Trending
Prev Story
Next Story

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म

Ekantipur •
October 25, 2026 • 11:30 AM
1
1 reads 0 reactions

नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म

नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’

काठमाडौँ — उनका ‘नीला आँखाको सुन्दरता र चमकका अगाडि जर्जिया राज्यका ताराहरू पनि फिका’ हुन थालेको २० वर्ष भइसकेछ । ठूला सपनासहित प्रेम र ब्रेकअपका कथाहरूले भरिएको डायरी बोकेर १३ वर्षको कलिलै उमेरमा कन्ट्री म्युजिकको दुनियाँमा हाम फाल्न आँटिएकी तिनै नीला आँखे टेलर स्विफ्टले २००६ अक्टोबर २४ मै पहिलो स्टुडियो एल्बम ‘टेलर स्विफ्ट’ सार्वजनिक गरेकी थिइन् ।

१३ वर्षकै उमेरदेखि गीत लेख्न थालेकी उनले उक्त एल्बममा समावेश गीत ‘टिम म्याकग्र’ भने २००६ को जुन १९ मा नै रिलिज गरेकी थिइन् । यसै गीतको पहिलो हरफमा गीतकारसमेत रहेकी स्विफ्टले आफ्ना आँखालाई जर्जियाका तारासँग तुलना गरेकी हुन् । कन्ट्री म्युजिक र पछि पप कल्चरलाई नै पूर्ण रूपमा बदलिदिने यो एल्बम यति ठूलो ऐतिहासिक घटना बन्छ भनेर त्यतिबेला कसले पो सोचेको थियो र ?

दुई दशकको सांगीतिक यात्राका दौरान १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ पछि, नेसभिलबाट सुरु भएको स्विफ्टको यही करिअरलाई समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै सार्वजनिक गरेको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’

सन् २०२३ मा ‘यूएसए टुडे’ ले स्विफ्टका खबर समेट्न ब्रायन वेस्ट लाई विशेष पत्रकारका रूपमा नियुक्त गरेको थियो । त्यसपछिका तीन वर्षमा स्विफ्टको सुरुवाती दिनहरूका सहकर्मी, म्यानेजर र संगीतकारहरूसँग गरिएका कुराकानीका आधारमा यो डकुमेन्ट्री तयार पारिएको हो । उनको सुरुवाती यात्रालाई नजिकबाट देखेकाहरूका लागि यो डकुमेन्ट्री एउटी किशोरीको सफलताको कथा मात्र होइन, उनको अद्वितीय सांगीतिक क्षमताको प्रमाण पनि हो ।

को–राइटर लिज रोज भन्छिन्, ‘उनी अरू केही हुनुअघि एउटा गीतकार हुन्, उनी सधैं त्यही थिइन् र रहनेछिन् ।’

‘बिग मेसिन रेकर्ड्स’ सँग जोडिनुअघि स्विफ्ट ‘आरसीए रेकर्ड्स’ सँग अनुबन्धित थिइन् । तर, त्यतिबेला वयस्क पुरुष गायकहरूको वर्चस्व रहेको कन्ट्री म्युजिक उद्योगमा एउटी किशोरीले आफ्ना व्यक्तिगत अनुभव लेखेर गाएका गीतहरू सफल होलान् भन्नेमा कम्पनीका अधिकारीहरू समेत विश्वस्त थिएनन् ।

सुरुवाती सहकर्मी रोबर्ट एलिस ओराल सम्झिन्छन्, ‘त्यस्तो कलिलो उमेरमा पनि उनी जसरी एक्लै गीत लेख्न सक्थिन्, मैले त्यस्तो प्रतिभा अरू कसैमा देखेको थिइनँ ।’ आरसीए छाडेपछि स्विफ्टले नेसभिलको ‘ब्लुबर्ड क्याफे’ मा प्रस्तुति दिइन्, जहाँ स्कट बोर्चेटाको नजर उनीमाथि पर्‍यो । बोर्चेटाले स्विफ्टलाई आफ्नै शब्द र संगीतमा गीत गाउने पूर्ण स्वतन्त्रता दिने बाचा गर्दै ‘बिग मेसिन रेकर्ड्स’ मा भित्राए ।

