Trending
Prev Story
Next Story

पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?

Ekantipur •
October 24, 2026 • 04:30 PM
1
1 reads 0 reactions

यसपालि एनपीएलमा ‘डीआरएस’ प्रविधि प्रयोग हुने, जसबाट खेलाडीले अम्पायरको निर्णयमा ‘रिभ्यु’ माग्न पाउनेछन् । आईसीसीको आधिकारिक मान्यता पाएको प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह मानिनेछ ।

पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?

यसपालि एनपीएलमा ‘डीआरएस’ प्रविधि प्रयोग हुने, जसबाट खेलाडीले अम्पायरको निर्णयमा ‘रिभ्यु’ माग्न पाउनेछन् । आईसीसीको आधिकारिक मान्यता पाएको प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह मानिनेछ ।

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबारदेखि हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को यो तेस्रो सिजन केही ठोस र मान्यताका कारण विशेष बन्दै छ । ती कारण हुन्– अम्पायरको निर्णयमाथि रिभ्यु गर्न पाइने डीआरएस प्रविधि, एनपीएललाई आईसीसीको आधिकारिक मान्यता, त्यसकै कारण विदेशी ठूला क्रिकेट स्टारहरूको उल्लेख्य सहभागिता र दर्शकका लागि रंगशालामा थपिएका सुविधा र संरचना ।

अम्पायरको निर्णयमाथि चित्त नबुझेको भन्दै दर्शक र खेलाडीले जोडदार माग गर्दै आएका थिए– ‘डीआरएस’ प्रविधि । यसपालि ‘डीआरएस’ प्रविधिसहित खेल हुँदै छ । अब अम्पायरको निर्णयमाथि खेलाडीले ‘रिभ्यु’ माग गर्न पाउनेछन् । डीआरएस प्रणालीमा एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको ‘लाइन’ स्क्रिनमा देखाइदिनेछ । ब्याट र बलको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन र साउन्ड वेभ टेक्नोलोजी पनि डीआरएस प्रणालीमा हुनेछ । साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी पनि भिडियो रिभ्युमा देख्न पाइनेछ ।

आईसीसीले एनपीएलको तेस्रो सिजनलाई आधिकारिक मान्यता दिने घोषणा गरेको छ । आईसीसीको मान्यता अर्थात् स्याङ्सन पाएसँगै यसपालिको खेल अन्तर्राष्ट्रिय टी–२० सरहकै गणना हुनेछ । प्रत्येक फ्रेन्चाइज टिमले ८ जनासम्म विदेशी खेलाडी लिन पाउने सुविधा पनि बढेको छ । यस्तै यसपालिका खेलका विकेट र रन सम्बन्धित खेलाडीको अन्तर्राष्ट्रिय रेकर्डमा गणना हुनेछ ।

डेविड वार्नर, एन्ड्यु रसेल, डेविड मिलर र साहिबजादा फरहानलगायत विश्व क्रिकेटका स्टार खेलाडीको सहभागिता र उनीहरूको ब्याटिङ तथा बलिङ यस पटकको एनपीएलको मुख्य आकर्षण हुनेछ । यस्तै ठूला क्रिकेट स्टारहरूको ब्याटिङ र विकेट यस पटकको एनपीएलको विशेष आकर्षण हुनेछ । विश्व ट्वान्टी–२० मा तरङ्ग मच्चाएका डेविड वार्नर, एन्ड्र्यु रसेलदेखि डेविड मिलरले यसपालि खेल्दै छन् । साहिबजादा फरहान, हुसैन तलात, इफ्तिखार अहमद, हुनाइन साह, शेरफन रदफोर्ड, स्कट कुग्लेइन, सेफ जैब, ब्रान्डन म्याकमलेन, चारिथ असलन्का, एन्जेलो म्याथ्युज, सेहान जयसुर्या, शुभम रन्जने, मोइन अली, जिम्मी निसम, हरमित सिंह, निरोशन डिकवेलाले खेल्दै छन् । डी’आरसी शर्ट, रुबेन ट्रम्पलमन, सामिम हुसैन, साड्ली भान स्काल्कविक, सिकन्दर राजा, रबि बोपारा, कामिल मिश्रा, शकिब अल हसन, मेहदी हसन, मोहम्मद सैफुद्धिन, धनन्जय लक्षण, चामिका करुणारत्ने लगायतका विदेशी खेलाडी पनि अनुबन्धन भइसकेका छन् । एउटा टिमले ८ जनासम्म विदेशी खेलाडी लिन पाउने भएकाले थप विदेशी खेलाडी भित्रने सम्भावना पनि छ ।

