हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गा देवीको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका हुन् ।
भक्तपुर — दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको गछेंस्थित नवदुर्गा भवानीको मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका छन् ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गा देवीको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेललाई वनमाला गुठीका नाइके इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए ।
राष्ट्रपति पौडेलले २३ जना नवदुर्गा देवगणलाई जनही एक हजार पाँच रुपैयाँका दरले दक्षिणा दिएका थिए ।
राष्ट्रप्रमुखले नवदुर्गाको पूजाआराधना गरी प्रसाद ग्रहण गर्ने परम्परा २०४५ सालदेखि रहिआएको छ । गत वर्ष भने राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्न राष्ट्रपति कार्यालयबाट प्रतिनिधि पठाएका थिए ।
यस वर्ष बागमती प्रदेश सरकारले नवदुर्गा जात्रा व्यवस्थापन समितिलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त रकम हरेक वर्ष विनियोजन हुँदै आएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताए ।
राष्ट्रपतिलाई स्वागत गर्न भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जित र गंगालक्ष्मी अवाल, मुख्यमन्त्री थापा मगर तथा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिलगायत जिल्लास्थित सरकारी निकायका प्रमुखहरूको सहभागिता थियो ।
सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।