त्यस्तै, को–सङ राइटर (सह–गीतकार) लिज रोजका अनुसार स्विफ्ट स्कुल सकिनेबित्तिकै प्रायः मंगलबार दिउँसो ४ः३० बजे गीत लेख्न आइपुग्थिन् । उनीहरूको यही सहकार्यको उपज ‘टिम म्याकग्र’, ‘टियरड्रप्स अन माइ गिटार’ र ‘म्यारीज सङ’ जस्ता कालजयी गीतहरू जन्मिएका हुन् ।

‘लाखौंसँग हात मिलाउ, लाखौं प्रशंसक बनाउ’

एल्बम निकाल्दैमा स्विफ्टको सांगीतिक यात्रा सहज भईहालेको थिएन । उनका पहिलो म्यानेजर रिक बार्कर स्विफ्टलाई लिएर देशैभरका रेडियो स्टेसन र साना कार्यक्रमहरूमा धाउँथे । आइडाहोको एउटा सानो र धुवाँले भरिएको बारमा स्विफ्टले एक घन्टासम्म प्रस्तुति दिएकी थिइन् । प्रस्तुति सकिँदासम्म उनलाई नचिनेकाहरू पनि अटोग्राफ र फोटोका लागि लाइनमा बसेका थिए ।

‘लाखौंसँग हात मिलाउ, लाखौं प्रशंसक बनाउ’ भन्ने सिद्धान्त नै स्विफ्टको सुरुवाती सफलताको मूलमन्त्र बन्यो । त्यसका साथै, उसबेला भर्खरै सुरु भएको सामाजिक सञ्जाल ‘माइस्पेस’ मार्फत श्रोताहरूसँग सिधा संवाद गर्ने स्विफ्ट सम्भवतः पहिलो कलाकार थिइन् । स्विफ्टको यो डेब्यु एल्बमले अमेरिकामा मात्रै ८० लाख प्रति बिक्री (८ पटक टाइम्स प्लेटिनम) को कीर्तिमान कायम गरिसकेको छ । २० औं वर्षगाँठको यो मोडमा प्रशंसकहरूले डेब्यु एल्बमको टेलर भर्सनमा पुनः रेकर्ड गरिएको एल्बमको पर्खाइ गरिरहेका छन्, यद्यपि स्विफ्टले यसबारे कुनै आधिकारिक घोषणा गरेकी छैनन् ।

सन् २००६ मा १६ वर्षको उमेरमा ‘अ प्लेस इन दिस वर्ल्ड’ र ‘द आउटसाइड’ जस्ता गीत गाउने यी किशोरी आज विश्व संगीत आकाशकी चम्किलो तारा बनेकी छन् ।

सन् २००८ को जनवरीमा, ‘इन–एन–आउट’ बर्गर जोइन्टमा गरिएको एउटा लामो कुराकानीमा स्विफ्टले आफ्ना सुरुवाती दिनहरूका नभनिएका कथा साझेदार गरेकी थिइन् । त्यतिबेला उनको परिचय मुख्यतया ‘कन्ट्री म्युजिक’ की नवोदित गायिकामा मात्र सीमित थियो । लस एन्जलसमा कन्ट्री म्युजिकको बजार नभएकाले पनि होला, त्यहाँ उनी सामान्य नागरिक भन्दा बढि केही लाग्थिनन् ।

कक्षा ९ मा पढ्दा विद्यालयको ट्यालेन्ट शोका लागि उनी एक्लैले लेखेको ‘आवर सङ’ गीत कन्ट्री चार्टको शीर्ष स्थानमा पुग्दा उनी आफैं छक्क परेकी थिइन् । उनले भनिन्, ‘आफ्नै एकल प्रयासमा लेखेको गीतले नम्बर १ स्थान पाउनु मेरा लागि ठूलो उपलब्धि थियो । म नासभिलका संगीतकारहरूबाट पनि यस्तो सम्मान पाउन चाहन्थेँ ।’

