Trending
Prev Story
Next Story

पाल्पाको निस्दीमा बालविवाह रोक्न 'किशोरी फिर्ता' अभियान

Ekantipur •
August 18, 2026 • 07:13 PM
1
1 reads 0 reactions

भागेर विवाह गर्ने कतिपय किशोरीलाई एक वर्षमै दुईपटक फिर्ता ल्याउनुपरेको निस्दी गाउँपालिका बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए ।

पाल्पाको निस्दीमा बालविवाह रोक्न 'किशोरी फिर्ता' अभियान

भागेर विवाह गर्ने कतिपय किशोरीलाई एक वर्षमै दुईपटक फिर्ता ल्याउनुपरेको निस्दी गाउँपालिका बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए ।

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालकी दुबीसरा सुनारीले कानुनले तोकेको उमेर नपुग्दै विवाह गरेकी आफ्नी छोरीलाई दुई पटक घरमा फिर्ता ल्याइन् । छोरीले पहिलो पटक १६ वर्ष र दोस्रो पटक १७ वर्षको उमेरमा भागेर विवाह गरेकी थिइन् । २०८२ सालमा कक्षा ९ मा पढ्दै गरेकी उनले पहिलोपटक मित्यालकै मौलाथर र दोस्रोपटक नवलपुरको मध्यविन्दु नगरपालिकाका केटासँग विवाह गरेकी थिइन् । अहिले उनले विद्यालय पढ्न मानेकी छैनन् । उनी घरमै बस्छिन् । ‘हुन त मैले पनि १६ वर्षमा विवाह गरेको हो,’ दुबीसराले भनिन्, ‘तर पहिले कानुन लागेको थिएन । मजस्ता धेरैले १३/१४ वर्षमा पनि विवाह गर्थे ।’

निस्दी गाउँपालिका–४, पाक्दीकी १३ वर्षीया किशोरीले भागी विवाह गरिन् । उनले सामाजिक सञ्जालमा चिनजानका आधारमा रामपुर नगरपालिका–२, का किशोरसँग भागेकी थिइन् । तर उनलाई अभिभावक, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेविका, बालअधिकार अधिकृत लगायतको टोली पुगेर फिर्ता ल्यायो । अहिले नियमित पढाइमा छन् । कक्षा ८ मा पढ्दै गर्दा विवाह गरेकी उनले अहिले कक्षा ९ मा छिमेकी विद्यालयमा अध्ययन गर्छिन् । ‘सानै उमेरमा भागेर विवाह गरेपछि हामीलाई नै समस्या पारेका छन्,’ उनका अभिभावकले गुनासो गरिन्, ‘सबैको सल्लाह, सुझावपछि अहिले नियमित पढ्न थालेकी छन् ।’

मित्याल र गल्धाका यी दुई किशोरी उदाहरण मात्र हुन् । निस्दी गाउँपालिकाको बाँकामलाङ र मित्यालबाट दुई/दुई, झिरुवास, गल्धा र अर्चलेबाट गरी ७ जोडीलाई २०८२ सालमा फिर्ता ल्याइएको छ । कतिपय किशोरीलाई एक वर्षमै दुईपटक फिर्ता ल्याउनुपरेको निस्दी गाउँपालिका बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए ।

बाँकामलाङका दुई जनाले १८ वर्ष नपुग्दै विवाह गरेका थिए  । मित्यालका पनि १५ र १६ वर्षका हुन् । गल्धाको १३ वर्षमै भागी विवाह गरेकी थिइन् । झिरुवासकी १६ वर्षकी हुँदा भागी विवाह गरेकी थिइन् । अर्चलेकी १५ वर्षमै विवाह गरेकी हुन् । ‘अभिभावक लगायत वडाका सबै मिलेर फर्काउन गएपछि नफर्की सुःखै भएन,’ बालमैत्री शाखा प्रमुख पाण्डेयले भने, ‘यदि कसैले मान्दैन भने कानुनअनुसार कारबाही गर्छौं भनेपछि खुरुक्क फिर्ता गर्दिने गर्छन् ।’ कतिपय विवाह गर्ने पुरुष पनि २० वर्ष नपुगेका भेटिएको उनले बताए । सानो उमेरमै सामाजिक सञ्जालमा चिनजान गर्ने र भेट गरेपछि भागी विवाह गर्ने प्रचलन बढेको उनले बताए । यस क्षेत्रका मगर तथा दलित समुदायमा भागी विवाह बढी हुन्छ । कतिपयलाई दुई/दुई पटक भागेकालाई समेत फिर्ता गर्नु परेको उनले बताए ।

