रसुवागढी र तातोपानी नाका बन्द भएपछि सबैतिरको चाप मुस्ताङमा परेपछि तीन महिनामै राजस्व संकलनको लक्ष्य नजिक
काठमाडौँ — मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिना नबित्दै करिब साढे ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आर्थिक वर्षकै लक्ष्यभन्दा केही मात्र कम हो । चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलनको लक्ष्य थियो । रसुवागढी र तातोपानी नाका बन्द भएपछि सबै कन्टेनर र विद्युतीय गाडी यस नाकाबाट आउन थालेपछि तीन महिनामै राजस्व संकलनको लक्ष्य नजिक पुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताए ।
‘बुधबारसम्म १ हजार ६ सय कन्टेनर र करिब ४ हजार विद्युतीय गाडी भित्रिइसकेका छन्,’ चुडालले भने, ‘८ र ९ असोजको बाढीपछि धेरै कन्टेनर र ईभी गाडी यहाँ आएर रोकिएका थिए, अहिलेसम्म कन्टेनर पाइसकेका छन् । विद्युतीय गाडी पनि भन्सार जाँच पास भएर जाने क्रममै छन् ।’ सडकको अवस्थाले गर्दा पनि नयाँ गाडीहरूलाई काठमाडौं लग्न समस्या भएको उनले सुनाए ।
‘बाढीपछि विद्युत् लाइनको समस्या भइरहेको छ, इन्टरनेट नचलेर समस्या छ,’ प्रमुख चुडालले भने, ‘नेपाल भित्रिएका कन्टेनर पठाइसकिएको छ । खाली कन्टेनर पारि गएका छैनन् । भन्सार एजेन्ट फर्किसकेका छन् ।’ बाढी आउनुअघि करिब ८ सय ईभी गाडीको भन्सार जाँच पास भएको उनको भनाइ छ । यस्तै करिब ७ सय रोकिएका कन्टेनर पास भइसकेका छन् ।
‘अहिले बाटोमा कन्टेनर छैनन्, दसैंअघि फलफूल बोकेका कन्टेनर एक/दुई आए पनि त्यसपछि आउने अवस्था छैन,’ प्रमुख चुडालले भने, ‘अब दसैंपछि मात्र कन्टेनर आउने–जाने हुन्छ ।’ दसैंको मुखमा कोरला नाका हुँदै आएका ईभी गाडी काठमाडौंलगायत सहरमा आइनपुग्दा अटो व्यवसायी मारमा परेका छन् । साउन अन्तिम र भदौ दोस्रो साता आयोजित नाइमा र नाडा अटो शोमा ग्राहकले बुकिङ गरेका गाडी अझै पाउन सकेका छन् । नाकाबाट सहज रूपमा गाडी आउन नसक्दा चाडबाडको मुखमा यस्तो भएको अटो व्यवसायीको गुनासो छ ।
चाडबाडकै बेला रसुवागढी र तातोपानी नाका नचल्दा कोरला नाकाको भर पर्नुपरेको अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) कि अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । ‘हामीले तातोपानी नाका छिटो खुलाउन सरकारी निकायसँग पहल गरिरहेका छौं,’ उनले भनिन्, ‘मुस्ताङतिर सडक खुलेको भए पनि बाटो सहज भइसकेको छैन, सरकारी निकायबाट सहज बनाउने प्रयास भइरहेको छ ।’ चाडबाडका बेला नाका उत्तरी नचल्दा अटो व्यवसायमा असर पुगेको उनको भनाइ छ ।
केही दिनअघि सडक खुले पनि गाडी आउने क्रम बल्ल सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘बाटो खुल्यो, तर पहिला कन्टेनरलाई मात्र छाडिएको छ, जसले गर्दा झन् बाटो बिग्रिएको छ,’ उनले भने, ‘भन्सार नाकाबाट जाँच पास भएर विद्युतीय गाडी विभिन्न ठाउँ–ठाउँमा रोकिएका छन्, आउने क्रममै छन् ।’
पहिला कन्टेनरलाई पठाएर पछि सडक बनाउँदै ईभी गाडीलाई छाडेको उनको भनाइ छ । सुरुमा दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा बोकेका कन्टेनर छाडिएको हो । ‘यस पटकको चाडबाडमा व्यवसायीलाई मार परेको छ,’ अध्यक्ष उप्रेतीले भने, ‘धेरै गाडी त्यता रोकिएका छन्, यस पटक बुकिङ पनि धेरै भएको थियो, अब फूलपातीबाट नयाँ आएका गाडीको डेलिभरी सुरु हुन्छ ।’
सुरुमा कन्टेनर छाडिएकाले खाल्डो पर्दा ईभी गाडी पठाउन समस्या भएको म्याग्दी र मुस्ताङ जोड्ने सडक खुलाउने काम भइरहेको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजना कार्यालय जोमसोमका योजना प्रमुख तेजस्वी शर्माले बताए । ‘अहिले समस्या छैन, कन्टेनर पनि बाँकी छैनन्,’ उनले भने, ‘सडक ग्राभेल गर्दै ईभी गाडी पठाइरहेका छौं, बाटो खुलेपछि बीवाईडी गाडी मात्र डेढ सयभन्दा बढी पास भइसकेका छन् ।’
मुस्ताङको पोखरेबगर–घारखोलाको पक्की पुल जोड्ने पहुँच सडक बगाएको थियो । म्याग्दीतर्फ बैसरीको कुइनौटो खण्ड बगेकाले समस्या भएको थियो । ‘अहिले कुनै समस्या छैन, समस्या भएको ठाउँमा सडक मर्मत गर्दै दसैंका लागि भित्रिएका ईभी गाडी पास गरेका छौं,’ प्रमुख शर्माले भने, ‘केही समस्या आए मर्मतका लागि मेसिन र जनशक्ति तैनाथ राखेका छौं ।’
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।