प्रायः फ्यानहरू उनी स्कुल तहदेखि नै निकै लोकप्रिय र हँसिलो स्वभावकी थिइन् होला भन्ने ठान्छन् । तर वास्तविकता फरक थियो । स्विफ्ट सम्झिन्छिन्, ‘विकेन्डमा मेरा साथीहरू मदिरा खान र पार्टीहरूमा जानमा नै बढि व्यस्त हुन्थे गर्थे, तर मलाई त्यसमा कहिल्यै रुचि भएन । बरु म विकेन्डमा संगीतकारहरूसँग हुन्थें, गिटार बजाउँथे र साना एम्पिफायरहरू जोडेर गीत गाउँथें ।’

विद्यालयमा आफूले भोगेको एक्लोपन र सहकर्मीको अस्वीकृतिको पीडाले नै उनलाई सांगीतिक उद्योगमा अघि बढ्न साहस दिएको स्विफ्ट बताउँछिन् । ‘मलाई लाग्छ, विद्यालयमा जुन किसिमको अस्वीकार र पीडा मैले भोगें, त्यस्तो पीडा त संगीत उद्योगमा कहिल्यै भोग्न पर्दैन । किनकि यहाँ मानिसहरू कम्तीमा शिष्टाचार त पालन गर्छन्,’ उनले हाँस्दै भनिन् ।

संगीत क्षेत्रमा लाग्ने हुटहुटीले गर्दा उनी सानै उमेरमा परिवारसहित पेन्सिलभेनियाबाट नेसभिल सरेकी थिइन् । १०–११ वर्षको उमेरमा फेथ हिल, सानाया ट्वेन जस्ता कलाकारहरूको जीवनी हेरेर उनले आमालाई जिद्दी गरेकी थिइन्, ‘मलाई नेसभिल जानु छ, त्यही नै मेरो गन्तव्य हो ।’

त्यसपछि उनी र उनकी आमाले नेसभिलको ‘म्युजिक रो’ का घर–घरका ढोकाहरू ढकढकाउँदै आफ्नो डेमो सीडी बोकेर हिंडेका थिए । उनी भन्छिन्, ‘म ११ वर्षकी छु, मलाई रेकर्ड डिल चाहिएको छ भन्दै ढोका ढकढकाउँथें ।’ पछि उनी १४ वर्षको उमेरमा ‘सोनी/एटीभी पब्लिसिङ’ सँग सम्झौता गर्ने इतिहासकै सबैभन्दा कान्छी व्यक्ति बनिन् ।

सानै उमेरदेखि अत्यधिक व्यावसायिक परिपक्वता देखाएकी स्विफ्टले अन्तर्वार्ताको अन्त्यमा आफ्नो सांगीतिक भविष्यको स्पष्ट दृष्टिकोण राखेकी थिइन् । जब उनलाई अत्यधिक दबाब र व्यस्तताबारे सोधियो, उनले स्पष्ट पारिन्, ‘म आउँदो २० वर्षसम्म यही संगीत क्षेत्रमा रहन चाहन्छु...यदि म आफ्नो भविष्यको जिम्मा आफैं लिन चाहन्छु भने, मेरो करिअरको निर्णय पनि मैले नै लिनुपर्छ ।’

आज २० वर्षपछि उनको यो भनाइ शतप्रतिशत सत्य साबित भएको छ । कन्ट्री म्युजिकको एक साधारण किशोरीबाट सुरु भएको उनको यो यात्रा आज विश्व संगीतको सर्वोच्च शिखरमा पुगेको छ ।

‘म्याथ क्लास’मा फुरेको ‘टिम म्याकग्र’