बाँकामलाङ र मित्यालका दुई/दुई जनाले विद्यालय जान मानेनन् । अन्य गाउँका सबैको पढाइमा निरन्तरता छ । फिर्ता गर्न अभिभावक, जनप्रतिनिधि, प्रहरी, राजनीतिक दलका प्रमुख वा प्रतिनिधि, स्वयंसेविका, स्वास्थ्यकर्मी, बालमैत्री शाखा प्रमुख लगायत पुग्ने गर्छन् । जबरजस्ती करणीमा मुद्दा चल्ने भन्ने प्रहरीको चेतावनीपछि तत्काल फिर्ता गर्ने गर्छन् । फिर्ता गरेपछि अहिलेसम्म पछि कुनै पनि प्रकारको समस्या आएको छैन । बालमैत्री स्थानीय शासन लागू भएको गाउँपालिका घोषणा गर्न आवश्यक एक सूचक बालविवाह हो । ५० वटा सूचक पूरा भएर एउटा मात्र पूरा हुन नसकेको बालविवाह भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । ‘सबै सूचक पूरा गर्दा पनि समस्या रहेको यही बालविवाह भएको छ,’ सारुले भने, ‘यसका लागि सबै ७ वटै वडामा समिति गठन गरेर हरसम्भव प्रयास गरिएको छ ।’

२०७९ सालमा २ सय ७६ जोडीले उमेर नपुग्दै विवाह गरेका थिए । अभिभावक र बालबालिका लक्षित चेतनामूलक कार्यक्रम बढाएकाले २०८० सालमा ५२ जोडीमा घट्यो । २०८१ सालमा १६ र २०८२ सालमा ७ जोडीले बालविवाह गरेका थिए । गाउँपालिका उपाध्यक्ष तथा बालअधिकार समितिकी संयोजक तिरनकुमारी श्रेष्ठका अनुसार २०८३ सालको साउन अन्तिमसम्म एक जनाले पनि बालविवाह गरेका छैनन् । ‘सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको छ,’ उनले भनिन्, ‘सबैको सहयोग भयो र अभिभावकमा चेतना यसैगरी रहिरहृयो भने यस वर्ष सिंगो गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने योजना छ ।’ भागेर बालविवाह गर्ने  थाहा पाउनासाथ गएर फिर्ता गरेपछि अहिले डराएको हुन सक्ने उनले बताइन् ।

‘अभिभावकलाई चेतावनी दिनेदेखि प्रहरी घरमै लगेर कारबाहीको चेतावनी दिने गरिएको छ,’ उनले भनिन्, ‘जसले गर्दा अहिले अधिकांश अभिभावक सचेत भएका छन् ।’ ज्यामिरे, अर्चले, गल्धा, मित्याल, झिरुवास, सहलकोट र बाँकामलाङ् गरी साविकका सात गाविस निस्दी गाउँपालिकामा पर्छ । बालविवाह न्यूनीकरणका लागि सबैलाई आग्रह र सचेत गराउन अभिभावक भेला, विद्यार्थी, शिक्षक केन्द्रित कार्यक्रम हुने गरेको प्रमुख प्रशासकीय अधिकृत तथा कार्यान्वयन तथा सहजीकरण समितिका संयोजक पूर्णबहादुर चितौरेले बताए ।

