रामबाबुको सिग्नेचर फिल्म मानिने ‘कबड्डी’ जतिजति तन्किँदै गयो, उतिउति कमजोर बन्दै गएको छ । हिजो यो शृृंखलामा जे कुरा नयाँ लाग्थे, आज पनि तिनैको पुनरावृत्ति भइरहँदा ‘कबड्डी ५’ अपेक्षाअनुरुप स्वादिलो हुन सकेको छैन ।
काठमाडौँ — १२ वर्षअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ प्रदर्शन हुँदा दर्शकहरूले मौलिक स्वाद पाएका थिए । बासी कथाहरूको थुप्रो मात्र बढिरहेको बेला आदिवासी सौन्दर्यचेतसहित आएको यो फिल्मले यहाँ भएका नयाँ कथालाई दर्शकले अनुमोदन गर्छन् कुरा प्रमाणित गरेको थियो ।
'कबड्डी' शृंखलाले बदलिँदो समयसँगै यात्रा गरिरह्यो । मुस्ताङको एउटा गाउँबाट वीरकाजीको असफल प्रेमको कथा भनिरह्यो । चार वर्षअघि 'फाइनल म्याच' गराएर फर्किएका निर्देशक रामबाबु फेरि मुस्ताङ फर्किएलान् भन्ने कुरा सन्देहकै विषय थियो । किनकि वीरकाजीको असफल प्रेम जीवनमा नयाँ बहार ल्याएरै फिल्मको पूर्णविराम लागेको थियो ।
यद्यपि, पूर्णविरामले कथालाई बिट मारेन ।
चार वर्षपछि पुन: 'कबड्डी ५ : आफ्टर द फाइनल म्याच' लिएर रामबाबुले वीरकाजीको कथालाई निरन्तरता दिए । तर कुनै समय बासी कथा र परम्परागत वाचनशैली ब्रेक गरेर अलग स्वाद भित्र्याएको ‘कबड्डी’ पाँचौं शृंखलासम्म आइपुग्दा स्वयम् भने उस्तै स्वादमा रुमलिरह्यो । रामबाबुको सिग्नेचर फिल्म मानिने ‘कबड्डी’ जतिजति तन्किँदै गयो, उतिउति कमजोर बन्दै गएको छ । हिजो ‘कबड्डी’ आउँदा जे कुरा नयाँ लाग्थे, आज पनि तिनै कुराको पुनरावृत्ति भइरहँदा ‘कबड्डी ५’ अपेक्षा गरेअनुरुपको स्वादिलो हुन सकेको छैन ।
तर पनि हलसम्म दर्शकलाई बाँधेर राख्ने सामर्थ्यचाहिँ फिल्मले गुमाएको छैन । त्यो सामर्थ्य के थियो, यहाँबाट सुरु गरौँ ।
फिल्ममा ‘कबड्डी २’पछि नदेखिएकी मैयाँ यसपटक मुस्ताङ फर्किएकी छ । वीरकाजीको बिहे हुनु र त्यही दिन मैयाँलाई देख्नु, कथा अगाडि बढ्नका लागि बलियो द्वन्द्व हो । वीरकाजी होटल व्यवसाय गर्न चाहन्छ, तर उसलाई ऋण निकाल्न जग्गाको दृष्टिबन्धक गर्नुपर्ने हुन्छ । उसको बाले विवाह नगरे दृष्टिबन्धक नगर्ने अडान राख्छ । त्यही सर्तका लागि वीकारजीले बिहे गर्नु र बिहेकै दिन मैयाँ भेटिनु ।
वीरकाजीको जीवनमा आएको यो विराधाभासले कस्तो रुप लिन्छ ? यो कौतूहल जन्माएर फिल्म अगाडि बढ्छ ।
यसपटक बदलिँदो मुस्ताङको स्वरुप पनि फिल्ममा देखिएको छ । त्यतिबेला मोटरबाटो नभएको गाउँलाई सहरको हावाले आजकल छुन थालेको छ । फिल्ममा सबैबन्दा धेरै त वीरकाजी बदलिएको छ । ऊ उमेरसँगै परिपक्व देखिन्छ । कुनै समय प्रेमलाई प्राप्तिको आँखाले हेर्ने वीरकाजीले यसपटक सम्बन्धको गहिराइ बुझेको छ । ऊ प्राप्तिको लोभबाट बाहिर निस्किएर सम्बन्ध निर्वाह गर्न बढी उद्यत देखिन्छ । भित्र प्रेम र करुणाले भरिए पनि बाहिर ऊ आफूलाई कठोरजसरी व्यक्त गर्न खोज्छ । ऊभित्रको मानिसलाई स्पर्श गर्न पाउँदा भने दर्शक भावनात्मक हुन्छन् ।