मात्र १६ वर्षको उमेरमा पनि टेलर स्विफ्टलाई यो कुरा राम्ररी थाहा थियो कि उनीसँग सुनाउन लायक एउटा सुन्दर कथा छ । संगीतप्रतिको आफ्नो सपना पूरा गर्न उनी दुई वर्षअघि नै नेसभिल सरेकी थिइन् । सोनी/एटीभीकी सबैभन्दा कान्छी गीतकार बनेर चर्चा बटुलेकी स्विफ्टले पछि गएर नयाँ खुलेको रेकर्ड लेबल ‘बिग मेसिन रेकर्ड्स’ लाई छानिन्, जसले उनलाई पूर्ण रचनात्मक स्वतन्त्रता दिने वाचा गरेको थियो ।

उनको यो आफ्नै नामको डेब्यु एल्बम बिलबोर्डको टप कन्ट्री एल्बम चार्टको शीर्ष स्थानमा २४ सातासम्म टिकिरहृयो, उनलाई पहिलो ग्रामी मनोनयन दिलायो र विश्वकै महान् संगीतकार बन्ने बाटोमा उभ्यायो ।

संगीत क्षेत्रमा आफ्नो करिअर र साधारण किशोर जीवनबीच सन्तुलन मिलाउने क्रममा स्विफ्टलाई नयाँ सिर्जनाका लागि जुनसुकै बेला प्रेरणा मिल्थ्यो । उनका तत्कालीन को–राइटर लिज रोजका अनुसार स्विफ्टलाई उनको चर्चित गीत ‘टिम म्याकग्र’ को आईडिया म्याथ क्लासमा फुरेको थियो । त्यस्तै, विद्यालयको ट्यालेन्ट शोका लागि उनले ‘आवर सङ’ लेखेकी थिइन् भने ‘टाइड टुगेदर विद अ स्माइल’ गीत आफ्नी एक साथीको खानपान असन्तुलनको संघर्ष देखेर प्रेरित भएपछि लेखेकी थिइन् ।

‘सन् २००६ मा म १५ वर्षकी थिएँ र एउटी यस्ती केटीसँग मेरो अनौठो मित्रता थियो जसले मेरो अस्तित्वलाई खासै वास्ता गर्दिन थिइन् । स्कुल सकिनेबित्तिकै, नेटबल वा अर्केस्ट्राअघि र आफ्नो पढाइभन्दा पनि बढी मेरो दैनिकीमा एउटै मुख्य काम हुन्थ्यो– ‘माइस्पेस’ लगइन गर्ने र ती केटीको प्रोफाइलमा ६ वटासम्म कमेन्ट लेख्ने । कुनै दिन त उसले मलाई पनि रिप्लाई गर्ली भन्ने आशामा यो सब भइरहन्थ्यो,’ आईन्यूजमा साराह कार्सन लेख्छिन्, ‘त्यतिबेला एक दिन माइस्पेसको ‘अल्गोरिदम’ मार्फत मेरी साथीले मलाई कन्ट्री म्युजिककी एक १५ वर्षीया गायिकाको पेज पठाइन्, जसले भर्खरै ‘टिम म्याकग्र’ नामको एकल गीत सार्वजनिक गरेकी थिइन् । त्यो गायिका अरू कोई नभएर टेलर स्विफ्ट थिइन् ।’

उनको प्रोफाइलको ब्याकग्राउन्ड सेतो फूलहरूले भरिएको गुलाबी रङको थियो । ‘अबाउट मी’ सेक्सनमा उनले आफूले १२ वर्षको उमेरदेखि १२–स्ट्रिङ भएको गिटार बजाएको, १३ संख्या मन पराउने र कुनै ब्वायफ्रेन्डको आवश्यकता नभएको कुरा लेखेकी थिइन् ।

हामीले उनको जीवनको कथालाई कुनै पवित्र ग्रन्थझैं कन्ठ गरेका थियौं । पेन्सिलभेनियाको एउटा क्रिसमस ट्री फार्ममा हुर्केकी, ११ वर्षको उमेरमै अभिभावकलाई मनाएर नेसभिल पुगेकी र आफ्नो डेमो सीडी बोकेर रेकर्ड लेबलका ढोकाहरू ढकढकाएकी एक साधारण किशोरीको कथा हामीलाई आफ्नै जस्तो लाग्थ्यो ।

