गत फागुनको प्रतिनिधिसभा निर्वाचन कमजोर जनमत पाएको नेकपाले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा विगतको जनमत जोगाउने उद्देश्यले ‘जागरण अभियान’ सुरू गरेको हो ।
काठमाडौं — दसैं लगत्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी २ महिने राजनीतिक अभियान सुरु गरेको छ । गत फागुनको प्रतिनिधिसभा निर्वाचन कमजोर जनमत पाएको नेकपाले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा विगतको जनमत जोगाउने उद्देश्यले ‘जागरण अभियान’ सुरू गरेको हो ।
नेकपाले अभियानका क्रममा सदस्यता नवीकरणलाई पनि जोड दिएको छ । १ असारदेखि सदस्यता नवीकरण सुरु गरे पनि ‘निराशाजनक’ प्रगति देखिएको नेकपाका एक नेताले बताए । २०७९ कात्तिकमा माओवादी र एकीकृत समाजवादी एकता हुनुअघि माओवादीले करिब ७ लाख सदस्य भएको दाबी गरेको थियो । त्यस्तै एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीको करिब २ लाख सदस्य भएको दाबी गरेको थियो ।
ती नेताका अनुसार हाल अनलाइनबाट करिब १ लाख सदस्यता मात्र नवीकरण भएको छ । नेकपा प्रवक्ता प्रकाश ज्वालाले निर्वाचन तयारीसँगै सदस्यता नवीकरणलाई तीव्रता दिने बताए । ‘जागरण अभियानका क्रममा मुख्यगरी चुनावको तयारी र त्योसँगै जोडेर सदस्यता नवीकरणलाई पनि तीव्रता दिनेछौं,’ उनले भने ।
अभियानका क्रममा नेकपाले पुर्याएका राजनीतिक उपलब्धि, आफूले जितेका पालिकाले गरेका राम्रा काम र पार्टीबाट भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाउने ज्वालाले बताए ।
‘चुनावी तयारीका क्रममा हामीले गरेका राम्रा काम, विगतमा भएका कमजोरी सच्याउने प्रतिबद्धता जनाउने छौं,’ उनले भने, ‘तपाईँ कस्तो उम्मेदवार चाहनुहुन्छ भनेर जनताको मत बुझ्ने छौं ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले १२१ र नेकपा (एकीकृत समाजवादी) ले २० पालिका प्रमुख तथा अध्यक्ष जितेका थिए । दुवै पार्टीको जोड्दा १४१ पालिकामा नेतृत्व छ ।
नेकपाले कम्तिमा यो नतिजा जोगाउने गरी अभियान चलाउने जनाएको छ ।
‘जनसम्बन्ध सुदृढ गर्ने, जनताका सुझाव, आलोचना सुन्ने र सच्याउने गरी अघि बढ्नेछौं,’ उनले भने, ‘जनताले कस्तो उम्मेदवार चाहन्छन् ? हामी एक प्रकारले रिसर्च गर्दै छौं ।’
सरकारले गरेका गलत कामको विरोध गर्ने र आवश्यक परे आन्दोलनको रुपमा अघि बढाउने नेकपाको भनाइ छ ।
‘सरकारका जनविरोध काम महँगी, कालाबजारीको विरोध, यसबारे जागरण ल्याउने, सरकारलाई खबरदारी गर्ने काम गछौं,’ प्रवक्ता ज्वालाले भने, ‘आवश्यक परे आन्दोलनको तयारी गर्ने कार्यक्रम छ ।’
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गर्दै विगतका गल्ती सच्याउने प्रतिबद्धता गरे ।
‘यही परिस्थितिमा हामीले फेरि एकपटक आफ्ना विगतका कमी–कमजोरी र उपलब्धिको समीक्षा गर्नुपर्छ । त्यो समीक्षा नेताले मात्रै गरेर पुग्दैन । जनताको तहमा पुगेर, गाउँ–गाउँ र टोल–टोलमा जनताकै मुखबाट आलोचना सुन्नुपर्छ र त्यसलाई आत्मसात् गर्नुपर्छ,’ दाहालको भनाइ थियो, ‘देशसामु देखिएका तमाम अप्ठ्यारालाई पार गर्न फेरि एउटा नयाँ संकल्पसहित अगाडि बढ्नुपर्छ ।’
उनले अभियानका रणनीतिक उद्देश्य लिएको बताए । ‘राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण, जनताको सुशासन र समृद्धिको आकांक्षालाई सम्बोधन तथा लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सुदृढीकरण यसका प्रमुख उद्देश्य हुन्,’ उनले भने, ‘अभियानमा हाम्रा सबै केन्द्रीय नेताहरू फिल्डमा जानेछन् । जनताका कुरा सुन्नेछन् र त्यसको प्रतिवेदन तयार पार्नेछन् ।’
पार्टी सदस्यता नवीकरणदेखि समायोजन प्रक्रियालाई टुङ्ग्याउने र महाधिवेशनको तयारीलाई अन्तिम रूप दिने उद्देश्य पनि नेकपाको छ ।
‘आउँदै गरेका स्थानीय र प्रदेश सभा निर्वाचनको तयारी गर्ने विषय पनि अभियानसँग जोडिएको छ । अहिले निर्वाचनको कार्यतालिका निर्धारित भएको देखिँदैन। तैपनि, स्थानीय र प्रदेश सभा निर्वाचन छिट्टै आउँदै छन् भन्ने निश्चित छ,’ दाहालको भनाइ थियो, ‘त्यसैले निर्वाचनको तयारीमा जुट्नु हाम्रो दोस्रो उद्देश्य हो ।’
अभियानकै क्रममा दाहालले ‘जनताको जनजीविका, विभिन्न वर्ग र समुदायका समस्या, महागीलगायत विषय उठाउने बताए । ‘यस्ता बेथिति र विसंगतिविरुद्ध जनतालाई जागरुक बनाउने अभियान पनि हो,’ उनले थपे ।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।