबियाका रुबेन ट्रम्पलम्यान, श्रीलंकाका निरोशन डिकवेला र अमेरिकी अलराउन्डर शेड्ली भान शाल्कविक पनि विभिन्न टोलीमा आबद्ध छन् ।