समग्र नेपाली खेलकुदले सोचेजस्तो प्रगति गर्न नसकिरहेका बेला एउटा खेल भने ठूलो महत्त्वाकांक्षासहित आकाश छुने प्रयासमा छ । धेरै अगाडिदेखि भन्दै आएकै हो, क्रिकेट नै यस्तो एक खेल हो, जसमा नेपालले ठूलो फड्को मार्न सक्छ, कम्तीमा भौगोलिक र क्षेत्रीयताका कारण । विश्व क्रिकेटमा दक्षिण एसिया सबैभन्दा ठूलो शक्ति रहेका बेला नेपाल मात्र कसरी अलगै रहन सक्छ ? सायद, त्यो समय आइसकेको छ, जति बेला हामी भन्न सक्छौं, अब नेपाली क्रिकेटले साँच्चै केही गर्दै छ । यो सबैको आधार तयार पार्ने प्रतियोगिता हो, नेपाल प्रिमियर लिग (एनपीएल) ।  नेपाली खेलकुद इतिहासमा सबैभन्दा पुरानो खेलमध्ये एक हो, क्रिकेट । राणाकालमै खेल्न सुरु भइसकेको यस खेलको इतिहास आफैंमा १०० वर्षभन्दा लामो छ । धेरै होइन, केही दशकअघिसम्म पनि टुँडिखेल र अन्यत्र कतै खेलिने खेलमै सीमित नेपाली क्रिकेटले अब भन्न सक्ने भएको छ, हामीसँग त्यस्तो प्रतियोगिता छ, जसले अन्तर्राष्ट्रिय क्रिकेटकै ध्यान खिचेको छ र यसको आकार फैलने क्रम जारी छ ।

चाँडै बंगलादेश र भारत ‘ए’ का टिमले नेपाल भ्रमण गर्दै छन् नै, त्यसमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) कै आधिकारिक प्रतियोगिता ‘यू–१९ महिला ट्वान्टी–२० विश्वकप’ पनि नेपालमा हुँदै छ । यस्तै आईसीसीले नेपाललाई क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पनि सुम्पिएको छ । नेपालमाथि विश्व क्रिकेटकै विश्वास र भरोसा बढ्दै गएको संकेत हो, यो । यही पृष्ठभूमिमा एनपीएल तेस्रो सिजन हुँदै छ । सन् २०२४ मा पहिलो सिजन सुरु हुँदा एउटा डर थियो, प्रतियोगिता समयमै सुरु होला र भन्ने ! त्यो त्यस्तो समय थियो, जति बेला यो प्रतियोगिता खेल्न तयार भएका फ्रेन्चाइज टिम नै शंकालु नजरले हेर्न बाध्य थिए । तर प्रतियोगिता भयो र राम्रैसँग भयो । एनपीएल पहिलो सिजनको प्रतियोगिता भएको थियो, त्रिवि क्रिकेट रंगशालाको पुरानो स्वरूपमा । गत वर्ष दोस्रो सिजन सुरु हुँदा त्यही कीर्तिपुरको त्रिवि क्रिकेट मैदानले नयाँ स्वरूप पाइसकेको थियो । समर्थक बस्ने मज्जाका दर्शकदीर्घा बनेका थिए, त्यसमाथि फ्लड लाइट्स जडान भइसकेको थियो ।

