हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गएराति नइन्द्रकुमार राई खुकुरी प्रहार गरेका थिए ।
खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने एक जना पक्राउ परेका छन् । गएराति १२ः३० बजे ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेजिना राई र नरेन्द्र राईलाई खुकुरी प्रहार गरी घाइते बनाउने ४३ वर्षीय नइन्द्रकुमार राई सोमबार बिहानै पक्राउ परेका हुन् ।
उनीहरूमध्ये तेजिना राईको अवस्था गम्भीर छ । उनलाई दुर्छिमस्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन् । अन्यको दुर्छिमस्थित नगर अस्पतालमै उपचार भइरहेको छ ।
उनीहरूमध्ये अन्जना श्रीमती, तेजिना साली, स्यामाउन सासुआमा र नरेन्द्र जेठान हुन् । अन्जना र तेजिनाको टाउकोमा गम्भीर चोट लागेको छ । स्यामाउनको टाउको र दाहिने हातमा तथा नरेन्द्रको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।