Trending
Prev Story
Next Story

हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता

Ekantipur •
October 25, 2026 • 05:30 PM
1
1 reads 0 reactions

ड्रोन आक्रमणमा परी बुधबार एक नेपाली श्रमिकले ज्यान गुमाए, त्यही दिनको अर्को घटनामा एक नेपाली घाइते भए

हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता

ड्रोन आक्रमणमा परी बुधबार एक नेपाली श्रमिकले ज्यान गुमाए, त्यही दिनको अर्को घटनामा एक नेपाली घाइते भए

काठमाडौँ — विजयादशमीको दिन बुधबार साउदी अरबको पूर्वी प्रान्तको शैबाहस्थित साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा परी एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भयो । त्यस घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भए ।

साउदी अरबको ऊर्जा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार तेल प्रशोधन केन्द्र लक्षित ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । तर निस्तेज भएको ड्रोनको टुक्रा गाडीमा खस्दा आगलागीमा परेर दुई जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए ।

घटना भएको ६ दिनसम्म मृत्यु हुने नेपालीको परिचय र ठेगाना सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । ‘साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि त्यसका टुक्रा खस्दा एक नेपाली नागरिकको दुःखद निधन भएको घटनाले हामी अत्यन्त दुःखी भएका छौं,’ ५ कात्तिकमा परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्ष्य गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट र दृढ निन्दा पुनः दोहोर्‍याउँछ ।’

बुधबार साँझ दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण भयो । त्यसमा साउदी नागरिक र भारतीय नागरिक गरी दुई जनाको मृत्यु भयो । एक नेपालीसहित ८ जना घाइते भएको साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ । घाइते भएका नेपाली श्रमिक सामान्य उपचारपछि आफ्नो क्याम्प फर्किसकेका छन् । ‘उहाँ विमानस्थल बाहिर हुनुहुँदो रहेछ । सामान्य चोटपटक लागेको रहेछ,’ उनका आफन्तले कान्तिपुरसँग फोनमा भने ।

गत असोज दोस्रो सातादेखि साउदीमा सुरक्षा तनाव बढेको छ । इरानको समर्थन प्राप्त हुथी विद्रोही समूहले साउदी अरबविरुद्ध आक्रमण तीव्र पार्दै लगेपछि सुरक्षा चुनौती बढ्दै गएको छ । यमनी हुथीले साउदी अरबका तेल परियोजना, विमानस्थल र महत्त्वपूर्ण परियोजनामाथि शृंखलाबद्ध आक्रमण गरिरहेका छन् । ‘साउदीमा यस्तो अशान्त हुन्छ भन्ने हामीले कहिल्यै कल्पना गरेको थिएनौं,’ दुई दशकदेखि साउदीको दमाम क्षेत्रमा कार्यरत धनुषाका रितेश मण्डलले भने, ‘कतिखेर कहाँ आक्रमण हुन्छ भन्ने नै थाहा छैन । जब मोबाइलमा सतर्क हुनू भन्दै सन्देश आउँछ, तब मेरो मुटु फुलेर आउँछ । डर लाग्छ ।’

एएफपीले आधिकारिक तथ्यांकका आधारमा गरेको गणनाअनुसार हुथीको आक्रमणमा ५ कात्तिक (बिहीबार) सम्म साउदीमा २२ जनाको मृत्यु भइसकेको छ । २४ असोजमा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलमा भएको आक्रमणमा १२ जनाको तत्कालै मृत्यु भएको थियो । आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको भोलिपल्ट मृत्यु भयो । घटनामा ३ सय ९ जना घाइते भएका थिए ।

२६ असोजमा रियाद विमानस्थलमा पुनः आक्रमण हुँदा एक पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै ११ जना घाइते भए । २० असोजमा अब्हा विमानस्थलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भयो, २८ जना घाइते भए । यसअघि जुलाईमा पनि सोही विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको थियो । १७ सेप्टेम्बर (१ असोज) मा ताइफमा हुथी विद्रोहीको ड्रोनलाई बीचमै नष्ट गर्दा खसेका टुक्रा लागेर एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए ।

साउदी अरबको ऊर्जा पूर्वाधारमाथि पनि पटकपटक आक्रमण हुँदै आएको छ । ‘साउदी हाम्रो कर्मभूमि हो । यहाँ हामीले रोजगारी पाइरहेका छौं,’ आराम्को परियोजनाभित्र कार्यरत सुनसरीका उज्ज्वल माझीले भने, ‘पहिला कामको मात्रै चिन्ता हुन्थ्यो । अहिले सुरक्षाको पनि चिन्ता भइरहेको छ ।’

उनका अनुसार आराम्कोका विभिन्न परियोजनामा कार्यरत नेपालीको संख्या कम्तीमा ५० हजार छ । ‘दमाम, जिजानलगायत ठाउँमा रहेका लगभग ६० प्रतिशत नेपाली आराम्कोकै परियोजनामा आबद्ध छन् । उनीहरूलाई विभिन्न सप्लाई कम्पनीमार्फत काममा लगाइएको छ,’ उनले भने, ‘एकदमै आत्तिइहाल्नुपर्ने अवस्था पनि भइसकेको होइन । तर ढुक्क भएर हिँडडुल गर्ने परिस्थिति पनि छैन ।’

रियादमा कार्यरत गुल्मीका भूपेन्द्र अर्यालले निस्तेज गरिएको ड्रोनको टुक्राबाट जोगिन चुनौती रहेको बताए । ‘यहाँको सुरक्षा प्रणालीले ड्रोनलाई आकाशमै रोक्ने गरेको छ तर त्यसको टुक्रा खसेर मानिसको मृत्यु भइरहेको छ,’ उनले भने, ‘सुरक्षा जोखिम बढे नेपाली श्रमिकलाई सूचना दिने, उद्धार गर्ने वा सुरक्षित स्थानमा सार्ने योजनामा काम गर्न जरुरी देख्छु ।’ नेपाली श्रमिकका अनुसार विमानस्थलमाथि आक्रमण भएपछि नेपाल आउजाउमा पनि अवरोध सिर्जना भएको छ । ‘विमानस्थल नै असुरक्षित भएको छ । नेपाल सिधै जाने उडान पनि सञ्चालनमा छैन । आपत्कालीन अवस्था आइपरेका साथीहरू कतार वा बहराइनबाट जान थालेका छन्,’ ट्राभल एजेन्सीमा कार्यरत एक नेपालीले भने ।

वैदेशिक रोजगार विभागका अनुसार अमेरिका र इरानबीच तनाव बढेयता अर्थात् गत फागुनदेखि भदौसम्म साउदी अरबमा जाने नयाँ श्रमिक भर्नामा ठूलो मात्रामा कटौती भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा श्रमिक भर्ना ५७.२ प्रतिशतले कटौती भएको तथ्यांक छ । साउदीमाथि नै प्रत्यक्ष आक्रमण भएपछि रोजगारी झन् कटौती हुने सम्भावना बढेको छ । साउदी अरबमा हाल चार लाख नेपाली कार्यरत छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#आक्रमण #हुथी #सुरक्षा
Compare →
Arthasansar
19h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन #आक्रमण
Compare →
Onlinekhabar
1d ago
यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

२६ कात्तिक, काठमाडौं । यमनमा अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको छ । साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् । सुरक्षा स्रोतका अनुसार आक्रमणमा सरकारसम्बद्ध सुरक्षा बलका …

#आक्रमण #हुथी
Compare →
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी
Compare →

Related Stories

National (Nepal)
Build #2612