वीरकाजीसहितको केबीसी ग्याङ अर्थात् बिके र छन्त्यालको सपना यसपटक सँगै हुर्किरहेको छ । पहिलेजस्तो उनीहरू वीरकाजीसँग डराउँदैनन् । वीरकाजीको कुरा काट्न पनि पछि पर्दैनन्, उसलाई आफ्ना कुरा भन्न पनि हच्किँदैनन् । तर उसलाई समस्या पर्दा सँगै उभिन पनि छाड्दैनन् । वीरकाजीसँगै भइरहने यी पात्रहरूले फिल्मलाई थप रोचक बनाएका छन् ।
रामबाबुको पटकथा लेखनमा देखिने अर्को खुबी हो संवाद । पात्रहरूले बोल्ने संवादमा जुन ह्युमर हुन्छ, सुस्त बगिरहेको कथालाई पनि तिनीहरूले उदेकलाग्दो हुन दिँदैनन् । पात्रको भित्री मनस्थिति र बाहिरको परिस्थितिलाई टिपेर बोलिने संवादहरू मौलिक र स्वभाविक सँगसँगै रमाइला पनि लाग्छन् । दृश्य र संवादहरू सबटेक्स्टमा व्यक्त गर्न रामबाबु माहिर छन् । त्यसकारण सानासाना घटना पनि फिल्ममा सुन्दर तरिकाले व्यक्त भएका छन् ।
फिल्ममा प्रयोग भएको ब्याकग्राउन्ड म्युजिक परिस्थिति र पात्रको मुडअनुसार चल्छ । त्यसकारण बीजीएम पनि फिल्मको सुन्दर पक्ष हो । प्राय: नेपाली फिल्ममा गीतहरू कहिल्यै कथाको सिलसिला जोड्ने गरी आउँदैनन् र गलत समयमा घन्किन्छन् । तर यो फिल्ममा गुञ्जने ‘थाकखोला’ गीत कथाको आवश्कयताअनुसार नै आउँछ । जसले कथाको सिलसिलालाई जोड्न मद्दत गर्छ । फिल्ममा वीरकाजीको चरित्रको रुपान्तरण देखिन्छ ।
यति हुँदाहुँदै पनि फिल्ममा नयाँपन नदेखिनुका कारण छन् । पात्रभन्दा परिस्थितिले सिर्जना गरेको द्वन्द्व बलियो भयो भने फिल्म रोचक हुन्छ । तर अघिल्ला शृंखलाझैं यसमा पनि वीरकाजीको जीवनमा नयाँ द्वन्द्वका लागि नयाँ पात्र खडा गरिएको छ । हरेक शृंखलामा ‘भिलेन’ पठाएझैं यसपटक पनि गाउँमा विपीन कार्कीको पात्र खडा गरिएको छ । गाउँमा त्यो पात्र आउनुको कारण भने कुनै नयाँ छैन । उही सहरमा बस्ने मैयाँको बाले गरेको आर्थिक बदमासीसँग जोडिन्छ । ‘कबड्डी १’ मा नै यो खालको कथा हेरिसकिएको छ ।
विपीनको प्रवेशसँगै कथाले लय गुमाउन थाल्छ । अनि वीरकाजीसँग हुने पुरानै लडाइँको पुनरावृत्ति भएजस्तो लाग्छ । यही वरिपरि कथा लामो समय घुम्छ । जब कथा गाउँबाट सहर पुग्छ, फेरि ‘कबड्डी १’ कै झझल्को आउँछ । उही अपराध र अपहरणका सिलसिला सुरु हुन्छ । कथामा आन्तरिक द्वन्द्वभन्दा पनि बाह्य द्वन्द्व हाबी हुन्छ । निर्देशकले सहरमा पुगेपछि केही संयोगका सहारा लिएका छन् । जसले फिल्मको कथाको स्वभाविकपनलाई नै ओझेल पारिदिन्छ । वीरकाजीबाट मैयाँ हराउनु, एन्टागोनिस्टले भेट्नु र मैयाँलाई अपहरण गरेको वीरकाजीले देख्नु । यसरी विकास भएका दृश्यहरूले कथालाई बगाउन भन्दा पनि अवरोध गरेझैं लाग्छन् ।