त्यति बेला पनि अनेक खाले प्रश्न तेर्सिएका थिए, अनि नयाँ भौतिक सुविधाबीच प्रतियोगिता होला र भन्ने दुविधा कायम थियो । तर प्रतियोगिता भयो र झन् राम्रोसँग भयो । सम्भवतः एसोसिएट देशमा यत्तिको प्रतियोगिता यति राम्रोसँग हुन सक्नेछ भन्ने पहिलो आधार तयार पारेको थियो, यही एनपीएलले । एक प्रकारले दोस्रो सिजन चलिरहँदा यो प्रतियोगिताको चर्चा क्रिकेट लोकप्रिय विश्वका सबै भूगोलमा जताततै रह्यो भन्दा हुन्छ । सामाजिक सञ्जालमा एनपीएल उत्तिकै छाएको थियो । ‘पाँच वर्षसम्म नेपाली क्रिकेटका लागि लगानी गर्छौं, दुःख गर्छौं भनेर आएका हौं,’ लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले हालै एक कार्यक्रममा भनेका थिए, ‘एनपीएलको पहिलो वर्ष के गर्ने, कसो गर्ने भनेर अन्योलता थियो । दोस्रो वर्ष जेन–जी आन्दोलनको राप थियो, त्यस्तो समयमा आयोजना हुनु नै निकै महत्त्वपूर्ण थियो । एनपीएलले आशाको किरण लिएर आएको छ, नेपालमा आयोजना गरे के सकिँदैन भनेर एनपीएलले प्रमाणित गरिरहेको छ ।’

विशेषतः आम दर्शकले जसरी यो प्रतियोगितालाई आफ्नो भनेर आत्मसात् गरे, त्यो अद्वितीय नै थियो । टेस्ट खेल्ने देशमा दर्शक घटिरहँदा विश्व क्रिकेटकै लागि यो दुर्लभ उपलब्धि थियो । आईसीसीले पनि मानेकै छ, एसोसिएट देशमध्ये नेपालमा जत्तिको यो खेलको लोकप्रियता अन्यत्र छैन । अझ केही टेस्ट खेल्ने देशमा भन्दा पनि बढी छ । अब पालो, तेस्रो सिजनको । कुनै पनि प्रतियोगिताका लागि दुई वर्ष जतिको समय खासै धेरै हुन्न, कम नै हो । तर एनपीएलले यही छोटो समयमै धेरै लामो यात्रा तय गरेको छ । दसैं सुरु हुनै लाग्दा क्यानले यसका मुख्य प्रायोजक सिद्धार्थ बैंकसँग मिलेर एउटा ‘मिडिया डे’ आयोजना गरेको थियो । त्यसमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भने, ‘आईसीसीको आधिकारिक मान्यता नेपाली क्रिकेटका लागि यो ठूलो उपलब्धि हो, यसले नेपाली क्रिकेटको विकास र एनपीएलको अन्तर्राष्ट्रिय पहिचान बढाउन सहयोग पुग्नेछ ।’

एनपीएललाई आईसीसीले मान्यता दिएपछि अब एउटा फ्रेन्चाइज टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउने भए पनि त्यसमा कम्तीमा एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्ने प्रावधान छ । एउटा खेलमा भने ४ विदेशी खेलाडी मात्र सहभागी हुन पाउनेछन् । एनपीएल खेल्न आउने सबै विदेशी खेलाडीले सम्बन्धित देशको बोर्डको स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था राखिएको छ । यसपल्ट डीआरएस प्रविधि लागू भएकाले अम्पायरको निर्णय चित्त नबुझेमा ब्याटर होस् या बलरले त्यसविरुद्ध पुनर्विचार गर्न भन्न सक्नेछ । अझ भनौं, खेलाडीलाई अब अम्पायरको निर्णयमै गुनासो गर्ने दिन रहने छैन् । थर्ड अम्पायरको सुविधा त सुरुदेखि नै थियो, त्यसकै एउटा पूरकका रूपमा भित्रिएको डीआरएसले अबका एनपीएलमा कमजोर निर्णय हुने सम्भावना असाध्यै धेरै कम भएको छ । पारस भन्छन्, ‘सबैले लामो समयदेखि भन्दै आएको थिए, डीआरएस चाहिन्छ । अब त्यो पनि पूरा हुने भएको छ । यसले प्रतियोगितालाई थप उचाइमा पुर्‍याउनेछ ।’

