दुई वर्ष लामो विरोध प्रदर्शनपछि भएको निर्वाचनमा राजधानी बेलग्रेडसहित विभिन्न सहरमा समर्थकहरूले विजय उत्सव मनाएका छन्।
काठमाडौँ — सर्बियाका पूर्वराष्ट्रपति अलेक्सान्दर भुचिचले संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग आफ्नो दल पराजित भएको स्वीकार गरेका छन् ।
हार स्वीकार गर्दै दक्षिणपन्थी लोकप्रियतावादी नेता भुचिचले अन्तिम नतिजा नआएपनि आफूहरुले हारेको बताएका छन् । २ सय ५० सदस्यीय संसदमा विद्यार्थी नेतृत्वले १ सय ४० सिटसम्म जित्न सक्ने आँकलन गरिएको छ ।
भुचिचले हार स्वीकार गरेलगत्तै विभिन्न सहरमा विद्यार्थी आन्दोलनका समर्थकले उत्सव मनाएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएपछि राजधानी बेलग्रेडलगायत विभिन्न सहरका सडकमा उत्सव मनाइएको समाचारमा जनाइएको छ ।
सर्बियाको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार मतदानमा कीर्तिमानी सहभागिता देखिएको थियो । नोभी साद सहरमा रेल्वे स्टेसनको छाना खसेर १६ जनाको मृत्यु भएपछि सुरु भएको दुई वर्ष लामो विरोध प्रदर्शनका बीच भुचिचले निर्वाचन घोषणा गरेका थिए ।
भुचिच दुई कार्यकाल राष्ट्रपति भइसकेका छन् । तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नपाउने भएपछि उनले सन् २०१७ मा छाडेको प्रधानमन्त्री पदमा पुनरागमन गर्ने योजनासहित आफ्नो दल सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को नेतृत्व गरेका थिए ।