फिल्ममा यसपट सबैभन्दा निराश विपीनको चरित्रले पारेको छ । एक त फिल्ममा यो पात्रलाई न राम्रोसँग उठान गरिएको छ, न ल्यान्डिङ नै । जसरी उनको पात्र आएर गाउँमा थ्रेट सिर्जना गरिएको छ, त्यो त्यति विश्वसनीय लाग्दैन । यसपटक फिल्ममा सेटिङ गाउँको भए पनि गावैं खड्किएको महसुस हुन्छ । कोही नयाँ मान्छे आएर एउटा परिवारमा त्रास सिर्जना गरिरहेको छ तर गाउँ मौन छ । त्यो पात्रले कसरी खुलमखुल्ला गुन्डागर्दी कसरी गर्न सक्छ ? यदि त्यस्तो हुन्छ भने पक्कै त्यहाँ गाउँका मान्छेहरूको चासो, चिन्ता र समर्थन देखिन्छ नै ।
अर्कोचाहिँ जसरी यो पात्रका कारण समस्या सिर्जना गरिएको थियो, काठमाडौं पुगेपछि ती समस्या फितलो तरिकाले समाधान हुन्छन् । सशक्त अभिनयकै कारण दर्शकहरूको आँखामा परेका विपीनको यो फिल्ममा भने अभिनय कर्कशलाग्दो छ । फिल्मको रिदमसँग विपीनको संवाद सुहाउँदो लाग्दैन । उनी असाध्यै चर्को सुनिन्छन् । जबजब उनको संवाद आउँछ, त्यो पात्र नै फिल्मको कथा र परिस्थितसँग कनेक्ट नभएझैं सुनिन्छ । फिल्मको कथाले भने अरु पात्रहरूझैं सटल अभिनय खोजिरहेको थियो । विपिनले फिल्ममा यसपटक फरक तरिकाले नोटिस हुन खोजे पनि त्यो दर्शकका निम्ति रुचिकर भने छैन । फिल्मको क्लाइमेक्स यसअघिको शृङ्खलाझैं कमजोर छ । अन्तिम फाइटपछिको मिलन विछोडकै क्रम यो पटक पनि जोडिएको छ ।
फिल्ममा मैयाँ आउँदा लाग्छ, ऊ कुनै कथा र सस्पेन्स बोकेर आइरहेकी छ । तर न हामीले सोचेजस्तो उसले कथा बोकेकी हुन्छ न सस्पेन्स नै । उसको आगमन जति रोचक भए पनि पात्रको विकास र ल्यान्डिङ अपेक्षाकृत छैन । मैयाँ चरित्र निर्वाह गरेकी रिश्मा गुरुङकै पनि अभिनयमा त्यस्तो फरक केही देख्न पाइँदैन ।
बिके र छन्त्यालको उपस्थितिले फिल्मलाई बाँधेको छ । विके बनेका विजय बराल र छन्त्याल बनेका बुद्धि तामाङले आफ्नो पात्रको ग्राफ सुन्दर तरिकाले पकडेका छन् । दुई पात्रमा आएको परिवर्तन फिल्ममा महसुस गर्न सकिन्छ । वीरकाजीको बा र आमा बनेका पुष्कर गुरुङ र कविता आलेले पनि आफ्नो भूमिकालाई पहिलेझैं स्वभाविक तरिकाले निर्वाह गरेका छन् ।
वीरजकाजीको चरित्रलाई दयाहाङले थप परिपक्व बनाएका छन् । पात्रमा आएको परिवर्तनलाई उनको बडी ल्यांग्वेजले जसरी प्रस्तुत गरेको छ, त्यो हेरेपछि वीरकाजीप्रति थप माया जाग्न थाल्छ । उनको श्रीमतीको भूमिकामा देखिएकी सिर्जना गुरुङको प्रस्तुति पनि प्रशंसनीय छ ।
यो शृङ्खलामा विकास हुने कथा र क्लाइमेक्स सहजै अनुमान गर्न सकिने किसिमका छन् । किनकि हामीलाई पुरानै कबड्डी हेरेझैं भान भइरहन्छ । समग्रमा भन्दा पाँचौं शृंखला दसैंमा आइरहेका फिल्मभन्दा तुलनात्मक हिसाबमा अब्बल भए पनि ‘कबड्डी’भन्दाचाहिँ कमजोर छ । ‘कबड्डी’का हरेक पात्र स्थापित र उनीहरूका कथासँग दर्शक नजिक भएकाले यो फिल्मप्रति चासो बढेको हो । तर पटकपटक उस्तै कथा र दृश्यहरू दोहोरिँदा अब भने यो स्वादले अमन गराइसकेको छ ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।