अम्पायर देवेन्द्र सुवेदीले डीआरएस नहुँदै पनि नेपाली अम्पायरले गर्दै आएका निर्णय ९० प्रतिशतभन्दा माथिको हाराहारीमा ठीक रहेको दाबी गरे । डीआरएस आएपछि एनपीएलमा हुने निर्णय शतप्रतिशत नजिक हुनेछ । शतप्रतिशत भने कहिल्यै कतै पनि नहुने मान्यता राखिन्छ । यो प्रविधि आफैंमा महँगो छ, सायद यसले खेलमा केही समय लिनेछ पनि । डीआरएसका लागि २ करोडसम्म खर्च लाग्ने र त्यो एनपीएलसहित सहभागी ८ फ्रेन्चाइज टोलीले व्यहोर्ने पारसले बताए । यसले गलत निर्णय हुने सम्भावनालाई धेरै न्यून गर्नेछ । कम्तीमा खेलाडीले अब आफ्नो खराब प्रदर्शनलाई छोप्न रेफ्रीको निर्णयलाई दोष दिने छैनन् ।

पछिल्ला दुई सिजनलाई आधार मान्ने हो भने यो प्रतियोगिता खेल्न केही ठूला क्रिकेटर त नेपाल आए, तर त्यस्ता केही खेलाडीले खेले, जसको अन्तर्राष्ट्रिय खेल जीवन टुंगिसकेको स्थितिमा थियो । अब भने टेस्ट मान्यता प्राप्त देशको टिमबाट खेलिरहेकै खेलाडीका लागि एनपीएल रोजाइ हुनेछ र तिनले नेपाली खेलाडीसँग एउटै ‘ड्रेसिङ रुम’ प्रयोग गर्नेछन् । नेपाली टिमकै वर्तमान कप्तान सन्दीप लामिछानेदेखि यसअघि टिमको नेतृत्व गरिरहेका रोहित पौडेलको एउटै भनाइ छ, ‘नेपाली क्रिकेटको स्तर माथि उठाउने हो भने बलियो टिम अथवा उत्कृष्ट खेलाडीविरुद्ध खेल्नुपर्छ, त्यो नभए पनि त्यस्तै टिमका खेलाडीसँग एउटै टिमबाट खेल्नुपर्छ ।’ नेपाली खेलाडीले अब त्यस्तो दुवै अवसर पाउने क्रम बढ्दो छ । एकातर्फ बलिया ठूला टिम नेपाल आउने क्रम बढ्नेछ भने नेपाल पनि त्यस्ता देशमा गएर खेल्ने वातावरण बन्नेछ । ‘तेस्रो सिजनको एनपीएल अग्रणी हुनेछ,’ क्यानका सचिव पारस भन्छन्, ‘नेपाली क्रिकेटको क्षमता योभन्दा धेरै छ, ठूलो अपेक्षा राखिएको छ, तर त्यसलाई संस्थागत गर्ने आधार के के हुन् भन्ने विषयमा नेपाल प्रिमियर लिग एउटा ठूलो माध्यम बनेको छ, जसले क्रिकेट क्षेत्रमा लागेर आफ्नो भविष्य सुरक्षित गर्न सकिन्छ भनेर स्थापित गरेको छ ।’

यसका लागि नेपालको अर्थतन्त्र मुख्य आधार रहेको पारस ठान्छन् । भन्छन्, ‘हामीले जति नै राम्रो योजना, जति नै राम्रो नीति, जति नै राम्रो व्यवस्थापन ल्याए पनि स्रोत नभएसम्म संस्थागत र तीव्र गतिको विकास सम्भव छैन । हामीभन्दा अगाडिको पनि पुस्ता र हाम्रो पनि सपना थिए र अहिले पनि छन्, ती सपना पूरा गर्नका लागि मैदानभित्र सँगै मैदानबाहिर पनि धैर्य आवश्यक छ, सायद त्यो प्रणाली विकास भइसकेको छ । यो केवल समयको कुरामात्र हो, अब हामी भविष्यतर्फ अगाडि बढिरहेका छौं ।’