बालविवाहविरुद्धको अभियानमा विद्यार्थीहरुलाई सचेतीकरण, अभिभावकको भेला, शिक्षक विद्यार्थी लक्षित कार्यक्रम गर्दै आएको चितौरेले बताए । चार वर्षअघिदेखि विभिन्न कार्यक्रम गरिँदै आएको छ । प्रत्येक विद्यालयमा पुगेर अभिभावक भेला, बाल क्लब गठन, भित्ते पत्रिका प्रकाशन, शिक्षक, अभिभावकसँग छलफल अन्तरर्क्रिया गर्दै आइएको छ । गाउँपालिकाले बालविवाहविरुद्ध अघिल्लो आर्थिक वर्षमा ४२ स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । बालविवाहविरुद्ध सचेतना फैलाउन होर्डिङ बोर्ड निर्माण तथा वितरणसमेत गरिएको कार्यपालिका सदस्य तथा वडाध्यक्ष सन्तवीर सुनारीले बताए ।

बालविवाह न्यूनीकरणसँगै बालमैत्री वातावरण निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाका सातवटै वडामा बाल क्लब व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन भएका छन् । सबै वडामा बालमेला आयोजना गरियो । वडा तथा समुदायस्तरमा बाल क्लबका बैठक सञ्चालन गरिएका थिए । गाउँपालिकामा रहेका १ सय २१ बाल क्लबलाई सूचीकृत गर्ने गरिएको वडाध्यक्ष नवीन्द्र सोतीले बताए ।

बालबालिकाको सहभागिता र नेतृत्व विकासका लागि बाल क्लब सञ्जालका बैठक, बालअधिकार परिषद्को अनलाइन प्रतिवेदन पठाउने काम तथा ‘जनप्रतिनिधिसँग बालबालिका, बालबालिकासँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय तहमा बालप्रतिभा प्रदर्शनसम्बन्धी प्रतियोगितासमेत आयोजना गरिएको कार्यपालिका सदस्य हेमकुमारी सुनारीले बताइन् । बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालयका प्रधानाध्यापकलाई बालमैत्री सूचकसम्बन्धी अभिमुखीकरण दिइएको छ । कार्यपालिका सदस्य, शाखा प्रमुख तथा बालमैत्री सहजकर्तालाई बालबालिकाको अवस्थासम्बन्धी विवरण तयार गर्ने विषयमा समेत अभिमुखीकरण गरिएको बालमैत्री शाखाले जनाएको छ ।

बालश्रम अन्त्यका लागि परियोजना प्रस्ताव श्रम मन्त्रालयमा पेस गरिएको तथा बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित गर्न आचारसंहिता निर्माण गरी वितरण गरिएको वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताए । बालविवाह अन्त्यका लागि ४२ स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । बालमैत्री स्थानीय शासनको उद्देश्य बालबालिकाको सहभागिता, संरक्षण, विकास र सशक्तीकरण सुनिश्चित गर्नु रहेको सरस्वती मावि गल्धा निस्दीका प्रधानाध्यापक प्रदीप अर्यालले बताए । २०८३ चैतभित्र पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न खालका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
12h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#फिर्ता #अभियान
Compare →
Hamro Patro News
1d ago
पाल्पाको ढाका कपडाले फेरि पायो बजार

पाल्पाको ढाका कपडाले फेरि पायो बजार

पाल्पा । कुनै समय नेपाली पहिचान र परम्पराको प्रतीक मानिने पाल्पाली ढाका कपडाले तिहारसँगै नयाँ बजार पाउन थालेको छ। तिहारमा दाजुभाइलाई उपहार दिने चलनसँगै ढाकाका टोपी, झोला तथा अन्य सामग्रीको माग बढे...

#पाल्पा
Compare →
Nagarik News
2d ago
विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

सामान्य डेटिङ एपमा प्रयोगकर्ताले एकैपटक धेरै व्यक्तिसँग कुराकानी गर्न सक्छन्। तर, लियाङपेई एआईले भने प्रयोगकर्तालाई एक समयमा एक जनासँग मात्र सम्बन्ध अगाडि बढाउन प्रोत्साहित गर्छ।

#फिर्ता
Compare →

Related Stories

Education & Youth
Build #2611