त्यतिबेला ब्रिटेनमा ‘द कुक्स’ वा ‘आर्टिक मंकीज’ जस्ता इन्डी ब्यान्डहरूको रजगज थियो । त्यस्तो समयमा कन्ट्री म्युजिकलाई ‘रेडनेक’ (पिछडिएको) मानिने लेस्टरको उपनगरमा बसेर टेलर स्विफ्टलाई आफ्नो पहिचान बनाउनु निकै अनौठो तर रोमाञ्चक थियो ।

त्यतिबेला सामाजिक सञ्जालमार्फत कलाकारहरूले आफ्ना प्रशंसकहरूसँग सिधा कुराकानी गर्ने चलन थिएन । तर टेलर स्विफ्ट यसमा फरक थिइन् । उनी आफ्ना शोहरू पछि घन्टौंसम्म फ्यानहरूसँग भेट्न बस्थिन्, पत्रहरूको उत्तर दिन्थिन् र माइस्पेसमा सानातिना दैनिकी ब्लगमार्फत आफ्ना कुार सेयर गरिन्थिन् ।

त्योबेलाको उनको सरल स्वभाव, भद्र व्यवहार र आफ्नो गीत आफैं लेख्ने क्षमताले उनलाई त्यसबेलाका अन्य अत्यधिक यौनिकता झल्काउने पप स्टारहरूभन्दा बिल्कुलै भिन्न स्थानमा उभ्याएको थियो ।

आज दुई दशकपछि फर्केर हेर्दा, उनी विश्वकै सबैभन्दा शक्तिशाली संगीतकार बनिसकेकी छन् । उनले संगीत उद्योगका पुरुष–प्रधान नियमहरूलाई चुनौती दिँदै महिला संगीतकारहरूका लागि नयाँ बाटो खोलिदिएकी छन् । तर, आज पनि जब हामी उनलाई मञ्चमा गीत गाउँदै गरेको देख्छौं, त्यो १६ वर्षकी उहाँकै शब्दमा, ‘यो संसारमा आफ्नो ठाउँ खोज्न भौंतारिइरहेकी एउटी साधारण केटी’ झैं महसुस हुन्छ ।

गिटार : पीडालाई कलामा बदल्ने माध्यम

सन् २०२६ को टेलर स्विफ्ट संगीत आकाशकी एक अद्वितीय सांस्कृतिक शक्ति हुन् । एक पप–अर्बपति, जसको आधुनिक संगीत उद्योगमा रहेको पकड अभूतपूर्व छ । पछिल्लो तीन वर्षमा मात्रै उनको ‘द इराज टुर’ ले विश्व सांगीतिक कार्यक्रमको परिभाषा नै बदल्यो । उनको ‘लाइफ अफ अ शोगर्ल’ एल्बमले बिक्री र स्ट्रिमिङका तमाम कीर्तिमानहरू तोड्यो ।

तर, आजभन्दा २० वर्षअघि श्रोताहरूलाई ‘स्विफ्टी’ भन्ने शब्द थाहा हुनुभन्दा धेरै अघि एउटी किशोरीले पेन्सिलभेनियाको क्रिसमस ट्री फार्मबाट नेसभिल पुगेर आफ्नो बेडरूममा अकस्टिक गिटार समातेर कन्ट्री–पप गीतहरू लेखेकी थिइन् । १४ वर्षको उमेरमा ‘आरसीए रेकर्ड्स’ को अफर अस्वीकार गर्दै भर्खरै सुरु भएको ‘बिग मेसिन रेकर्ड्स’ सँग सम्झौता गरेकी स्विफ्टको त्यसपछिको इतिहास हामी सबैसामु छ ।

