वरिष्ठ गीतकार शिवशंकर थापा मगर र कवि तथा कलाकार चन्द्र रानाहँछालाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशिसहित पुरस्कृत गर्न लागेको हो ।
काठमाडौँ — नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई र प्रतिभा पुरस्कार खोटाङका कवि तथा कलाकार चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ ।
१ लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहितको विशिष्ट प्रतिभा सम्मान थापा मगरलाई र १ लाख रुपैयाँ र ताम्रपत्र सहितको प्रतिभा पुरस्कार रानाहँछालाई प्रदान गर्ने घोषणा प्रतिष्ठानले शनिबार गरेको हो ।
२००३ वैशाख १५ मा चुलीवन, डाँडागाउँ, धनकुटामा जन्मेका थापा मगर युवा अवस्थादेखि गीतलेखनमा सक्रिय रहँदै आएका छन् । २०२० सालबाट गीत लेख्न सुरु गरेका उनले २०२६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराएका थिए ।थापाले एक सय हाराहारीमा गीत लेखेका छन् । भन्थिन् मेरी उनी, हावासँग बगूँ भन्छ, मेरो रहर बिउँझिएर जस्ता उनका चर्चित गीत हुन् । थापाका पहिलो पाइतालाका डोबहरू (मुक्तक सङ्ग्रह) छ । भन्थिन् मेरी उनी (संस्मरण र गीति संग्रह) प्रकाशोन्मुख कृति हुन ।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसले पाँच दशकदेखि लगातार गीत, कविता र कलाकारिता क्षेत्रमा अतुलनीय योगदानको कदर गर्दै थापालाई विशिष्ट प्रतिभा सम्मान प्रदान गर्न लागिएको बताए।
यसैगरी सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा, खोटाङमा जन्मेका कवि रानाहँछा साहित्य लेखन तथा कलाकारिता क्षेत्रमा सक्रिय छन् । गीत, कविता, कथा र चलचित्रको पटकथासमेत लेख्दै आएका छन् । चौबन्दी किनिदिउँला (गीति एल्बम) २०५६, चिनो रुमाल (गीति एल्बम) २०५७, मनमा आँधी चलेपछि (गीत, कवितासङ्ग्रह) २०६७, भाउजु लडेको भीर (कथासङ्ग्रह) २०६९, थिबिया चराको गीत (कवितासङ्ग्रह) २०७१ उनका प्रकाशित पुस्तक हुन् । बागदता (उपन्यास) प्रकाशोन्मुख छ । रानाहँछाले राष्ट्रिय कविता महोतसव २०७४ प्रथम, युवा वर्ष मोती पुरस्कार, २०७५ र खोटाङ प्रतिभा पुरस्कार, २०८० लगायत दर्जन बढी स्थानीय देखि राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
आगामी मंसिरमा काठमाडौंमा कार्यक्रम गरी विशिष्ट सम्मान तथा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाले सन् २००८ मा प्रतिष्ठान स्थापना गरेका हुन् ।