एनपीएल खेल्न आउने विदेशी खेलाडीमा अस्ट्रेलियाका ब्याटर वार्नर अहिलेसम्मका सबैभन्दा ठूला नाम हुन् । अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा ट्वान्टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए । २०२१ को ट्वान्टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा भएका थिए । वार्नरसँगै दक्षिण अफ्रिकाका मिलरले ग्लोबल फ्रेन्चाइज लिग खेल्दै आएका छन् । ३७ वर्षे मिलरसँग सबैखाले ट्वान्टी–२० मा ५ सय ८४ खेलको अनुभव रहेको छ, जहाँ उनले १३८ माथिको स्ट्राइक रेटमा १२ हजारभन्दा बढी रन बनाएका छन् । उनले दक्षिण अफ्रिकाबाट १ सय ८० एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय ४० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

पहिलो सिजनमा डेविड वार्नरलाई लिएर आएको कर्णालीले यस पटक मिलरसहित पाकिस्तानका ट्वान्टी–२० कप्तान साहिबजादा फरहान, हुसैन तलातलाई लिएर खेल्दै छ । ‘मिलर, फरहान, तलातजस्ता खेलाडीलाई अनुबन्ध गर्दा यसले कर्णालीलाई मात्र नभएर, एनपीएलदेखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु,’ कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेले भने, ‘कर्णाली याक्समा समर्थकले धेरै आशा गर्नुभएको थियो, सोहीअनुसार हामीले यत्ति ठूलो अनुबन्ध गरेका हौं ।’ लगातार दुई सिजन फाइनलमा पराजित रहेको सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदफोर्डलाई अनुबन्ध गरेको जनाएको छ । फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले सीपीएल, आईपीएल, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेट खेलेका छन् । उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए ।

सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन, इंग्ल्यान्डका सेफ जैब र स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेनलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । विराटनगर किंग्सबाट वेस्ट इन्जिडका अलराउन्डर एन्ड्र्यु रसेल खेलिरहेका छन् । उनले राष्ट्रिय टोलीबाट २०१२ र २०१६ को ट्वान्टी–२० विश्वकप जितेका थिए । विराटनगरबाटै श्रीलंका चारिथ असलन्का, पूर्वकप्तान एन्जेलो म्याथ्युज, अमेरिकाका सेहान जयसुर्या र अलराउन्ड शुभम रन्जने खेलिरहेका छन् ।

पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले इंग्ल्यान्डबाट दुई पटक विश्वकप जितेका मोइन अलीसँगै न्युजिल्यान्डका जिम्मी निसम, पाकिस्तानका इफ्तिखार अहमद, हुनाइन साह, अमेरिकाका हरमित सिंहलाई अनुबन्धन गरिसकेको छ । च्याम्पियन लुम्बिनी लायन्सले गत सिजन नै खेलेका श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डी’आरसी शर्ट, नामिबियाका रुबेन ट्रम्पलमनलाई निरन्तरता दिएको छ । त्यसमा बंगलादेशका सामिम हुसैन, अमेरिकाका साड्ली भान स्काल्कविकलाई थपेको छ । चितवनबाट जिम्बावेका सिकन्दर राजासहित इंग्ल्यान्डका भेट्रान रबि बोपारा, कामिल मिश्रालगायत खेलिरहेका छन् । पोखराबाट बंगलादेशका पूर्वविश्व नम्बर एक अलराउन्डर शकिब अल हसनसहित, मेहदी हसन, मोहम्मद सैफुद्धिन, श्रीलंकाका धनन्जय लक्षण, चामिका करुणारत्नेलाई अनुबन्धन गरेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सिजन
Compare →
Onlinekhabar
16h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612