गत दुई दशकमा स्विफ्टले आफ्नो सांगीतिक शैली पटक–पटक परिवर्तन गरिन्, तर गिटार सधैं उनको कलाको मुख्य मेरुदण्ड बनिरहृयो । स्विफ्टको पहिलो एल्बम सुन्दा यो प्रष्ट हुन्छ कि गिटार उनको हरेक सिर्जनाको केन्द्रमा थियो । विशेष गरी उनको चर्चित गीत ‘टियरड्रप्स अन माइ गिटार’ मा यो प्रस्टै देखिन्छ ।

किशोरावस्थाको साँचो भाव र मुटुभंगको पीडालाई व्यक्त गर्दै स्विफ्टले गीतमा भन्छिन्, ‘मेरो गिटारमा खसेका आँसुको कारण उही हो...।’ यहाँ उनले प्रेमीलाई केवल एउटा ‘प्रेरणा’ को रूपमा प्रस्तुत गरेकी छन् भने आफ्नै कलम र गिटारका माध्यमबाट त्यो पीडालाई एउटा सुन्दर कलामा रूपान्तरण गरेकी छन् ।

सुरुवाती दिनहरूमा उद्योगका ठूला संगीतकारहरूसँगको भेटघाट होस् वा रेडियो स्टेसनहरूको भ्रमण, स्विफ्ट हातमा गिटार बोकेरै पुग्थिन् । उनलाई कुनै ब्यान्ड वा ब्याकिङ ट्रयाकको आवश्यकता पर्दैनथ्यो । गिटारप्रतिको यही आत्मनिर्भरताले उनलाई आफ्नो संगीतमा पूर्ण रचनात्मक नियन्त्रण भएको स्वाभिमानी कलाकारका रूपमा स्थापित गर्‍यो ।

आफ्नै संगीतमा पूर्ण स्वामित्व र पहिचान

त्यतिबेला पप दुनियाँमा आएका अन्य महिला कलाकारहरूको दाँजोमा स्विफ्टको आत्मविश्वास र सिर्जनात्मक स्पष्टता बिल्कुलै फरक थियो । उनको हातमा रहेको गिटार केवल एउटा बाजा मात्र थिएन, बरु त्यो उनको मौलिकता, आफ्ना गीतहरूमाथिको अधिकार र संगीत सिर्जनाको दक्षताको प्रतीक थियो ।

आफ्नो बेडरूममा गिटार बोकेर बसेकी स्विफ्टको फोटो यति प्रभावशाली बन्यो कि, उनले एक सिंगो पुस्तालाई गिटार बजाउन र आफ्ना कथाहरू आफैं लेख्नका लागि प्रेरक व्यक्तित्व बनिन् । आज ‘स्विफ्ट बेबी टेलर’ मोडलका गिटारहरू विश्वभर चर्चित हुनु यसैको परिणाम हो ।

आज ज्याक एन्टोनोफ वा एरोन डेसनर जस्ता दिग्गज निर्माताहरूसँग काम गर्दा वा भव्य पप एल्बमहरू बनाउँदा पनि स्विफ्टका लागि गिटारको महत्व घटेको छैन । उनको ‘इराज टुर’ का मन्चमा उनले प्रयोग गरेका विशेष गिटारहरूले यही सम्बन्धलाई निरन्तरता दिएका छन् ।

पहिलो एल्बम सार्वजनिक भएको २० वर्ष पूरा भएको यो ऐतिहासिक मोडमा, विश्लेषकहरू अनुमान गर्छन् कि स्विफ्टले आफ्नो आगामी सांगीतिक यात्रामा फेरि हातमा गिटार समातेर ती सुरुवाती दिनहरूको सरलता र शक्तिलाई पुनर्जन्म दिनेछिन् ।

(यो समाचार सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका रिपोर्टहरूमा आधारित भई तयार पारिएको हो ।)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ आयोजना हुने भएको छ । आगामी नोभेम्बर ७ मा आयोजना हुने उक्त महोत्सवमा नेप...

#सांगीतिक
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612